खाद्य सुरक्षादेखि व्यवहार परिवर्तनसम्बन्धी अध्ययन सार्वजनिक

साझाकुरा
२०७९ चैत्र १४, मंगलवार १३:२४

हेटौंडा-ग्रामीण महिला सेवाकेन्द्रले जिल्लाको विभिन्न पालिकास्थित वडाहरुको ३ सय ९० घरपरिवारमा खाद्य सुरक्षा, लैगिंकहिंसा बालविवाह र व्यवहार परिवर्तन सन्चारसम्बन्धी अध्ययन तथ्य सार्वजनिक गरेको छ ।अध्ययनमा सहभागीमध्ये अझै पनि ३ दशमलव ६ प्रतिशतले खुला ठाउँमा दिशा गर्ने गरेको पाइएको छ । नेपाल खुला दिशामुक्त घोषणा भैसक्दा पनि अझै सबै सर्वसाधारणको शौचालय पहुँच नभएको यो अध्ययनले देखाएको छ । यसैगरी अध्ययनमा सहभागीमध्ये ५ दशमलव ४ प्रतिशत खुल्ला स्थानको पानी पिउने गरेका छन् । कृषि क्षेत्रमा संलग्नलाई सबैभन्दा ठूलो समस्या बीउ÷मल समयमा उपलब्धता नभएको पाइएको अध्ययनकर्ता दीप न्यौपानेले बताए । उनीहरुमध्ये १० प्रतिशतलाई मात्रै बर्ष दिनसम्म खान पुग्ने ४५ प्रतिशतलाई ३ महिना मात्रै खान पुग्ने अध्ययनको क्रममा पाइएको न्यौपानेले बताए ।

यसैगरी ४४ प्रतिशत महिलाले घरायसी निर्णय प्रक्रियामा आफ्नो आंशिक सहभागीता हुने गरेको र ५६ प्रतिशतले पूर्ण सहभागीता हुने गरेको बताए । ३५ प्रतिशत महिला अझै सहकारीको आर्थिक कारोबार गर्नबाट बन्चित देखिएको छ । ‘सहकारीमा महिलाको पहुँच छ, तर अझै धेरै सुधार आवश्यक छ’, न्यौपानेले भने । ७१ प्रतिशत परिवारले मासिक औषत २ हजार रुपैयाँ मादकपदार्थ सेवनमा खर्च गर्ने गरेको अध्ययनमा पाइएको थियो । यसैगरी अध्ययनमा सहभागीमध्ये ६१ प्रतिशत पुरुष, १८ महिला र १० महिला पुरुष दुवैको जग्गा स्वामित्व रहेको तथ्यांक सार्वजनिक गरिएको थियो ।

सानै समूहमा गरिएको अध्ययनले पनि एक प्रकारको प्रक्षपण पाइएको भन्दै विश्लेषक डा. राजु क्षेत्रीले स्थानीय तथा प्रदेश सरकारले अभिभावकत्व गर्नुपर्ने बताए । परिवारको आर्थिक निर्णय २१ प्रतिशत महिलाले लिने गरेको अध्ययनले देखाएको क्षेत्रीले बताए । समाजमा बालबिबाहको घटना कस्तो छ भन्ने सवालमा ७८ प्रतिशतले बालविवाह हुने गरेको जवाफ दिएका थिए । कार्यक्रममा जिल्ला समन्वय समिति प्रमुख ललित घलानले खाद्य सुरक्षा र उत्पादन बजारीकरण प्रभावकारी नहुँदा समस्या भएको बताए । तालिम लिने र छोड्ने परम्परा छोडेर तालिम र सीपलाई व्यवसाय र जीविकोपार्जनमा जोड्नु पर्ने घलानाले बताए ।

मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामा स्याङ्तानले जग्गा बाँझो राखेको कारण खाद्य असुरक्षा बढेको बताउँदै परिवारको एक सदस्य वैदेशिक रोजगारमा गएपछि गाउँ छोड्ने गलत परिपाटीको कारण पनि समस्या भएको औंल्याए । गैसस मकवानपुर अध्यक्ष रमिला सापकोटाले स्थानीय तहहरुले समन्वयकारी भूमिका निर्वाह गर्दै हिंसा न्यूनीकरण, बालमैत्री स्थानीय शासन दीगो कार्यान्वयन गर्नुपर्ने बताइन् । कार्यक्रम ग्रामीण महिला सेवाकेन्द्र अध्यक्ष सुलोचना स्याङ्तानको सभाध्यक्षतामा भएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*