जग्गा फिर्ता माग्दै साढे चार महिनादेखि धर्ना
हेटौंडा-२५ वर्ष अगाडि दृष्टिबन्धक राखेको जग्गा फिर्ता माग्दै हेटौंडाका एक प्रतिष्ठित व्यवसायीविरुद्ध एक सय ३४ दिनदेखि धर्ना जारी छ । आफू र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजीनामापत्रमा हस्ताक्षर गराएको भन्दै हेटौंडाका जगतबहादुर सुनार बुद्धचोक नजिक उत्तरतर्फ धर्ना बसिरहेका छन् । साढे ४ महिनादेखि सुनार व्यवसायी नियमराज शाक्यविरुद्ध उनकै घर अगाडि कालो ब्यानर बोकेर न्यान माग गर्दै धर्नामा बसिरहेका हुन् ।
उनको धर्नामा राजनीतिक दलदेखि नागरिक समाजले पनि ऐक्यबद्धता जनाउँदै आएको छ । पीडित सुनारले २०५४ साल १ वैशाखमा व्यवसायी शाक्यको बाबुले ५० हजार रुपैयाँ ऋणको बदलामा ११ कठ्ठा १६ धुर जग्गा राजीनामा गराएको भन्दै जग्गा फिर्ताको माग गरिरहेका हुन् ।
बुधवार सुनारको जग्गा फिर्ती आन्दोलनमा राजनीतिक दलदेखि नागरिक समाजको ठूलो संख्यामा उपस्थिति रहेको थियो । व्यवसायी शाक्यको घर अगाडि भएको धर्नामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मोहन वैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा माले, नेकपा (एकीकृतसमाजवादी)लगायतका राजनीतिक दलले ऐक्यबद्धता जनाएका थिए ।
नागरिक समाजकातर्फबाट बोल्दै रामशरण कार्कीले व्यवसायी शाक्यलाई जग्गा फिर्ता नगरे राम्रो नहुने चेतावनी पनि थिए । दलदेखि नागरिक समाज सुनारको पक्षमा रहेको भन्दै जग्गा फिर्ता गर्नुपर्नेमा उनीहरुले जोड दिएका थिए ।
सुनार र शाक्यबीचको विवाद पुरानै हो । हेटौंडा उपमहानगरपालिका–१३, पवित्र टोलमा रहेको ११ कठ्ठा १६ धुर जग्गा हडपेको सुनारको आरोप छ । आफ्नो बाबुको नाममा रहेको जग्गा राखेर व्यवसायी शाक्यबाट ५० हजार रुपैंयाँ ऋण लिएका थिए । दृष्टिबन्धक रोक्का राख्ने भनिएको अवस्थामा जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको सुनारको आरोप छ । उनले जग्गा दृष्टिबन्धक गराउँदा राजीनामा लिखितमा झुक्याएर हस्ताक्षर गराएको भनाई छ ।
उक्त मुद्दा अदालतमा चल्दै आएको छ । ८ महिनाअघि दायर मुद्दामा पीडक पक्षले जग्गा खरिद गरेर लिएको दाबी गरेका छन् । शाक्यले सुनारलाई जालझेल गरेको देखिएको र जग्गा दृष्टिबन्धकको नाममा अरुको पैतृक सम्पत्तिमा नजर लगाउन नमिल्ने भएकाले न्याय गरिनुपर्ने धर्नामा ऐक्यबद्धता जनाउँदै आएका विशालराज महत बताउँछन् ।
सुनारले जग्गा फिर्ता दिलाइदिन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसमक्ष माग गर्दै आएका छन् । तर, सम्बन्धित निकायले कुनै चासो दिएको छैन । ४ महिनाअघि शाक्य र सुनारबीच जिल्ला प्रहरी कार्यालयमा छलफल भएको थियो । उक्त छलफलमा शाक्यले जग्गा फिर्ता गर्ने मौखिक सहमति जनाए पनि फिर्ता नगरेको सुनारले गुनासो गरे ।
जग्गा फिर्ता गर्ने सहमति गरेर पनि कार्यान्वयन नगरेको भन्दै आफू धर्ना बस्न बाध्य भएको उनको भनाई छ । ‘शाक्यले अनपढ बुवालाई झुक्याई राजीनामाको लिखत लेखी÷लेखाई बुवालाई बिश्वास दिलाई पछि रकम बुझीलिएका बखत जग्गा फकुवा गर्नेछु भनि बिश्वासमा पारी उक्त जग्गा दृष्टिबन्धक भनि राजीनामा लिखत गरी राखेको अवस्थामा रहेको,’ पीडित सुनारले सरोकावाला निकायमा दिएको पत्रमा भनिएको छ ।
उनका बाबु पदमलाल सुनारको २०६३ सालमा मृत्यु भइसकेको छ । पीडक भनिएका शाक्यको बुवाले जग्गा राजीनामा गरेर लिएको र उनको पनि मृत्यु भइसकेको जनाइएको छ । शाक्यले मालपोत कार्यालयमा गई एकपटक राजीनामाको लिखत लेखाईसके पश्चात रकम बुझीलिई जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको बिषयमा बिवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिई गएको पीडित सुनारको भनाई छ ।
५० हजार ऋण ५ वर्षमा सावा र ब्याज गरी २ लाख हुन पुगेको र ३० हजार पैसा नपुग्दा पछि दिन्छु भनेको अवस्थामा शाक्यले राजीनामा गराई जग्गा हडपेको सुनारको आरोप छ ।पीडित सुनारका बाबु पदमलालले शाक्यकै घरमा सुन पसल व्यवसाय सञ्चालन गर्दै आएका थिए । सुनारले आफ्नो जग्गा शाक्यको नाममा रहेको २०५९ सालमा थाहा पाएको बताए ।
‘जसको घरमा वर्षौ सुन पसल राखेर व्यवसाय गरे । विश्वासमा काम ग¥र्यौ । उसैले विश्वासघात ग¥र्यो,’ सुनारले भने । ‘जग्गा शाक्यको नाममा गएको भनेर थाहा पाएपछि हामी बाबुछोरा २०५९ सालमै शाक्यलाई भेट्न उनकै घरमा धेरैपटक गयौ ।
तर, उनले आफूले खरिद गरेको भन्दै हप्काएर हामीलाई थर्काए’, सुनारले भने– ‘२०६३ सालसम्म हामी बाबुछोरा जग्गा फिर्ता गर्न रकम चुक्ता गर्न पटक पटक प्रयास ग¥यौं । सोही वर्ष बुबाको निधन पनि भयो ।’, उनले ०६३ सालमै शाक्यले मालपोत कार्यालयमा गएर राजीनामाको लिखत लेखाईसकेपछि रकम बुझ्नुपर्नेमा ब्याजको विषयमा विवाद गर्दै जग्गा फिर्ता नगरी फर्किएको बताए ।
उनले आफ्नो परिवारले उक्त जग्गा २०२२ सालदेखि निरन्तर खेती गर्दै आएको बताए । उनले सम्मानपूर्वक बाच्न पाउने, सम्पतीको आर्जन, भोग र संरक्षण गर्न पाउने हक प्रत्येक नेपाली नागरिकलाई संविधानले नै प्रत्याभूत गरेको अवस्थामा आफू र परिवारको शान्तिसुरक्षाको माग समेत गरे ।







