साँझ हेटौंडाको मुख्यबजार अशान्त
हेटौंडा-प्रहरीकै भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिएपछि बुधवार साँझ हेटौंडाको मुख्यबजार अशान्त बन्न पुगेको छ ।हेटौंडा उपमहानगरपालिकाको बुद्धचोकदेखि जिल्ला प्रहरी कार्यालय साँझ ७ बजेपछि १० बजेसम्म अशान्त बनेको थियो ।
१ नम्बर वडास्थित व्यस्त बजार राप्तिरोडमा प्रहरी भ्यानले बा प्र ०३–००५ प ३०७६ र ना ४९ प ११९ नम्बरका दुईवटा मोटरसाइकललाई ठक्कर दिएर भागेपछि आक्रोशित भिडले प्रहरी कार्यालय घेराउदेखि प्रहरी प्रशासनविरुद्ध नारावाजी गरेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरको प्रहरी भ्यानले दुईवटा मोटरसाइकललाई ठक्कर दिएर बुधवार दिउसो साँझ ७ बजेको समयमा भागेको हो ।
प्रहरी भ्यानको ठक्करबाट हेटौंडा–५, गर्दोइका ४९ वर्षीय सुरेशराज बज्राचार्य र हेटौंडा–५, पिप्लेका ४५ वर्षीय मधु अर्याल घाइते भएको बुझिएको छ । चिकित्सकका अनुसार समाचार तयार पार्दासम्म उनीहरुको अवस्था मध्यम रहेको जनाइएको छ । घाइते बज्राचार्यको हेटौंडा अस्पतालमा उपचार भइरहेको र अर्यालको हेटौंडा अर्थोपेडिक अस्पतालमा उपचार भएको थियो ।
अन्य सवारीसाधनलाई ठक्कर दिएर भाग्नेलाई समाउने पर्ने प्रहरी नै भागेपछि न्याय खोज्न कहाँ जाने भन्दै स्थानीयबासी प्रहरी कार्यालय घेराउका लागि पुगेका हुन् । सयौंको संख्यामा रहेका आक्रोशित स्थानीयले जिल्ला प्रहरी कार्यालय घेराउ गरेका थिए ।हेटौंडास्थित पूर्व–पश्चिम राजमार्ग अबरुद्ध गरिएको थियो ।
राजमार्ग अवरुद्ध केही समय पश्चात प्रहरीले खोलेको थियो । जिल्ला प्रहरी कार्यालयसँग जोडिएको राजमार्गमा मालबाहकदेखि यात्रुबाहक सवारी साधन रोकिएका थिए । प्रहरी भ्यानका चालकले मादकपदार्थ सेवन गरेको आशंका आन्दोलनरत स्थानीयको छ ।
प्रहरी भ्यान तीव्र गतिमा रहेको स्थानीय प्रत्यक्षदर्शीले जानकारी दिएका छन् । जिप्रकाले बाक्लो संख्यामा प्रहरी परिचालन गरेको थियो । घटनाका सम्बन्धमा आधिकारिक जानकारी आउन सकेको छैन । मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेले घटना बारे अनुसन्धान गरेर दोषीलाई कारबाही गरिने बताए ।







