सहकारी दिवस मनाउन विभिन्न समिति गठन

साझाकुरा
२०७९ चैत्र १६, बिहीबार १३:०२

हेटौंडा- ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ भन्ने नाराका साथ ६६ औं सहकारी दिवस विभिन्न कार्यक्रम गरी हरेक बर्ष झैं यसवर्ष पनि भव्य रुपमा मनाइने भएको छ ।बागमती प्रदेशको राजधानी हेटौंडामा प्रदेशस्तरमा सहकारी दिवस मनाउनको लागि राष्ट्रिय सहकारी महासंघका सञ्चालक तथा बागमती प्रदेश सहकारी विकास बोर्डका उपाध्यक्ष नारायणप्रसाद देवकोटाको संयोजकत्वमा १ हजार १ सदस्यीय मूल समारोह समिति गठन भइसकेको छ । समितिले बागमती प्रदेशभरका सहकारी संघ संस्थाहरुले सहकारी दिवसलाई प्रभावकारीरुपले सञ्चालन गर्न निर्देशन समेत दिएको छ ।

सहकारी दिवस मनाउने क्रममा चैत १५ गतेदेखि यसबर्षको नारा ‘सहकारीको दिगोपन, स्वनियमन र सुशासन’ उल्लेख गरी सहकारीको कार्यालयमा सहकारी दिवसको
ब्यानर राख्ने, सामाजिक संजालमा शुभकामना आदानप्रदान गर्ने, संचारमाध्यममा बर्तमान अवस्थामा सहकारीको अवसर चुनौती बिषयमा लेख अन्तर्वार्ता प्रकाशन, प्रशारण गर्ने, चैत १८ गते रक्तदान कार्यक्रम गर्ने, १९ गते मानबसेवा आश्रम हेटौंडामा खाद्यान्न बितरण गर्ने, २० गते भुटनदेबी मावि हेटौंडाको चौरबाट प्रभातफेरी ¥यालीसहित बजार
परिक्रमा गरी पल्पसा हलमा प्रवचन, पुरस्कार वितरण गर्ने र २० गते साँझ प्रदेश भरका सहकारी संघसंस्थाको कार्यालयमा दीपप्रज्वलनसहित सहकारी दिवसको समापन गर्ने कार्यक्रम रहेको मूल कार्यक्रम संयोजक देवकोटाले बताए ।

बुधबार हेटौंडामा भएको ६६ औं राष्ट्रिय सहकारी दिवस मूल समारोह समितिको सचिवालय बैठकले सहकारी दिवस भव्यताका साथ मनाउन विभिन्न समितिको गठन
गरेको छ । १८ गते बुद्धचोकमा हुने रक्तदान कार्यक्रमको संयोजन गर्नको लागि जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, नेफ्स्कुन फिल्ड कार्यालय हेटौंडा, राष्ट्रिय सहकारी बैंक हेटौंडालाई जिम्मेवारी तोकिएको छ । यसैगरी १९ गते मानबसेवा आश्रम हेटौंडामा खाद्यान्न वितरणको लागि मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ, कृषि सहकारी संघ मकवानपुरलाई जिम्मेवारी तोकिएको छ ।

मकवानपुर जिल्लाका विषयगत सहकारी संघहरुले उपलब्ध गराउने स्वयंसेवकको संयोजन गर्ने गरी जिल्ला बहुउद्देश्यीय सहकारी संघका ब्यवस्थापक महेश अधिकारी संयोजक रहनेगरी स्वयंसेवक ब्यवस्थापन समिति गठन गरेको छ । साथै जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुरका व्यवस्थापक सुमित्राकुमारी वाईबाको संयोजकत्वमा मकवानपुर जिल्लाका विषयगत सहकारी संघहरुका व्यवस्थापकहरु रहने गरी मूल समारोहको मञ्च व्यवस्थापन समिति गठन गरिएको छ ।

सहकारी दिवसको मूल कार्यक्रम प्रभातफेरी ¥याली सहितको प्रवचन कार्यक्रमको मूल्यांकन गर्न वीरेन्द्रप्रसाद ढुंगानाको संयोजकत्वमा पुरुषोत्तम मिश्र, हिमप्रसाद पौडेल, बिमला कार्की, शर्मिला महत सदस्य रहनेगरी मूल्यांकन समिति गठन गरेको छ । बैठकले सहकारी दिवसको प्रचारप्रसारको लागि राजकुमार केसीलाई प्रेस संयोजकको जिम्मेवारी दिएको छ । सहकारी दिवसको अवसरमा बागमती प्रदेशको राजधानी हेटौंडामा मूल कार्यक्रम हुनेछ भने प्रदेशका सबै जिल्ला र पालिका तहमा विविध कार्यक्रमसहित सहकारी दिवस मनाइने मूल समारोह समिति कार्यालय सचिव गोबिन्द दाहालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*