उद्वार गरिएका बालक अभिभावकको जिम्मामा

साझाकुरा
२०७९ चैत्र १७, शुक्रबार १२:३०

हेटौंडा- सामुदायिक विकास तथा सचेतना नेपालको पहल तथा जागृति बाल तथा युवा सरोकार नेपालको सहयोगमा बाध्यकारी तथा मानव बेचविखनको उच्च जोखिममा रहेका ८ नेपाली बालकको उद्धार गरिएको छ । विगत १५ बर्षदेखि बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सामुदायिक विकास तथा सचेतना नेपालले भारतीय सामाजिक संस्था र भारतीय प्रहरीको समन्वयमा उद्वार गरेको हो ।

उद्दार गरी ल्याइका बालकलाई राष्ट्रिय बालअधिकारपरिषद्, मधेश प्रदेश प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय रौतहटलगायत सरोकारवाला निकायको समन्वयमा बिहीबार ६ जनालाई परिवारमा पुनर्मिलन र २ जनालाई मानवसेवा आश्रममार्फत् पारिवारिक पुर्नमिलन गर्ने गरी जिम्मा लगाइएको हो ।पछिल्लो समय नेपालबाट विभिन्न बहानामा बालबालिका ओसारपसार गरी भारतलगायत अन्य मुलुकमा लैजाने क्रम बढेको साथै बालिका तथा महिलामात्रै बेचविखनमा पर्ने नभई बालक पनि उच्चजोखिममा रहेको यस घटनाबाट पुष्टि भएको छ । लामो समयदेखि भारतमा रहेका बालकको स्वदेश फिर्ता गरी पुनर्मिलन गराएका ८ जना बालक रौतहट, सर्लाही र बाँके जिल्लाका छन् ।

उद्वार गरी ल्याइएका बालक ११ देखि १६ वर्ष उमेर समूहका रहेका छन् । जिल्ला प्रहरी कार्यालय रौतहटको रोहवरमा भएको पारिवारिक पुनर्मिलन कार्यक्रममा सामुदायिक विकास तथा सचेतना नेपालका कार्यकारी निर्देशक दिलिप कोइरालाले स्थानीय निकायले आफ्नो पालिका भित्रको बालबालिकाको लेखाजोखा राख्ने र बालबालिका विभिन्न प्रलोभनमा भारत र नेपालको अन्य जिल्लामा जानबाट रोक्ने पहल गर्नुपर्ने बताए ।

कार्यक्रममा जागृति बाल तथा युवा सरोकार नेपालका अध्यक्ष तिलोत्तम पौडेलले बालबालिका सम्बन्धी ऐन २०७५ तथा नियमावली २०७९ को प्रभावकारी कार्यान्वयनमा जोड दिनुपर्ने बताए । सामुदायिक विकास तथा सचेतना नेपालका अध्यक्ष ध्रुवप्रसाद अधिकारीले पारिवारीक पुनर्मिलन कार्यक्रममा सहयोग गर्ने सम्पूर्णलाई धन्यबाद दिंदै स्थानीय पालिकासँग समन्वय गरी उद्धार गरेका बालकको निरन्तर अनुगमन गरी संस्थाले निरन्तर सहयोग गरिरहने बताए ।

कार्यक्रममा जिल्ला प्रहरी कार्यालय रौतहटका प्रमुख वीरबहादुर बुढा, प्रदेश बालबालिका खोज समन्वय केन्द्र जनकपुरका प्रहरी सहायक निरीक्षक वीरेन्द्रकुमार मण्डल, जागृति बाल तथा युवा सरोकार नेपालका प्रतिनिधि अरविन खड्का, बालबालिका खोज तलास मधेश प्रदेश प्रतिनिधि वीरेन्द्र मण्डल, सामुदायिक विकास तथा सचेतना नेपालका सचिव अनन्त बानियाँ, पत्रकार अशोकसुजन श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*