जग्गा विवादः शाक्यले समय मागेपछि सुनारको धर्ना रोकियो
हेटौंडा-२५ वर्ष अगाडि दृष्टिबन्धक राखेको जग्गा झुक्याएर राजीनामा पास गराएको भन्दै पीडित जगतबहादुर सुनार निरन्तर आन्दोलनमा थिए ।हेटौंडाका एक प्रतिष्ठित व्यवसायीविरुद्ध एक सय ३५ दिनदेखि धर्ना बसेका सुनार तत्काललाई रोकिएका छन् । जिल्ला प्रहरी कार्यालयमा पीडित सुनार र व्यवसायी नियमराज शाक्यबीच २१ गतेसम्म विवाद निरुपण गरिसक्ने लिखित सहमति भएको छ । २१ गते जग्गाको सम्बन्धमा अन्तिम निर्णय लिने भन्दै शाक्यले लिखित सहमति गरेपछि हाललाई धर्ना रोकेको पीडित सुनारले जानकारी दिए । पीडित सुनारले जग्गा फिर्ता हुनुपर्ने माग राख्दै आएका छन् भने ८ महिना अघि जिल्ला अदालतमा शाक्यविरुद्ध जालसाझीको मुद्दा दायरसमेत गरेका थिए । हाल मुद्दा विचराधीन छ । जिल्ला प्रहरी कार्यालयमा शाक्यले जग्गा फिर्ता गर्ने सम्बन्धमा सहमति नगरेको र २१ गतेसम्ममा एउटा निर्णय दिने सहमति गरेको पीडित सुनारले बताए ।
साझाकुरा दैनिकले पीडित सुनार १३४ दिनदेखि जग्गा माग्दै धर्नामा बसिरहेको समाचार प्रकाशित गरेकै दिन १ सय ३५ औं दिन अर्थात बिहीवार प्रहरीले शाक्यलाई कार्यालय लगेको थियो । बुद्धचोकस्थित घरबाट शाक्यलाई प्रहरीले सोधपुछका लागि लगेको हो । शाक्यलाई लगिएपछि प्रहरी कार्यालयमा पुगेका पीडित सुनार र शाक्यबीच २१ गते अन्तिम निर्णय गर्ने सहमति बनेको हो । ‘चैत २१ गतेसम्म एउटा निर्णय दिने भनेर सहमति गरेपछि मैले पनि प्रहरीको आग्रहमा धर्ना रोकेको छु । २१ गते सहमति पालना नगरे धर्ना फेरि सुरु हुन्छ । अब धर्ना झन कडारुपमा अगाडि बढाउँछौं,’ सुनारले भने ।
प्रहरीमा करिब ४ महिना अघि सुनार र शाक्यबीच मौखिम सहमति नै भएको थियो । त्यतिबेला शाक्यले सुनारलाई जग्गा फिर्ता गरिदिने मौखिक सहमति गरेर प्रहरी कार्यालयबाट हिँडेकोमा उनले आफ्नै निर्णय कार्यान्वयन गरेका थिएनन् । प्रहरी कार्यालयमा गरेको मौखिम सहमति पालना नगरेपछि पीडित सुनार बुद्धचोकमा ब्यानर बोकेर साढे ४ महिनादेखि अनवरत् धर्नामा थिए । सुरुवातमा एक्लै धर्ना सुरु गरेका सुनारको पक्षमा यतिबेला राजनीतिक दलदेखि नागरिक समाज पनि ऐक्यबद्धता गर्न आइपुगेका छन् । सुनारको धर्नामा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा), मोहन वैध नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी), नेत्रविक्रम चन्द नेतृत्वको नेकपा, नेकपा माले, नेकपा (एकीकृतसमाजवादी) लगायतका राजनीतिक दलले ऐक्यबद्धता जनाएका थिए ।
सुनार आफू र आफ्नो बाबु पदमलाल सुनारलाई जालझेल गरेर जग्गा राजीनामापत्रमा हस्ताक्षर गराएको भन्दै बुद्धचोक नजिक उत्तरतर्फ शाक्यको घर अगाडि नै धर्ना बसिरहेका थिए । उनलाई शाक्यले धेरैपटक धरपकड गरेका थिए । पीडित सुनारले २०५४ साल १ वैशाखमा व्यवसायी शाक्यको बाबुले ५० हजार रुपैयाँ ऋणको बदलामा ११ कठ्ठा १६ धुर जग्गा राजीनामा गराएको भन्दै जग्गा फिर्ताको माग गरिरहेका हुन् । हेटौंडा उपमहानगरपालिका–१३, पवित्र टोलमा रहेको ११ कठ्ठा १६ धुर जग्गा शाक्य परिवारले हडपेको सुनारको आरोप छ । आफ्नो बाबुको नाममा रहेको जग्गा राखेर व्यवसायी शाक्यबाट ५० हजार रुपैंयाँ ऋण लिएका थिए ।
दृष्टिबन्धक रोक्का राख्ने भनिएको अवस्थामा जग्गा राजीनामा लिखत गरी जग्गा खाइदिएको सुनारको आरोप छ । उनले जग्गा दृष्टिबन्धक गराउँदा राजीनामा लिखितमा झुक्याएर हस्ताक्षर गराएको भनाई छ । पीडक शाक्य पक्षले भने जग्गा खरिद गरेर लिएको दाबी गरिरहेको छ । जिल्ला प्रहरी कार्यालयमा पनि शाक्यले जग्गा खरिद गरेको बताएको सुनारले बताए । तर, त्यतिबेला जग्गा राजीनामापत्र लेख्ने लेखापढी व्यवसायी नै सुनारको पक्षमा छन् । जग्गा खरिद नभई ऋण लिएको खुल्ने प्रमाण सुनारसँग रहेको जनाइएको छ । जसकारण शाक्यले जग्गा खरिद गरेको दाबी नपुग्ने पीडित पक्षको भनाई छ ।
सुनारले जग्गा फिर्ता दिलाइदिन जिल्ला समन्वय समिति, जिल्ला प्रशासन कार्यालय र स्थानीय सरकारसमक्ष माग गर्दै आएका थिए । उनका बाबु पदमलाल सुनारको २०६३ सालमा मृत्यु भइसकेको छ । पीडक भनिएका शाक्यको बुवाले जग्गा राजीनामा गरेर लिएको र उनको पनि मृत्यु भइसकेको जनाइएको छ ।शाक्यले मालपोत कार्यालयमा गई एकपटक राजीनामाको लिखत लेखाईसके पश्चात रकम बुझीलिई जग्गा फिर्ता गर्नुपर्नेमा पछि ब्याजको बिषयमा बिवाद गरी मोठ रोक्का भिडाई जग्गा भने फिर्ता नदिई गएको पीडित सुनारको भनाई छ । ५० हजार ऋण ५ वर्षमा सावा र ब्याज गरी २ लाख हुन पुगेको र ३० हजार पैसा नपुग्दा पछि दिन्छु भनेको अवस्थामा शाक्यले राजीनामा गराई जग्गा हडपेको सुनारको आरोप छ ।







