६ नम्बर वडामा ७ सय ९० जनाले लिए सेवा

साझाकुरा
२०७९ चैत्र १८, शनिबार १३:१६

हेटौंडा-हेटौंडा उपमहानगरपालिकाको ६ नम्बर वडा कार्यालयले आयोजना गरेको घरदैलो स्वास्थ्य कार्यक्रमबाट ७ सय ९० जना सेवाग्राही लाभान्वित भएका छन् ।
शुक्रबार हेटौंडा–६ स्थित, हेटौंडा स्वास्थ्यचौकीका प्रमुख तोयानाथ ढुंगेलले घरदैलो कार्यक्रमको प्रगति विवरण सार्वजनिक गरेका छन् । जनता स्वास्थ्य घरदैलो कार्यक्रममार्फत ‘जनताको मृगौला जोगाऔं’ अभियान चलाइएको थियो । १३ चैतदेखि १६ गतेसम्म हेटौंडा–६ को २३ टोलमा घरदैलो स्वास्थ्य शिविर चलाइएको हो । हेटौंडामा सम्भवतः पहिलो पटक वडा कार्यालयको नेतृत्वमा जनताको घरघरमै पुगेर स्वास्थ्य सेवा प्रदान गर्ने अभियान सञ्चालन गरिएको स्वास्थ्य केन्द्रका प्रमुख ढुंगेलले बताए ।

शिविरमा महिलाको सहभागिता उल्लेख्नीय रहेको थियो। शिविरमा उपस्थित कुल ७ सय ९० जनामध्ये ५ सय २७ महिलाले सेवा लिएका थिए । शिविरमा प्रोटिन, पिएच र ग्लूकोजको परीक्षण गरिएको थियो । जसमध्ये प्रोटिनमा ८५ जनालाई सामान्य समस्या, २३ जनालाई न्यून समस्या, ७ जनालाई केही समस्या र ४ जनालाई मध्यम समस्या देखिएको छ । त्यसैगरी पिएच परीक्षणमा ४ जनालाई सामान्य समस्या, ८ जनालाई न्यून समस्या, ३ जनालाई केही समस्या देखिएको छ । ग्लुकोज परीक्षणमा २२ जनलाई सामान्य, ७ जनालाई न्यून, १५ लाई केही र २० लाई मध्यम समस्या देखिएको स्वास्थ्य चौकीबाट जानकारी प्राप्त भएको छ ।

स्वास्थ्यचौकी प्रमुख ढुंगेलले हेटौंडा उपमहानगरपालिकालाई बालमैत्री स्थानीय शासनयुक्त कायम गर्न यस चौकीले स्वास्थ्यतर्फको ८ वटा सुचकहरु पूरा गरिसकेको बताए । कार्यक्रममा बोल्दै वडाअध्यक्ष विष्णु दाहालले अगामी दिनहरुमा पनि वडाबाट स्वास्थ्य क्षेत्रको लागि कार्यक्रमको प्रभावकारितालाई ध्यानमा राखी थप बजेट छुट्याइने प्रतिबद्धता व्यक्त गरेका छन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिका वडा नम्बर ६ का वडा सदस्यद्वय विजय पौडेल, लेखराज ढकाल, नेपाल पत्रकार महासंघ बागमती प्रदेशका उपाध्यक्ष रुपेश दुलाल, रानी सामुदायिक वन उपभोक्ता समूहका सचिव भीमसेन पौडेल, पूर्बपत्रकार प्रदीप ढुंगाना लगायतको उपस्थिति थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*