विद्यालय बाहिरका बालबालिका खोज्न बाँकी
हेटौंडा-देशकै पहिलो बालमैत्री गाउँपालिका जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिकामा बालबालिका अझै विद्यालय बाहिर रहेको बताइएको छ । सतप्रतिशत बालबालिका विद्यालय भर्ना गराउने योजनाका बाबजुद बालबालिकाहरु बिद्यालय बाहिरै रहेको आशंकामा अझै खोज्न बाँकी रहेको बताइएको हो । कोर इन्टरनेशनलको आर्थिक सहयोग, मनहरी गाउँपालिकाको समन्वय तथा हिमराईट्स मकवानपुरको आयोजना भएको स्थानीय जनप्रतिनिधि तथा अभिभावकबीच अन्र्तक्रिया कार्यक्रमका सहभागीहरुले बालबालिकाहरु विद्यालय बाहिर हुनसक्ने भन्दै अझै खोजिकार्यको काम गर्नुपर्नेमा जोड दिएका छन् । बालबालिकाहरु अनेकौं समस्याका कारण नियमित विद्यालय जान नसकेको हुनसक्ने कार्यक्रमका सहभागीहरुले बताएका हुन् ।
हिमराइट्स मकवानपुरले विद्यार्थीलाई निरन्तर सहयोग गर्दै आएको कार्यक्रममाथि समिक्षा गर्दै कार्यक्रममा सहभागी सरोकारवालाहरुले विद्यालय बाहिर रहेका बालबालिकाको खोजी गरिनुपर्ने बताए । कार्यक्रममा मनहरी–३ को वडासदस्य हीराबहादुर प्रजाले अभिभावक शिक्षाको कारण सचेतना अभिवृद्धि भई बालबालिका विद्यालय आउन थालेको तर अझै यस्ता बालबालिका खोज्न बाँकी रहेको बताए । हिमराईट्स मकवानपुरले सीमान्तकृत चेपाङ समुदायका बालबालिकालाई विद्यालय पोशाक, अतिरिक्त (ट्युसन) कक्षा, जाडोमा न्यानो कपडा तथा चौमासिक रुपमा खाद्यान्नसमेत सहयोग गर्दै आएको छ ।
उक्त सेवा सुबिधा पाइने भएपछि बालबालिका नियमित विद्यालय आउने गरेको र सिकाईमा समेत धेरै सुधार आएको अभिभावकहरुले बताए । कार्यक्रममा मनहरी गाउंपालिका शिक्षा शाखाप्रमुख हरिचन्द्र सापकोटाले सीमान्तकृत समुदायसँगै विद्यालय बाहिर रहेका अन्य समुदायका बालबालिकालाई शैक्षिक सिकाईको दायरामा ल्याउने चुनौती रहेको बताए । प्रजा आधारभूत विद्यालयको प्रधानाध्यापक तुलबहादुर सुनारले विद्यार्थीलाई संस्थाले सहयोग गर्न थालेपछि विद्यार्थी संख्या बढेको बताए । स्कुलमा आउनै नचाहने बालबालिका नियमित कक्षा आउन थालेको उनले बताए । ‘ट्याक्टरमा बालश्रम गर्न जाने, माछा मारेर रमाइलो गर्न रुचाउनेहरु नियमित स्कुल आउँछन्’ प्रध्यनाध्यापक सुनारले भने ‘चेपाङ मात्रै हैन अन्य जाति पनि आर्थिक अवस्था साह्रै कमजोर भएकोले स्कुलमा टिकाउन चुनौती छ ।’, आफ्ना सन्तानले शिक्षासँगै व्यक्तिगत जीवनमा धेरै चासो राख्न थालेको अभिभावक राममाया प्रजाले बताइन् ।
कार्यक्रममा कोशिशको सकुन्तला पौडेलले मानसिक सु–स्वास्थबारे ग्रामीण भेगमा समस्या भएमा संस्थामा सम्पर्क गर्न अनुरोध गरेकी छन् । कार्यक्रम मानवअधिकार संरक्षण तथा मानव बेचबिखनविरुद्ध जिला सञ्जाल उपाध्यक्ष तथा माइती नेपाल मकवानपुर प्रमुख माया तामाङले बालबालिकालाई उनीहरुको दीगो सिकाइको लागि अभिभावकलाई पनि जिम्मेवारी हुँदै आएको आभास आफूले गरेको बताइन् । मकवानपुर मनहरी गाउँपालिका सामाजिक विकास संयोजक अनन्तप्रकाश अर्यालको अध्यक्षतामा कार्यक्रम भएको थियो । हिमराईट्सले सहयोग गर्न थालेपछि बालबालिका निरन्तर कक्षामा उपस्थित हुने गरेको, शिक्षण सिकाइ क्रियाकलाप राम्रो भएको, ट्युसन कक्षामा पनि निरन्तर उपस्थित हुने गरेको, सरसफाइमा ध्यान दिने गरेको, अभिभावकहरु आफै पनि बालबालिका विद्यालय आए नआएको अनुगमन गर्न आउने गरेको कार्यक्रम संयोजक कुमारी वाइबाले बताइन् ।
पहिला नामसमेत भन्न नजान्ने बालबालिका अहिले पढ्न सक्ने साथै केही कक्षा प्रथम नै भएको, चित्र बनाउने आफ्नो वर्णन गर्ने र नबुझेका कुरा सोध्ने गरेको र आफैंले साथीहरुलाई सिकाउने समेत गरेको वाईबाले बताइन् । संस्थाले सीमान्तकृत समुदायको शिक्षा तथा नेतृत्व विकास कार्यक्रमअन्तर्गत हाल राक्सिराङ गाउँपालिकाअन्तर्गत् वडा नम्बर ३ र ५ को सूर्योदय मावि र चैनपुरस्थित प्रजा जागृति आधारभूत विद्यालय तथा मनहरी गाउपालिकाको वडा नम्बर ३, स्थित प्रजा आधारभूत विद्यालय तथा ६ नम्बर वडामा रहेको सगरमाथा आधारभूत विद्यालयमा बालबालिकालाई विद्यालय शिक्षा सहयोग कार्यक्रमसँगै सीमान्तकृत समूहको आर्थिक सशक्ति–करणका लागि आयआर्जन क्रियाकलाप संचालन गर्ने, शिक्षक अभिभावकबीच अन्तक्रिया तथा बैठक संचालन गर्ने जस्ता कार्यक्रम गर्दै आएको छ ।







