जनकल्याणद्वारा क्षमता विकास तालिमको आयोजना
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडामा रहेको जनकल्याण बचत तथा ऋण सहकारी संस्थाले शनिवार क्षमता विकास तथा वित्तीय व्यवस्थापन तालिम आयोजना गरेको छ ।संस्थाको चालु आर्थिक वर्ष २०७९÷०८० को स्वीकृत वार्षिक कार्यक्रमअनुसार तालिमको आयोजना गरिएको हो । तालिममा संस्थाको वित्तीय विवरण, सहकारीमा आईपर्ने विभिन्न समस्याहरु, संस्थाले भविष्यमा गर्नुपर्ने सहकारीसम्बन्धी विभिन्न गतिविधिको बारेमा समूहगत रुपमा छलफल गरिएको थियो ।
सहकारीको वर्तमान अवस्था, सहकारी ऐन नियम, शेयर सदस्यलाई दिनुपर्ने सेवा सुविधा, बचत संकलन, ऋण लगानी, विभिन्न कोषहरु, सहकारीको संस्थागत पूँजी, सामाजिक उत्तरदायित्व, सञ्चालक समिति, ऋण उपसमिति, लेखा समिति विभिन्न उपसमितिले गर्नुपर्ने कार्यहरु र कर्मचारी परिचालन लगायतका विषयमा जिल्ला बचत तथा ऋण सहकारी संघ, मकवानपुरकी अध्यक्ष कल्पना श्रेष्ठले सहजीकरण गरेकी थिइन् । संस्थाका अध्यक्ष हिमाल पौडेलको सभाध्यक्षतामा भएको तालिममा सञ्चालक समितिका पदाधिकारी, लेखा समिति, विभिन्न उपसमिति, संस्थाका कर्मचारी, शेयर सदस्य समेत गरी ३२ जनाको सहभागिता रहेको थियो ।







