सहकारी दिवसको अवसरमा ३६ जनाले दिए रगत
हेटौंडा-हेटौंडामा शनिवार ६६ औं राष्ट्रिय सहकारी दिवसको अवसरमा आयोजित रक्तदान कार्यक्रममा ३६ जनाले रगत दिएका छन् । राष्ट्रिय सहकारी दिवस मूल समारोह समिति २०७९ को आयोजनामा भएको रक्तदान कार्यक्रममा ३६ जनाले रक्तदान गरेका हुन् । जिल्ला बचत तथा ऋण सहकारी संघका अध्यक्ष कल्पना श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहकारी दिवस मूल समारोह समितिका संयोजक तथा बागमती प्रदेश सहकारी बोर्डका कार्यकारी उपाध्यक्ष नारायणप्रसाद देवकोटाको प्रमुख आतिथ्यता रहेको थियो । रक्तदान कार्यक्रमलाई बागमती प्रदेशको पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयले सहयोग गरेको थियो ।
जिल्ला बचत तथा ऋण सहकारी संघ मकवानपुर, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, राष्ट्रिय सहकारी बैंक हेटौंडा शाखा र नेफस्कुन फिल्ड कार्यालय हेटौंडाको सहकार्यमा दिवस मनाउने कार्य भइरहेको छ । कार्यक्रममा राष्ट्रिय सहकारी महासंघका निवर्तमान संचालक बद्रीप्रसाद लम्साल, बागमती प्रदेश सरकार पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेल, प्रदेश सहकारी बोर्डका प्रमुख पुरुषोत्तम मिश्र, हेटौंडा उपमहानगरपालिका सहकारी शाखा प्रमुख हिमप्रसाद पौडेल, कृषि सहकारी संघ बागमती प्रदेश उपाध्यक्ष बिमला कार्की, मकवानपुर बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपाने, जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेललगायतको आतिथ्यता रहेको थियो ।
रक्तदान कार्यक्रममा नेपाल रेडक्रस सोसाइटी मकवानपुरका रक्तसञ्चार केन्द्रका प्राविधिकहरुले प्राविधिक सहयोग गरेका छन् । यसवर्ष ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराका साथ मनाइने सहकारी दिवसको अवसरमा चैत १९ गते आइतबार मानवसेवा आश्रम हेटौंडामा फलफूल तथा खाद्यान्न वितरण गर्ने कार्यक्रम रहेको कार्यालय सचिब गोबिन्द दाहालले जानकारी दिए ।







