‘बाहिरी सहकारीको शाखाले हेटौंडामा अप्ठेरो’

साझाकुरा
२०७९ चैत्र २१, मंगलवार ११:२८

हेटौंडा-मकवानपुर भन्दा बाहिरी जिल्लामा दर्ता भई हेटौंडामा शाखाको रुपमा सञ्चालित सहकारीको कार्यबाट स्थानीय सहकारीलाई अप्ठेरो परेको जनाइएको छ ।
हेटौंडामा सोमबार ६६ औं राष्ट्रिय सहकारी दिवसको अबसरमा आयोजित सभालाई सम्बोधन गर्दै सरोकारवाला निकायका प्रतिनिधिहरुले बाहिरी सहकारीको शाखाबाट सम्पादन भएका कार्यले स्थानीय सहकारीको विश्ससनीयता बारे प्रश्न उठेको बताएका छन् । भक्तपुरमा दर्ता भई हेटौंडामा शाखा खोलेर ३ वर्षदेखि कार्य गरिरहेको शिवशिखर सहकारी, कृषि सहकारीलगायतले बचतकर्ताको रकम दुरुपयोग गरेको गुनासो र उजुरी परेको थियो ।

बाहिरी जिल्लामा दर्ता भएर हेटौंडामा शाखा खोलेका सहकारीको कारण स्थानीय सहकारीप्रति समस्या भएको पाइएको हो । हेटौंडामा सोमबार विभिन्न कार्यक्रम गर्दै ‘सहकारीको दिगोपनः स्वनियमन र सुशासन’ भन्ने नाराका साथ ६६ औं राष्ट्रिय सहकारी दिवस मनाइएको थियो ।सहकारी दिवसको अवसरमा सोमबार हेटौंडामा प्रभातफेरी ¥याली सहित बजार परिक्रमा गरी सभामा परिणत भएको थियो ।

६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिका संयोजक नारायणप्रसाद देवकोटाको सभाध्यक्षता तथा मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेको प्रमुख आतिथ्यतामा सभा भएको थियो । सभामा बोल्दै प्रजिअ पाण्डेले मकवानपुरका सहकारीहरु राम्रो छन् तर, अन्य जिल्लामा दर्ता भएर मकवानपुरमा सेवाकेन्द्र खोली कार्य गरेका सहकारीहरुमा आएको समस्याको असर मकवानपुरका सहकारीहरुलाई परेको बताए । प्रजिअ पाण्डेले लोभ र बढी व्याजदरको प्रलोभनमा नपरी आफ्नै नजिक रहेका सहकारीहरुमा कारोबार गर्न सबै सदस्यहरुलाई आग्रह गरेका छन् ।

उनले सहकारीले राम्रो कामहरु पनि गरिरहेको तर, केही सहकारीले नराम्रो काम गरेमा त्यसले सिंगो सहकारी क्षेत्रलाई असर पर्ने भएकाले सबै सहकारीलाई राम्रो सदस्यमैत्री काम गर्न अनुरोध गरेका हुन् । ‘सहकारीले विषेशत गरिबी निवारणको क्षेत्रमा काम गरेर राज्यलाई सहयोग गरिरहेको अवस्थामा सहकारीको स्वनियमन गरी सुशासनमा रही काम गर्दा सहकारी क्षेत्रको विकासले गति लिन्छ’, प्रजिअ पाण्डेले भने । उनले सदस्य केन्द्रित र समुदायप्रति चासो राखेर सहकारीले आर्थिक कारोबारको काम गर्नुपर्नेमा पछिल्लो समय सहकारीले गरेको लगानी उत्पादन मूलक क्षेत्रमा नभई अनुत्पादक क्षेत्रमा भइरहेकाले त्यसलाई रोक्न आवश्यक कदम चाल्नुपर्ने बताए ।

कार्यक्रममा बोल्दै पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका सहकारी महाशाखाका रजिष्ट्रार नारायणप्रसाद ज्ञवालीले सहकारीमा आएका विभिन्न चुनौतीलाई समाधान गर्दै थप व्यवस्थित र प्रभावकारी बनाएर अघि बढ्नुपर्ने बताए । उनले सहकारी दिवसले सहकारीमा भएका समस्या, चुनौतीलाई समाधान गर्न प्रेरणा मिल्नुका साथै अभिप्रेरित गरोस भनी सहकारी दिवस मनाइएको बताए । यसैगरी, सहकारी दिवस मूल समारोह समितिका संयोजक एंव बागमती प्रदेश सहकारी बिकास बोर्डका कार्यकारी उपाध्यक्ष देवकोटाले २०४८÷०४९ मा सहकारी नियमावली आएपछि सहकारी क्षेत्रमा सकारात्मक विकास भएको र सहकारी मार्फत् सदस्यहरुको विभिन्न उत्पादन, प्रवद्र्धन र बजारिकरण क्षेत्रमा ठुलो काम भएको बताए ।

उनले राज्यको तीनखम्बे अर्थनीतिमध्ये सहकारीलाई एक खम्बाको रुपमा लिएको अवस्थामा अहिले सहकारी अभियानमा केही समस्या भएता पनि ती समस्यालाई एकजुट भई समाधान गर्न अगाडि बढ्नुपर्ने बताए । कार्यक्रममा प्रदेश दुग्ध विकास बोर्डका उपाध्यक्ष टीकाबल्लभ सापकोटा, राष्ट्रिय सहकारी महासंघका निवर्तमान सञ्चालक बद्रीप्रसाद लम्साल, प्रदेश बचत तथा ऋण सहकारी संघका उपाध्यक्ष कल्पना श्रेष्ठलगायतले सहकारी संस्थाले आफ्ना सदस्यको भावना बुझेर काम गर्नुपर्ने बताए ।

पर्यटन, उद्योग तथा सहकारी मन्त्रालयका अधिकृत रोहित पोखरेलले सञ्चालन गरेको कार्यक्रममा केन्द्रीय दुग्ध उत्पादक सहकारी संघका सञ्चालक बिदुर हुमागाई, जिल्ला प्रहरी कार्यालय मकवानपुर प्रहरी उपरीक्षक बामदेव गौतम, बागमती प्रदेश सहकारी संघका सञ्चालक मेनुका दाहाल, प्रदेश कृषि सहकारी संघका उपाध्यक्ष बिमला कार्की, हेटौंडा उपमहानगरपालिका सहकारी शाखाका प्रमुख हिमप्रसादप्रसाद पौडेल, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघका अध्यक्ष हरिप्रसाद कंडेल, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघका अध्यक्ष रामहरि न्यौपानेलगायतको आतिथ्यता थियो ।

कार्यक्रममा प्रभातफेरीमा विभिन्न सूचकहरुमा उत्कृष्ट अंक ल्याएका चारवटा सहकारी संस्थालाई पुरस्कृत समेत गरिएको थियो । प्रथम भई पुरस्कृत हुनेमा महिला एकता बचत तथा ऋण सहकारी संस्था लिमिटेड भीमफेदी–२, द्वितीय हुने बागेश्वरी महिला बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–११, तृतीय हुने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१३ र सान्त्वना हुने साना किसान कृषि सहकारी संस्था मनहरी–८ लाई पुरस्कृत गरिएको छ । साथै, प्रभातफेरीमा विभिन्न झाँकीसहित साँस्कृतिक बाजा प्रदर्शन गरी सहभागी भएकाहरुलाई समेत सम्मान गरिएको थियो ।

सम्मानित हुनेहरुमा नौमति बाजा प्रदर्शन गरी सहभागी हुने साना किसान कृषि सहकारी संस्था मनहरी र चन्द्र सूर्य दुग्ध उत्पादक सहकारी संस्था मकवानपुरगढी–५, खैजडी भजन बाजा प्रदर्शन गरी सहभागी हुने सुपिङ दुग्ध उत्पादक सहकारी संस्था भीमफेदी र तामाङ भेषभुषाका साथ डम्फु बाजा प्रदर्शन गरी सहभागीता जनाउने महिला मिलन बचत तथा ऋण सहकारी संस्था लिमिटेड हेटौंडा–१३ रहेका छन् । ६६ औं राष्ट्रिय सहकारी दिवस मुल समारोह समितिको आयोजनामा विविध कार्यक्रम सहित भएको कार्यक्रममा सहकारी संस्थाहरुको उत्साहजनक सहभागिता रहेको थियो ।

सहकारी दिवस कार्यक्रममा पर्यटन, उद्योग तथा सहकारी मन्त्रालय, बागमती प्रदेशको सहयोग र मकवानपुर जिल्ला सहकारी संघ, बचत तथा ऋण सहकारी संघ लिमिटेड, मकवानपुर जिल्ला दुग्ध उत्पादक सहकारी संघ, मकवानपुर जिल्ला बहुउद्देश्यीय सहकारी संघ लगायतको सहकार्य रहेको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*