शिक्षक बाहिरी दुनियाँमा रमाउने गरेको अभिभावकको आरोप
हेटौंडा-हेटौंडा उपमहानगरपालिका–१९ नेवारपानी स्थित अरनिको माध्यमिक विद्यालयमा कार्यरत् शिक्षकहरु विद्यालयमा भन्दा पनि बाहिरी काममा नै रमाउने गरेको अभिभावकले आरोप लगाएका छन् ।विद्यालयका अभिभावकले शिक्षकले ध्यान दिएर पठनपाठनमा सहभागी नभएकोलगायतका थुप्रै आरोप लगाउँदै विद्यालय सुधारका निम्ति चिन्ता व्यक्त गरेका छन् । महिला अभिभावकले विद्यालय सुधारका लागि सरोकारवाला निकायको ध्यानाकर्षण गराएका छन् । डब्लुपीडी नेपाल र इन्सेकले सञ्चालन गरेको अधिकार तथा आर्थिक विकास मार्फत् महिला सशक्तिकरण कार्यक्रमअन्तर्गत् हेटौंडा–१९ बस्तीपुरमा आयोजित अन्र्तक्रियामा बोल्दै महिला अभिभावकले विद्यालयको शैक्षिक अबस्था सुधार नआएको गुनासो गरे ।
स्थानीय अभिभावक सीता अधिकारीले विद्यालयका शिक्षकहरु कक्षा कोठामा अध्यापनकार्यमा सहभागी नभई विभिन्न काम भन्दै विद्यालय बाहिर बढी रमाउने गरेको आरोप लगाइन् । खानेपानी र शौचालयसमेत अव्यवस्थित रहेको भन्दै उनले पछिल्ला केही बर्षदेखि विद्यालयको अबस्थामा सुधार आउन नसकेको गुनासो गरेकी छन् । अर्की अभिभावक सिर्जना बिडारीले आफू एकदिन विद्यालय पुग्दा चौरभरि विद्यार्थीहरु दौडिरहेका र शिक्षकहरु अफिसमा लुडो खेलिरहेको समेत भेटेको बताइन् । ‘मैले फोटो खिचौँ भनेर पनि थर्काएँ तर खिचिनन्, उनले भनिन्– ‘हामी ड्युटी गरेर रेष्टमा बसेका छौँ, हाम्रो ड्युटी सकियो भनेर जबाफ फर्काए ।’,
कार्यक्रमभर धेरैजसो अरनिको माध्यमिक विद्यालयकै चर्चा भयो । कतिपयले त शौचालयमा प्रयोग गरेका प्याड समेत विद्यार्थीले नै सफाई गर्नुपरेको गुनासो समेत सुनाए । अभिभावकहरुको प्रश्नमा जवाफ दिँदै विद्यालयका प्रधानाध्यापक बिष्णु परियारले बिस्तारैबिस्तारै शैक्षिक सुधार हुँदै गएको बताए । उठेका सबै बिषयहरु जायज रहेको भन्दै उनले सबै मिलेर सुधार गर्दै जानुपर्ने र पछिल्ला केही बर्षमा तुलनात्मक सुधार आइरहेको दाबी गरेका छन् । त्यसैगरी नेवारपानीस्थित सहरी स्वास्थ्य इकाईमा शौचालयको समस्या रहेको, हल व्यवस्थापन हुन नसकेको लगायतका समस्याहरु उठान भएका छन् ।
इकाइकी स्वास्थ्य निरीक्षक सुसन शर्माले स्वास्थ्यकेन्द्र सुधारका लागि वडाले बजेट नछुट्याएकोमा दुखेसो पोखेकी छन् । कार्यक्रम निर्मल माध्यमिक विद्यालयका प्रधानाध्यापक प्रवोध बिडारी, वडासदस्य राजकुमार बजु, वडा कार्यालयका दीपकप्रसाद रिजाललगायतले उठेका सबालको जबाफ दिएका थिए । इन्सेक नेपालका कार्यक्रम संयोजक कृष्णप्रसाद नेपाल, डब्लुपीडीका फिल्ड सुपरभाइजर तिलकुमारी हुमागाईलगायतको उपस्थितिमा कार्यक्रम आयोजना गरिएको थियो ।







