मध्यपृतना ट्रफी–२०८३ प्रतियोगिता सुरु

साझाकुरा
२०८३ बैशाख १५, मंगलवार ११:४७

हेटौंडा- मध्यपृतना मुख्यालय, सुपारेटारको आयोजनामा सोमबारदेखि ‘मध्यपृतना ट्रफी–२०८३’ सुरु भएको छ । वैशाख २८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताको मध्यपृतना हेडक्वार्टरका पृतनापति उपरथि विष्णुबहादुर खड्काले एक समारोहबीच उद्घाटन गरेका थिए । प्रतियोगिता उद्घाटनसँगै सुरु भएको फुटबलतर्फको पहिलो खेलमा गोरख बहादुर गण विजयी भएको छ । हेटौंडास्थित सुपारेटार ब्यारेकको खेलमैदानमा सम्पन्न खेलमा गोरख बहादुर गण मकवानपुरले भैरवगण धादिङलाई २–१ गोलअन्तरले पराजित गरेको हो । प्रतियोगिता अन्तर्गत भोलि मंगलबार शेर गण र नयाँसबुज गणबीच प्रतिस्पर्धा हुने तालिका छ ।

प्रतियोगितामा सामूहिक विधातर्फ फुटबल, भलिबल, बास्केटबल तथा एकल विधातर्फ एथलेटिक्स स्वीमिङ, बक्सिङ र जुडो गरी आठ खेलमा प्रतिस्पर्धा हुनेछ । खेलतालिका अनुसार स्विमिङ र बक्सिङ मध्यपृतना हेडक्वार्टर हेटौंडामा हुनेछ भने बास्केटबल नं. ६ बाहिनी अड्डाअन्तर्गत शेर गण (नुवाकोट) मा, भलिबल भैरव गण (धादिङ) मा सञ्चालन हुनेछ । त्यस्तै, नं. ७ बाहिनी अड्डाअन्तर्गत नयाँसबुज गण (चितवन)मा तेक्वान्दो र जुडो तथा एथलेटिक्स र फुटबल गोरख बहादुर गण, सुपारेटार ब्यारेक (मकवानपुर) मा हुनेछन् ।

प्रतियोगितामा ६ नम्बर बाहिनी र ७ नम्बर बाहिनी अड्डाअन्तर्गतका विभिन्न युुनिटका एकसय महिला सहित ५ सय ५० जना खेलाडी सहभागी छन् । प्रतियोगितामा ४ सय ७१ वटा पदकका लागि प्रतिस्पर्धा हुने जनाइएको छ । समापनको दिन वैशाख २८ गते सुपारेटार ब्यारेकको खेलमैदानमा फुटबलको फाइनल खेल आयोजना गरिनेछ । समापन समारोहमा विजेता खेलाडी तथा टोलीलाई पदक, प्रमाणपत्र र ट्रफी प्रदान गरिने कार्यक्रम छ । प्रतियोगितामा उत्कृष्ट भएका खेलाडीले प्रधानसेनापति ट्रफीमा सहभागिता जनाउनेछन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*