वन महासंघ थाहाको अध्यक्षमा श्रेष्ठ

साझाकुरा
२०७९ चैत्र २२, बुधबार १२:२८

हेटौंडा- जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिकाभित्र रहेका सामुदायिक वन समूहको साझा संस्था स्थानीय सामुदायिक वन उपभोक्ता महासंघको अध्यक्षमा गणेशमान श्रेष्ठ चयन भएका छन् ।थाहा नगरपालिकामा भएको स्थानीय महासंघको दोश्रो नगरअधिवेशनले श्रेष्ठलाई नगरअध्यक्षमा निर्विरोध निर्वाचित गरेको हो । महासंघ थाहानगरको उपाध्यक्षमा मन्जु केसी, सचिवमा भवानी प्रधान र कोषाध्यक्षमा सविता सुवेदी चयन भएको जनाइएको छ ।स्थानीय उपभोक्ता महासंघ थाहानगरको ५४ सदस्यीय कार्यसमिति पुनर्गठन भएको हो । आगामी बैठकबाट १३ जनाको सचिवालय गठन गरिने नवनिर्वाचित अध्यक्ष श्रेष्ठले बताएका छन् ।

स्थानीय सामुदायिक वन उपभोक्ता महासंघका अध्यक्ष शिवराम थापाको सभाध्यक्षतामा भएको अधिवेशनमा बागमती प्रदेशसभा सदस्य तथा सामुदायिक वन उपभोक्ता महासंघकी केन्द्रीय अध्यक्ष भारती पाठकको प्रमुख आतिग्यता रहेको थियो ।अधिवेशनलाई सम्बोधन गर्दै पाठकले सामुदायिक वनको अधिकारमाथि आघात पर्नेगरी
सरकारले लगाएको तेहेरो कर खारेज गर्न आग्रह गरेकी छन् । सामुदायिक वनमाथि संघ सरकारले १०, स्थानीय तहले १० र प्रदेश सरकारले २५ प्रतिशत वनपैदावार शुल्क लगाएको र तीन तहकै सरकारले लगाएका कर हटाउन पाठकले आग्रह गरेकी हुन् ।

संघीय वन ऐन तत्काल संशोधन गरी सामुदायिक वन उपभोक्ता समूहको अधिकार सुनिश्चित गर्न महासंघले सरकारसँग आग्रह गरेको हो । सामुदायिक वन उपभोक्ता महासंघकी अध्यक्ष तथा बागमती प्रदेशका सांसदसमेत रहेकी पाठकले संघीय वन नियमावली र प्रदेश वन ऐन संशोधन गरी वन संरक्षणकर्मीको अधिकार सुनिश्चित गर्न माग गरिन् ।
उनले तीन तहको करले गर्दा आम्दानी नहुने सामुदायिक वन मारमा परेको भन्दै घरमा पालेको बस्तुलाइ घाँस काट्न कर तिर्नुपर्ने बाध्यताको अन्त हुनुपर्नेमा जोड दिइन् । थाहा नगरपालिकाको उपप्रमुख भरत गोपालीले आगामी योजनामा वन तथा वातावरणमैत्री योजना ल्याउने प्रतिवद्धता ब्यक्त गरे । सामुदायिक वनको संरक्षण गर्नुपर्ने भन्दै थाहा नगरपालिका वन तथा वातारणको विषयमा सकारात्मक भएको उनले बताए ।

नगरपालिकाले स्थानीय वन ऐनसमेत पास गरिसकेको अवस्थामा सामुदायिक वनको संरक्षणमा स्थानीय सरकार सकरात्मक रहेको उनको भनाई छ । अधिवेशनमा थाहा–३ का वडाध्यक्ष हिरेन्द्र रायमाझी, वडा नम्बर ५ का वडाध्यक्ष बिष्णुबहादुर गुरुङ, सामुदायिक वन उपभोक्ता महासंघ मकवानपुरका अध्यक्ष साधुराम चौलागाईंलगायतको आतिथ्यता थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*