धराशायी बन्दै हेटौंडाका उद्योग, क्षमता ४० प्रतिशतमा खुम्चियो

आर्थिक मन्दीको प्रभाव
साझाकुरा
२०७९ चैत्र २३, बिहीबार १०:५९

हेटौंडा-आर्थिक मन्दीका कारण औद्योगिक प्रतिष्ठानहरुमा ठूलो प्रभाव परेको छ । मुलुकको अर्थतन्त्र धान्नेदेखि आर्थिक वृद्धिदरमा भूमिका खेल्दै आएका उद्योगहरु नै धराशायी बन्न थालेका छन् ।क्षेत्रफलका हिसाबले देशकै ठूलो हेटौंडा औद्योगिक क्षेत्रमा हाल सञ्चालनमा रहेका उद्योगको उत्पादन क्षमतामा ह्रास आएको छ । पछिल्लो समय आर्थिक वृद्धिदर घट्नु र बजार महंगी अत्याधिक बढ्नुले हेटौंडाका उद्योगहरुको उत्पादन ४० प्रतिशतमा सीमित भएको उद्योग संघ मकवानपुरले जानकारी दिएको छ ।

हेटौंडा औद्योगिक क्षेत्रमा हाल १ सयको हाराहारीमा उद्योग सञ्चालनमा छन् । जसमध्ये अधिकांश उद्योगको उत्पादन क्षमता ४० प्रतिशत मात्रै रहेको उद्योग संघका अध्यक्ष स्वागतराज प्याकुरेलले जानकारी दिए ।ठूला उद्योग बहुराष्ट्रिय कम्पनी एसियन पेन्ट्स, बज्रर पेन्ट्सको उत्पादन पनि घटेको प्याकुरेलले बताए । हेटौंडा औद्योगिक क्षेत्रबाट ठूलो मात्रामा दाना उत्पादन गर्दै आइरहेका सिदार्थ र भ्याली पेलेट पनि ४० प्रतिशत क्षमतामा सञ्चालन भइरहेको उनले बताएका छन् । प्याकेजिङका उद्योगको अवस्थासमेत चिन्ताजनक रहेको उनको भनाई छ ।

एक वर्षको अन्तरालमै बैंक ब्याजदर दोब्बरले वृद्धि हुँदा उद्योगहरु धराशायी बन्न पुगेको उनले बताए । ‘आर्थिक मन्दीले उद्योगको उत्पादन ४० प्रतिशतमा खुम्चिएको छ । बैंक ब्याजदर एक वर्षमै दोब्बरले बढ्दा उद्योग धराशायी भएका छन । मैले नै अघिल्लो वर्ष ७ लाख रुपैयाँ ब्याज तिरेकोमा यसवर्ष १४ लाख रुपैयाँ तिर्नुपरेको छ । यसरी उद्योगहरु सञ्चालन गर्न सक्ने स्थिति नै छैन’, प्याकुरेलले भने ।

‘औद्योगिक क्षेत्रका सबै उद्योगको उत्पादन क्षमता अहिले ४० प्रतिशतदेखि धेरैमा ५० प्रतिशतसम्म छ । कतिपय उद्योग बन्द हुने अवस्थामा पुगेका छन्’, उनले थपे । औद्योगिक क्षेत्रभित्र १३ वटा सरकारी कार्यालय, बैंकलगायतका कार्यलय बाहेक १ सय ३३ वटा उद्योगको नाममा जग्गा सम्झौता भएको छ । जसमा २० वटा उद्योग पूर्णरुपमा बन्द भइसकेका छन् । बाँकी १ सय १३ वटा उद्योगमा पनि २० वटा निर्माणाधीन अवस्थामा रहेको र केहीले हाल उत्पादन बन्द गरेको संघले जनाएको छ । पूर्णरुपमा बन्द उद्योग र निर्माणाधीन अवस्था बाहेक करिब ९३ वटा उद्योग सञ्चालन भएपनि धराशायी अवस्थामा संचालनमा रहेका हुन् ।

उद्योगधन्दाको स्थिति खस्कँदै गएको उद्योग संघ मकवानपुरका सहकोषाध्यक्ष बुद्धराज अर्याल बताउँछन् । ‘उद्योगहरु चलिरहेका छन तर, ४० प्रतिशत भन्दा बढी क्षमतामा सञ्चालन हुन नसकेको हो’, अर्यालले भने । मन्दीकै कारण केही उद्योगहरु बन्द हुने अवस्थामा पुगेको उनको भनाई छ । हेटौंडा औद्योगिक क्षेत्रमा १८ वटा उद्योग पूर्णरुपमा बन्द भइसकेका छन् । बन्द हुनेमा नेपाल वनस्पति घ्यु उद्योग, हिमालयन पोलिमर्स, बाबा म्यानुफ्याक्चरिङ प्रालि, सन्नी डिष्टिलरी, नेमोपार्केट कम्पनी, ग्यासिका टेक्सटाइल, लक्ष्मी पेन्टस् उद्योग, क्वालिटी ह्याचरी एण्ड फिड इण्डष्ट्रिजलगायतका उद्योगहरु छन् ।

बर्सेनी करोडौंको सामान निकासी गर्ने बहुराष्ट्रिय कम्पनी कोलगेट पाल्मोलाइभ नेपाल प्रालि, एभरेष्ट मिनरल प्रोडक्ट, मकवानपुर इन्जिनियरिङ जस्ता उद्योगहरु यसअघि नै बन्द भइसकेका छन् । त्यस्तै, एभरेष्ट पोलिमर्स, एभरेष्ट भिनाइल, रिज्वाइन क्वालिटी फुड, एसिएन लेदर आर्टस् एण्ड टानिङ जस्ता उद्योगहरु पनि केहीवर्ष अघिदेखि अस्तित्वमा छैनन् । आर्थिक मन्दीकै कारण गत साउनदेखि यता मात्रै ५ वटा उद्योग बन्द भएको हेटौंडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले जानकारी दिएको छ । कार्यालयका क्षेत्र व्यवस्थाक भोजराज बिनाडीले ५ वटा उद्योग बन्द भइसकेको बताए । उद्योगले धेरै कर्मचारी पनि कटौती गरिरहेका छन् ।

साउनबाट यता आर्थिक मन्दीका कारण उद्योगले कर्मचारी कटौती गरिरहेको बिनाडीले बताए । हेटौंडा औद्योगिक क्षेत्रको निर्यात व्यापार पनि अत्याधिक कम भइरहेको उद्योग संघका अध्यक्ष प्याकुरेल बताउँछन् । थोरै निर्यात हुँदै आएकोमा निर्यात पनि प्रभावित भएको उनले बताए । हेटौंडा औद्योगिक क्षेत्रको निर्यात व्यापारमा झण्डै ८५ प्रतिशतले गिरावट आएको छ ।

दशकअघिको व्यापारको तुलनामा बितेको वर्षको व्यापारमा झण्डै ८५ प्रतिशतले गिरावट आएको देखिन्छ । १० वर्षअघि आर्थिक वर्ष २०६५÷०६६ मा मकवानपुरबाट २८ वटा उद्योगले भारत तथा तेस्रो मुलुकमा आफ्नो उत्पादन निर्यात गर्दै आएको तथ्यांक छ । तर, आव ०७६÷७७ सम्म आइपुग्दा ५ वटाले मात्रै निर्यात गर्न सकेका थिए । हाल ५ वटाले पनि निर्यात गर्न नसकेको प्याकुरेलले बताए ।

विशेषगरी क्रसरजन्य उत्पादनको निकासीमा मकवानपुरको निर्यात व्यापार निर्भर थियो । क्रसरजन्य पदार्थको निर्यातमा सरकारले रोक लगाएपछि निर्यात व्यापार पनि ओरालो लागेको हो । पाँच वर्षअघि मकवानपुरका २५ निर्यातमूलक उद्योग मध्ये १९ वटा त क्रसरजन्य नै थिए । दशकअघि क्रसरजन्य उत्पादनहरु, जडिबुटी, अदुवा, लसुनहरु विदेशमा निर्यात हुने गरेकोमा सरकारी नीतिकै कारण सबै व्यापार ठप्प हुन पुगेको उद्योगीहरु बताउँछन् । कोरोना महामारीमा समस्या परेका उद्योगहरु हाल आर्थिक मन्दीले थप संकटमा पु¥याएपछि धराशायी बन्दै गइरहेका हुन् । कोरोना कालमा पनि उद्योगको उत्पादन क्षमता हालको जस्तै अवस्थामा थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*