बागमतीमा पक्की सडकको उद्घाटन
हेटौंडा- जिल्लाको पूर्वीक्षेत्रस्थित बागमती गाउँपालिकामा स्ल्याब ढलान सडकको उद्घाटन गरिएको छ । बागमती प्रदेशसभा सदस्य प्रेमबहादुर पुलामी र बागमती गाउँपालिका अध्यक्ष सर्केश घलानले सडकको उदघाटन गरेका छन् ।बागमती गाउँपालिका वडा नम्बर ८ मा प्रदेश सरकारमार्फत् बिनियोजित २० लाख बजेटबाट पक्की सडक निर्माण गरिएको थियो । स्ल्याब ढलानमा १ लाख ९२ हजार जनश्रमदान गरिएको छ । स्ल्याब ढलान गरिसक्नुपर्ने मिति अगावै निर्माण सकिएको हो । सहरी विकास तथा भवन कार्यालय, मकवानपुरसँग उपभोक्ता समितिले १३ वैशाख २०८० भित्र सडक निर्माण गरिसक्नुपर्ने सम्झौता थियो ।
फापरबारी बजार नजिक शान्तिपुर न्युरेनी सफल टोलबासीलाई पक्की सडक निर्माण भएपछि राहत महशुस भएको मोटर बाटो निर्माण उपभोक्ता समिति अध्यक्ष सुमन थोकरले बताए । विगतका कच्ची सडक हुँदा धेरै कष्ट बनेको थोकलरे बताए । निर्वाचनको समयमा गरेको प्रतिबद्धता पूरा गर्न लागिपरेको सांसद पुलामीले बताए ।सडक निर्माण पनि प्रतिबद्धता भित्रकै रहेको उनले बताए ।
गाउँपालिका अध्यक्ष घलानले अब युवाहरु ‘आफ्नो गाउँ आफैं बनाउँ’ भनेर लाग्नुपर्ने बताए । सडक उदघाटन कार्यक्रममा बागमती गाउँपालिका उपाध्यक्ष फडिन्द्र तिमल्सिना, नेकपा माओवादी केन्द्र बागमती गाउँ कमिटी अध्यक्ष तथा मकवानपुर जिल्ला खेलकुद विकास समिति उपाध्यक्ष अरुण बल, प्रदेश कमिटी सदस्य लालसिं सिंतान, कार्यपालिका सदस्य सुनिता नेगी, वाइसीएल बागमती गाउँपालिका अध्यक्ष आकाश लोप्चनलगायतको उपस्थिति रहेको थियो ।







