हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई ‘क्युएए’ मान्यता
हेटौंडा-‘कडा अनुशासन, स्तरीय शिक्षा’ भन्ने वित्तिक्कै मकवानपुरका शैक्षिक क्षेत्रमा हेटौंडा स्कूल अफ म्यानेजमेन्ट (एचएसएम)को नाम आउँछ ।निजी क्षेत्रको सर्वाधिक चर्चित शैक्षिक संस्था हेटौंडा स्कूल अफ म्यानेजमेन्टले हालै गुणस्तर सुनिश्चितता तथा प्रत्यायान (क्युएए) मान्यता पाएको छ । विश्वविद्यालय अनुदान आयोग (युजिसी)ले ८ वटा मापदण्डामा रहेर हेटौंडा स्कूल अफ म्यानेजमेन्टलाई क्युएए मान्यता दिएको हो ।
२०५२ सालमा स्थापित म्यानेजमेन्ट कलेज मकवानपुरमा क्युएए पाउने पहिलो निजी शैक्षिक संस्था हो । समग्रमा भने क्युएए मान्यता पाउने म्यानेजमेन्ट दोस्रो हो । यसअघि नै देशका ठूला सामुदायिक क्याम्पसमध्ये एक मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको मान्यता दिएको थियो ।
यस कार्यक्रममा सहभागी हुन सम्बन्धन प्राप्त, आगिंक, सामुदायिक तथा निजी क्याम्पसले आठवटा आधार र १ सय २० मापदण्ड पूरा गर्नुपर्छ । मापदण्डअनुसार सम्बन्धित क्याम्पसले स्वमूल्यांकन प्रतिवेदन (एसएसआर) तयार गरी आयोगमा पठाउनु पर्ने हुन्छ । हेटौंडा स्कूल अफ म्यानेजमेन्टका क्यूएए फोकल पर्सन प्रद्युम्न उपाध्यायले आयोगबाट क्युएए प्राप्त गरेको जानकारी दिए ।
उनका अनुसार म्यानेजमेन्टले क्युएए मान्यताका लागि करिब ८ वर्षअघि नै प्रस्ताव गरेको थियो । ‘क्यूएए लिन इच्छुक छ भनेर निवेदन गरिएको थियो । करिब ८ वर्ष अगाडि दिएका थियौं’, उपाध्यायले भने । क्युएए मान्यता पाउनका लागि ८ वटा आधार क्षेत्र पूरा गरेको उनले बताए । कलेजको संगठन, संगठनको नीति, पाठ्यक्रम, शिक्षण प्रक्रिया, शिक्षकहरुको अनुसन्धानसम्बन्धी क्रियाकपाल, पर्याप्त पूर्वाधार संरचना, कलेजले विद्यार्थीलाई गर्ने सहयोग, अभिभावक र सर्वसाधारणमा गरिने सूचना प्रवाहलगायतका ८ वटा विषयका आधार क्षेत्र पूरा भएपछि क्यूएए पाएको उपाध्यायले बताए ।
८ वटा आधार क्षेत्रसँगै १ सय २० वटा मापदण्डका विवरण बुझाएको उनको भनाई छ । विश्वविद्यालय मातहतका क्याम्पसहरुको संस्थागत समग्र सुधारका न्यूनतम शर्त र पूर्वाधारका लागि विभिन्न चरण पार गराई क्युएए कार्यक्रमबाट पुरस्कृत गरिँदै आएको छ । त्रिभुवन विश्वविद्यालयसँगको सम्बन्धमा २०६० सालदेखि स्नात्तक तहको पठनपाठन सुरु गरेको म्यानेजमेन्टले अहिले वाणिज्य संकायमा स्नात्तक र स्नातकोत्तर तह तथा स्नात्तक तहमा सूचना प्रविधिसम्बन्धी कार्यक्रम सञ्चालन गरिरहेको छ । म्यानेजमेन्टमा स्नात्तक र स्नात्तकोत्तर तहमा ६ सय भन्दा बढी विद्यार्थी अध्ययनरत छन् ।
प्रारम्भिक चरणमा गुणस्तर मापनका लागि आयोगले पठाउने पूर्वमूल्यांकन टोलीको सुझावका आधारमा क्युएए प्रक्रियाको प्रमाणपत्र दिँदै आएको छ । आयोगले क्याम्पसको नीति नियम, पाठ्यक्रम, पढाइ सिकाइ र मूल्यांकन प्रणाली, अनुसन्धान, परामर्श, भौतिक पूर्वाधार र सिकाइका स्रोत, विद्यार्थी हित र दिशानिर्देश, सूचना प्रणाली, सार्वजनिक सूचना वितरण प्रणालीलाई मूल्यांकनका आधार बनाएको छ ।
मूल्यांकनको चक्र पूरा भएपछि आयोगले प्रतिविद्यार्थी ८० हजाररुपैयाँका दरले एक वर्षका लागि अनुसन्धानमा १० लाख र स्रोत परिचालनमा दुई करोड अतिरिक्त अनुदान दिनेछ । यसमा सम्बन्धित कलेजबाट एक करोड लगानी हुनेछ । आयोगले भौतिक अनुदानतर्फ भवन, पुस्तकालय, उपकरण खरिद, इन्टरनेट जडान, फर्निचर खरिद जस्ता शीर्षकमा नियमित सहयोग गर्दै आएको छ ।क्युएएका लागि प्रक्रिया सुरु गर्न पनि दुई सय विद्यार्थी हुनुपर्ने मापदण्ड छ । तर, म्यानेजमेन्टको हकमा २ सय भन्दा बढी विद्यार्थी थिए ।







