मकवानपुरमा ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न सरकारको ध्यानाकर्षण

साझाकुरा
२०८० बैशाख ४, सोमबार १०:१०

हेटौंडा- मकवानपुरमा गाईवस्तुमा महामारीको रुपमा देखिएको ‘लम्पी स्किन’ रोग नियन्त्रण गर्न नेकपा (एमाले) संसदीय दलको सचेतक तथा प्रतिनिधिसभा सदस्य महेश बर्तोलाले सरकारको ध्यानाकर्षण गराएका छन् ।आइतबारको प्रतिनिधिसभा बैठकमा बर्तौलाले मकवानपुरगढी, मनहरी, हेटौंडालगायतका स्थानीय तहमा ‘लम्पी स्किन’ रोगले महामारी रुप लिइरहेको सरकारलाई जानकारी गराएका थिए ।

बर्तौलाले शनिवार मकवानपुरगढी गाउँपालिकाको डुम्रेकुनासम्म पुगेर राजधानी फर्किएको उल्लेख गर्दै धेरै गाईपालक किसान लम्पी स्किन रोगबाट समस्या ग्रस्त
रहेको बताएका छन् । लम्पी स्किन रोग लागेका गाईमा १०४ फरेनहाइड ज्वरो आउने, घाँटी, पछाडिको भाग तथा थुनको वरपर १०–५० मिलिको साना ठुला गिर्खा देखिने गरेको पाइएको किसानबाट सूचना प्राप्त भएको उनले बताए ।

किसानको हालसम्म करोडौं रुपैयाँ डुबिसकेको उल्लेख गर्दै सरकारले तुरुन्तै भ्याक्सीनको बन्दोवस्त गर्नुपर्ने र रोगको निराकरण गर्ने भूमिका निर्वाह गर्नुपर्ने बर्तौलाले बताए । नेपाल सरकाले विश्व पशु स्वास्थ्य संगठनलाई गएको जुलाईमा पठाइएको प्रतिवेदन अनुसार जुलाईसम्म मात्रै १२०० गाईमा यो रोग देखिएको उल्लेख छ । मकवानपुरका अधिकांश गाउँपालिकामा पशुचौपायामा लाग्ने ‘लम्पी स्किन’ रोग एकपछि अर्को किसानको गोठसम्म सर्दै गएको पाइएको छ ।

भेटेरेनरी अस्पताल तथा पशुसेवा विज्ञकेन्द्र हेटौंडाका सूचना अधिकारी डा. आभास कोइरालाका अनुसार ‘लम्पी स्किन’ रोगबाट जिल्लाका ४ पालिकामा करिब १ हजार गाईबस्तु प्रभावित भएका छन् ।हेटौंडा, गढी, बकैया, मनहरी, कैलाशमा किसानले व्यावसायिक रुपमा गाई तथा भैंसीपालन गर्दै आएका छन् । यी पालिकामा गाईबस्तुको संख्या पनि धेरै छ । मकवानपुरगढीमा मात्रै ५० वटा भन्दा बढी गाईभैंसी फार्म सञ्चालनमा छन् ।

‘लम्पी स्किन’ रोगका कारण किसान चिन्तित भएका छन् । लम्पी स्किन नेपालमा दुई वर्षअघि देखिएको थियो । हाल लम्पी स्किन भाइरसबाट गाईबस्तुमा रोग सरेको जनाइएको छ । लामखुट्टे, झिँगा र कीर्नाको टोकाइबाट यो रोग सजिलै रोगी पशुबाट निरोगी पशुमा सर्ने पशु रोग विज्ञहरु बताउँछन् । लम्पी स्किन रोग लागेपछि गाईवस्तुका घाँटी, पुच्छरलगायत शरीरका विभिन्न भागमा साना–ठूला गिर्खाहरु देखिने, मुखबाट फिँज धेरै निकाल्ने, उच्च ज्वरो आउने, कचेरा र सिँगान बग्नेजस्ता लक्षणहरु देखापर्ने हुन्छ ।

जिल्लाको मकवानपुरगढी गाउँपालिकामा लम्पी स्किनको प्रभाव सबैभन्दा बढी देखिएको छ । मकवानपुरगढीमा मात्रै हालसम्म करिब २० वटा गाईवस्तुको मृत्यु भइसकेको जनाइएको छ । हाल ६ सयभन्दा बढी गाईवस्तुको उपचार चलिरहेको छ । गाउँपालिकाको वडा नम्बर १, २, ३, ४, ५ र ६ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किन रोग देखापरेको उपचारमा संलग्न गाउँपालिकाका पशु शाखाप्रमुख सत्यनारायण साहले जानकारी दिए ।

गाईबस्तुलाई रोगबाट बचाउन गाउँपालिकाले प्रत्येक वडामा पशु प्राविधिक नियुक्त गरेर निःशुल्क उपचार गर्दै आएको छ । गाउँपालिकाको वडा नम्बर ३, ५ र ६ मा सबैभन्दा धेरै प्रभाव देखिएको हो ।मनहरी गाउँपालिकाको वडा नम्बर १, २ र ३ मा लम्पी स्किन रोग देखापरेको छ । कैलाश गाउँपालिकाको वडा नम्बर ३, ७ र ८ मा देखापरेको यस रोगका कारण अहिलेसम्म २० वटा भन्दा बढी वटा गाईवस्तु बिरामी परेका छन् ।

यसैगरी हेटौंडा उपमहानगरपालिकाका विभिन्न वडामा लम्पी स्किनका कारण किसानले पालेका गाईवस्तु बिरामी परेका छन् । उपमहानगरपालिकाको वडा नम्बर ७, ११, १२, १६, १७ र १८ मा किसानले पालेका गाईवस्तुमा लम्पी स्किनको लक्षण देखिएको छ । एक गाईवस्तुबाट अर्कोमा रोग सजिलै सर्न सक्ने भएकाले तत्काल प्रभावित क्षेत्रमा कृत्रिम गर्भाधान र खोप कार्यक्रम बन्द गराइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*