काम द्रुतगतिमा अघि बढाउन निर्देशन
हेटौंडा- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले निर्माणाधीन काठमाडौं–तराई मधेस द्रुुतमार्ग (फास्ट ट्रयाक) को मंगलबार निरीक्षण गरेका छन् । प्रधानमन्त्री प्रचण्डसँगै उपप्रधान तथा रक्षामन्त्री पूर्णबहादुर खडका, अर्थमन्त्री डा. प्रकाशशरण महत र भौतिक पूर्वाधार मन्त्री प्रकाश ज्वालासहितको टोलीले द्रुतमार्गको निरीक्षण गरेको हो । मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटार र बकैया गाउँपालिकाको लेनडाँडा तथा राजदमार गरी तीन स्थानबाट निरीक्षण गरेको हो ।
टोलीमा नेपाल सरकारका मुख्य सचिव शंकरदास वैरागी, विभिन्न मन्त्रालयका सचिव र प्रधानसेनापति प्रभुराम शर्मा, बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल, भौतिक पूर्वाधार विकास मन्त्री युवराज दुलाल, प्रदेशका मुख्यसचिव मुकुन्द निरौलालगायत अधिकारीहरु सहभागी थिए । फास्ट ट्रयाक निरीक्षण गर्दै प्रधानमन्त्री प्रचण्डले काठमाडौं–निजगढ द्रुतमार्गको निर्माण कार्य द्रुतगतिले अगाडि बढिरहेको आफूले पाएको बताए । उनले कामलाई समयमै सकिने गरी द्रुतगतिमा अगाडि बढाउन निर्माण पक्षलाई निर्देशन दिएका छन् ।
दुतमार्गसँग सम्बन्धित कतिपय निर्णयहरु मंगलबार बस्ने मन्त्रिपरिषद्को बैठकले निर्णय गर्ने प्रधानमन्त्री प्रचण्डले बताएका छन् । ‘फास्ट ट्रयाक निर्माणको जिम्मा कसलाई दिने ? भन्ने बिषयमा ठुलो बहस थियो, त्यतिबेला पनि म प्रधानमन्त्रीको जिम्मेवारीमा थिएँ । मैले राष्ट्रको भावना, जनताको चाहना र मनोविज्ञानको कदर गर्दै नेपाली सेनालाई दिने निर्णय गरेको थिएँ । यसको शिलान्यास पनि निजगढमा मैले नै गरेको थिएँ,’ प्रधानमन्त्री प्रचण्डले भने । २०७४ मा प्रचण्ड नेतृत्वकै सरकारले नेपाली सेनालाई फास्ट ट्रयाकको जिम्मेवारी दिइएको थियो ।
काम दुत गतिमा भइरहेको भन्दै प्रम प्रचण्डले नेपाली सेना र निर्माण कम्पनीलाई धन्यवाद दिएका छन् । काठमाडौँबाट तराई मधेस जोड्ने दुतमार्गअन्तर्गत कूल सडकलाई ११ वटा खण्डमा विभाजन गरी नेपाली सेनाले निर्माण कार्य अघि बढाए पनि हाल ७ वटा खण्डको मात्र काम भइरहेको छ । अन्य ४ खण्डको अझै ठेक्का लाग्न सकेको छैन । ११ वटा खण्डमध्ये हाल मकवानपुर र बारातर्फका ७ वटाको काम भइरहेको छ भने ललितपुरतर्फको ४ वटा खण्डको ठेक्का लगाउन बाँकी रहेको हो ।
हाल मकवानपुरको भीमफेदी गाउँपालिका–८ महादेवटारबाट दक्षिण तर्फ बाराको निजगढसम्म १–७ नम्बर खण्डको ठेक्का लागेर काम भइरहेको छ भने ललितपुर र काठमाडौँ (उत्तरतर्फ)को ८–११ नम्बर खण्डको ठेक्का हुन नसकेको हो । प्रचण्ड दोस्रोपटक प्रधानमन्त्री हुँदा बाराको निजगढबाट फास्ट ट्रयाकको शिलान्यास गरेका थिए । तराईलाई संघीय राजधानीसँग जोड्ने सबैभन्दा छोटो मार्ग भएका कारण यस आयोजनालाई गौरवको आयोजनामा राखिएको छ ।
फास्ट ट्रयाकको कुल भूभागमध्ये बारामा ७.६, मकवानपुरका ५३, ललितपुरमा ७.९ र काठमाडौंमा ४ किलोमिटर पर्दछ । ७२.५ किलोमिटर लम्बाइको काठमाडौं–तराई मधेस दुतमार्ग नेपाली सेनाले २०७४ साउन २७ मा जिम्मा पाएको हो । आर्थिक वर्ष २०७४÷७५ मा सुरु भएको आयोजना २०८१ सालको पुससम्ममा पूरा गर्ने लक्ष्य लिइएको छ । मकवानपुर बारातर्फको ४६ किमिको ठेक्का लागेर काम भइरहेको छ । ४६ किमिमध्ये १३ किमि बाटोको डिजाइनको काम भइरहेको एमएस कुमार रोशन शिचुवान जेबीका प्रोजेक्ट म्यानेजर देवेन्द्र ढु·ानाले जानकारी दिए ।
सो खण्डअन्तर्गत ३ वटा सुरुङ मार्गहरु छन् । जसमध्ये सबै सुरुङको काम भइरहेको छ । मकवानपुरको महादेवटार, धेद्रे र लेनडाँडामा ३ वटा सुरुङ ६.४१ किलोमिटर लम्बाइको रहने छ । दुईतर्फ सवारी सञ्चालन गर्ने गरी २८ वटा साना ठुला पुल निर्माण गरिँदैछ । अधिकांश पुलको बेसमेन्टको काम सम्पन्न भई स्पान ढलानको काम सुरु भएको छ ।







