बाघको आक्रमणबाट २ जना घाइते
हेटौंडा-हेटौंडा उपमहानगरपालिकामा फेरि बाघको आतंक सुरु भएको छ । विगत केही महिना अघि हेटौंडा उपमहानगरपालिका, मकवानपुरगढी र बकैयामा बाघले आतंक मच्चाएको थियो । बाघको आतंक फेरि सुरु भएसँगै बुधवार हेटौंडामा दुईजना घाइते भएका छन् । हेटौंडा उपमहानगरपालिका–१५ रातोमाटे सय फुटमा बाघको आक्रमणबाट २ जना घाइते भएका हुन् ।
बुधबार बिहानको समयमा हेटौडा–१५ सएफुट स्थित चुरियामाई सामुदायिक वनमा बाख्रा चराउने क्रममा हेटौंडा–१५ बस्ने १७ वर्षका सुमन घलान र सोही ठाउँ बस्ने ६५ वर्षका कृष्णबहादुर थिङलाई बाघले आक्रमण गरेको हो ।
जिल्ला प्रहरी कार्यालय मकवानपुरका अनुसार घरबाट करिव २०० मिटर वन क्षेत्रमा बाख्रा चराउन गएका घलान र थिङको टाउको, घाँटी, हातमा चोट लागेको छ । घलानको दाहिने कुम, ढाडको बाँया साईड, छातिमा बाघले टोकेको प्रहरीले जनाएको छ ।
बाघको टोकाइबाट थिङको घाँटीमा गहिरो चोट लागेको छ । घाइते दुबै जनाको हेटौंडा अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायवउपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए । उनका अनुसार घाइते थिङको स्वास्थ्य अवस्था गम्भीर रहेको र घलानको स्वास्थ्य अवस्था मध्यमक रहेको छ ।







