वनमा लगाएको डढेलोका कारण बकैयामा दुई घर जले
हेटौंडा- जिल्लाका अधिकांश वनमा यतिबेला डढेलो लागिरहेको छ । कानुनले निषेधित गरेको डढेलो वन क्षेत्रमा निरन्तर लागिरहेका छन् । बुधबार मकवानपुरको २३ स्थानमा डाडेलो लागिरहेको बताइएको छ । मकवानपुरमा जंगलमा लागेको आगो बस्तिमा सल्कदा दुइ घर जलेर नष्ट भएको छ । जिल्लाको पूर्वी क्षेत्रस्थित बकैया गाउँपालिका वडा नम्बर–६ ठुलो ज्यामिरेमा वनमा लागेको डढेलो बस्तिमा सल्किँदा दुई घर जलेको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जानकारी दिएको छ ।
आगलागीबाट बकैया–६ ठुलो ज्यामिरे बस्ने दुर्गामाया भोलनको घर, गोठमा आगलागी हुदा पूर्णरुपमा नष्ट भएको हो । आगोलागीबाट ७ वटा बाख्रा, कुखुरा १२ वटा जलेको प्रहरीले जानकारी दिएको छ ।उक्त आगलागीबाट अन्नपात, लत्ताकपडा, भाँडावर्तन, घर, गोठ, काठ, नगद, पुरानो सिक्का लागायत गरी ७ लाख ५ हजार बराबरको क्षति भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।
यसैगरी स्थानीय लालबहादुर लोको खरले छाएको काठले बनेको घरमा आगलागी हुदा घर पूर्णरुपमा जलेर नष्ट भएको छ । आगलागीबाट अन्नपात, भाडाँ समेत गरी २ लाख रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ ।







