सहकारीद्वारा जेष्ठ नागरिक सम्मान
हेटौंडा- मातातीर्थ औंशीको अबसरमा हेटौंडा उपमहानगरपालिका–११, स्थित नवयुवा बचत तथा ऋण सहकारी संस्थाले आमाहरुको सम्मान गरेको छ ।सहकारीमा आवद्ध ७० वर्ष पुगेका वृद्धा आमाहरुलाई सम्मानित गरेको हो । संस्थाका अध्यक्ष फूलमान श्रेष्ठको अध्यक्षता र हेटौडा उपमहानगरपालिका–११ नम्बर वडाध्यक्ष जुना दाहालको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा निवर्तमान वडाध्यक्ष गोकर्णप्रसाद पराजुलीको बिशेष आतिथ्यता रहेको थियो ।
कार्यक्रमका प्रमुख अतिथि वडाध्यक्ष दाहालले पछिल्लो समयमा देशका विभिन्न ठाउँमा सहकारीका विकृतिका समाचार सार्वजनिक भैरहँदा यस नवयुवा सहकारले भने आफ्ना शेयर सदस्यको मन र विश्वास जित्न सफल भएको बताइन् ।वडाध्यक्ष दाहालले आफ्नो कार्यकालमा सहकारीलाई आवश्यक सहयोग रहने बताएकी छन् ।
संस्थाका कोषाध्यक्ष तथा शिक्षा उपसमिति संयोजक खेमराज सापकोटाले संयोजन गरेको कार्यक्रममा ३३ जना जेष्ठ नागरिक आमा सम्मानित भएका हुन् । सहकारीको वार्षिक कार्ययोजना अनुरुप हेटौडा–११, स्थित सहकारीको आफ्नै भवनमा भएको कार्यक्रममा संस्थाका अन्य पदाधिकारी, सदस्यहरुको उपस्थिति थियो ।







