निर्माण क्षेत्रमा देखिएका समस्या बारे छलफल
हेटौंडा-निर्माण व्यवसायी संघ मकवानपुरको आयोजनामा नयाँ वर्ष २०८० को अवसर पारेर शनिवार हेटौंडामा शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रम भएको छ ।
कार्यक्रममा निर्माण क्षेत्रका समस्याको बारेमा छलफल भएको थियो । निर्माण व्यवसायीसँगै ठेक्का आव्हान गर्ने तीनै तहको सरकार जिम्मेवार भएमा अहिले निर्माण क्षेत्रमा देखिएका समस्या समाधान हुने कार्यक्रममा सहभागीहरुले औंल्याएका छन् ।
कार्यक्रममा बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले समयमा काम सम्पन्न नहुँदा नागरिकले समस्या झेल्नु परेको बताइन् । उनले निर्माण व्यवसायीका समस्यमा समाधानमा तीनै तहको सरकार सकारात्मक रहेको विश्वास दिलाइन् ।उनले सरकारबाट हेर्दा काम नभएको देखिन्छ, तीन पटक म्याद थप्दासमेत काम नभएको पाइन्छ भन्दै निर्माण क्षेत्रका समस्या समाधानमा पहल गर्ने मन्त्री मोक्तानले प्रतिबद्धता व्यक्त गरिन् ।
बागमती प्रदेशसभाका सदस्य एवं पूर्वमन्त्री एकालाल श्रेष्ठले जिम्मेवारी लिएपछि काम समयमा पूरा गर्नुपर्ने भन्दै सबै व्यवसायमा अनुशासन र जवाफदेहिता आवश्यक रहेको बताए । निर्माण व्यवसायी संघ मकवानपुरका अध्यक्ष बालगोपाल कंडेलले कतिपय स्थानीय तहले सार्वजनिक खरिद ऐन अनुसार ठेक्का आव्हान नगर्ने गरेको बताउँदै निर्माण व्यवसायीले आफ्नो काम सहज रुपमा गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरे ।
कार्यक्रममा नेपाल निर्माण व्यवसायी महासंघका बागमती प्रदेश उपाध्यक्ष बालकृष्ण थापा, नेकपा एमाले मकवानपुरका सचिव तथा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देल, हेटौंडा–१ का वडाअध्यक्ष सविन न्यौपाने, नेपाल उद्योग वाणिज्य महासंघका कार्यसमिति सदस्य कृष्ण कटुवाल, निर्माण व्यवसायी संघ मकवानपुरका पूर्वअध्यक्ष आनन्दराम पराजुली, संघका वरिष्ठ उपाध्यक्ष सागर कटुवाललगायतले टेण्डर निकाल्दा बजेट सुनिश्चिततासँगै सबै तयारी गरेर आव्हान गर्नुपर्ने, बैंक व्याजदरको समस्या समाधान हुनुपर्नेलगायत धारणा राखेका छन् ।







