कक्षा–१२ को परीक्षा केन्द्र महेन्द्र मावि छतिवनमा
हेटौंडा-पूर्वी मकवानपुरको बकैया गाउँपालिका–४ छतिवनस्थित महेन्द्र माध्यमिक विद्यालयले कक्षा १२ को परीक्षा सञ्चालनको अनुमति पाएको छ । महेन्द्र माविले पहिलो पटक राष्ट्रिय परीक्षा बोर्डबाट कक्षा–१२ को परीक्षा सञ्चालनको अनुमति पाएको हो । विद्यालयका प्रधानाध्यापक दुर्गा पराजुलीका अनुसार अब बकैयाको बुद्ध मावि र कर्म प्राप्ती, बागमतीका जनता मावि, बागमती मावि र देवकी माविको कक्षा १२ को परीक्षा केन्द्र महेन्द्र माविमा सञ्चालन हुनेछ ।
यसअघि कक्षा ११ र १२ को परीक्षा दिनको लागि हेटौंडा उपमहानगरपालिकाका विद्यालय जानुपर्ने बाध्यता रहेको थियो । अब यहाँका विद्यार्थीले आफ्नै स्थानीय तहको विद्यालयमा परीक्षा दिन पाउने भएका छन् । महेन्द्र माविको कक्षा–१२ का विद्यार्थीको परीक्षा केन्द्र भने हेटौंडा–४ स्थित भुटनदेवी माविमा परेको छ । कक्षा–१२ को परीक्षा यहि वैशाख २६ गते मंगलबारबाट जेठ ५ गते शुक्रबारसम्म सञ्चालन हुँदैछ । परीक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म सञ्चालन हुनेछ ।







