निष्पक्ष छानबिन गर्न पत्रकार महासंघको माग
हेटौंडा- मकवानपुर प्रहरीको हिरासतमा रहेका पत्रकार रमेश बञ्जारालाई जर्वजस्ती करणी मुद्दामा फसाउन खोजेको आशंका उत्पन्न भएपछि पत्रकार महासंघ मकवानपुर र बागमती प्रदेश शाखाले निष्पक्ष छानबीनको माग गरेको छ । नेपाल पत्रकार महासंघ बागमती प्रदेशका महासचिव कृष्णसारु मगर र महासंघ मकवानपुरका अध्यक्ष मणिराज गौतमले जारी गरेको विज्ञप्तिमार्फत् सरोकारवाला निकायलाई बञ्जाराको घटनामा निष्पक्ष छानबीन गर्न माग गरिएको हो ।
एक महिलालाई बलात्कार गरेको आरोप लगाउँदै प्रहरीले पक्राउ गरेको घटनाप्रति महासंघले ध्यानाकर्षण समेत जनाएको छ । यस घटनामा सीसीटीभी फुटेजमा आरोप लगाइएको भन्दा फरक प्रकृतिको घटना देखिएपछि पत्रकार महासंघहरुको ध्यानाकर्षण भएको हो । पत्रकार महासंघले मात्र नभई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) मकवानपुरले पनि बञ्जारालाई फसाइएको दाबी गर्दै निष्पक्ष छानबीनको माग गरेको थियो ।
यसघटनामा दोहोरो छानवीन गर्नका लागि महासचिव मगर र जिल्ला अध्यक्ष गौतमले विज्ञप्तीमार्फत् माग गरेका छन् । तर, जर्वजस्ती करणी सरकारीवादी मुद्दा भएकाले प्रहरीले पीडितको पक्षबाटै अनुसन्धान गर्ने जनाइसकेको छ । बञ्जाराले आफू निर्दोष रहेको प्रमाणित गराउन प्रहरीको सहायता खोज्न नसक्ने भएपछि विपक्षी अधिवक्ता राख्नुपर्ने भएको हो । तर, तत्कालीन समयमा घटना भएको भनिएको स्थानको समेत अवस्था खुल्ने गरी सीसीटीभी फुटेज बाहिरिएपछि बञ्जारालाई फसाउन खोजिएको आशंकाले प्रहरी अनुसन्धान दोहोरो हुनुपर्नेमा जोड दिइएको छ ।
जनस्तरमा पनि बञ्जारालाई फसाउन खोजेको आशंका भइरहेको हो । पीडितले दिएको जाहेरी र बारदात भएको भनिएको समयमा पत्रकार बञ्जारा हेटौंडाको एक पसलमा गुट्खा किन्दै गरेको सिसीटीभी फुटेजमा देखिएको र पीडित भनिएकी महिला एक पुरुषसँग बुलेट बाइक चढेर घट्ना भएको भनिएको स्थानमा हिँडिरहेको विषयलाई समेत प्रहरी प्रशासनले गहिरो ढंगले छानबीन गर्न माग गरिएको छ । पीडित महिलाले बञ्जाराबाट आफू जर्वजस्ती करणीमा परेको भन्दै जाहेरी दिएकी हुन् । महिलाले हेटौंडाको राप्ती पुलको दक्षिणतर्फ त्रिवेणीधाम जानेतर्फ काँसघारीमा लगेर जर्वजस्ती करणी गरेको दाबी गरेकी छन् ।







