प्रशासनको एउटा निर्णयले सर्वसाधारणलाई राहत
हेटौंडा- जिल्ला प्रशासन कार्यालय मकवानपुरले बिहीबारदेखि निःशुल्क रुपमा राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने व्यवस्था मिलाएको छ । जिल्ला प्रशासन कार्यालय मकवानपुरकै एउटा कोठामा कर्मचारी राखेर निःशुल्क रुपमा आम सेवाग्राहीको फारम भर्ने व्यवस्था मिलाइएको हो । यसअघि हेटौंडाको उपमहानगरपालिका रोडमा रहेका विभिन्न स्थानमा शुल्क तिरेर मात्र आम सर्वसाधरणले फारम भर्दै आएका थिए । आम सर्वसाधारणले मंहगो रकम तिरेर राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम भर्ने गरेका थिए ।
पसलैपिच्छेको महंगो फरक–फरक मूल्यका कारण हैरान भएको सर्वसाधारणलाई प्रशासनको निःशुल्क फारम भर्ने व्यवस्थाको निर्णय राहत मिलेको हो ।
प्रशासन परिसरमै भेटिएका सेवाग्राहीले सरकार भएको महसुश गराएको बताए । बिहीवार पहिलो दिन ४० जनाभन्दा बढी सेवाग्राहीले निःशुल्क सेवा लिएको सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले जानकारी दिए । जिल्ला प्रशासन कार्यालयबाट प्रवाह हुने सेवालाई थप प्रभावकारी एवम् सेवाग्राहीमैत्री बनाउन कार्यालयबाटै निःशुल्क सेवा दिइएको उनले बताए ।
‘सेवाग्राही आफैंले भरी पेश गर्नुपर्ने राहदानी तथा राष्ट्रिय परिचयपत्रको फारम २० नम्वर कोठाबाट हामीले निःशुल्क भरिदिने व्यवस्था गरेका हौँ । यसले नागरिक र प्रशासनबीचको दूरी घटाउँछ र उहाँहरुलाई सहज हुनेछ,’ शर्माले भने ।यसअघि सेवाग्राहीले विभिन्न स्टेशनरी, फोटो पसल तथा साइबरबाट शुल्क तिरेर फारम भर्दै आएका थिए । यतिसम्मकी पासपोर्टको अनलाइन फारम भर्न सेवाग्राहीहरुले चर्को मूल्य तिर्ने गरेका थिए ।
प्रशासनले अनलाइन फारम भर्ने समय खुलाउँदा सेवाग्राहीको कोटासमेत बिचौलियाले पहिल्यै कब्जा गरेर महंगो मूल्यमा सेवाग्राहीलाई फारम भर्ने गरेका थिए । यसैगरी, प्रशासनले टोकन व्यवस्थापनलाई पनि थप व्यवस्थित बनाउँदै लगेको सहायक प्रजिअ शर्माले बताए । सेवाग्राहीको सहजताको लागि प्रशासनले हुलाक टिकटसमेत उपलब्ध गराउने उनको भनाई छ ।







