थिङलाई पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्वबाट सम्मान
हेटौंडा- हेटौंडामा (साविक चुरियामाई गाविस) १६ वर्ष अघिदेखि सहकारी अभियान चलाएकी मञ्जु थिङ पाँचतारा राष्ट्रिय सहकारी व्यक्तित्वबाट सम्मानित भएकी छन् ।
साविक चुरियामाई गाविसमा १६ वर्ष अघि टोलटोल र समुदायमा सहकारी अभियान उनले चलाएकी थिइन् । थिङले चलाएको अभियानबाट याहाँका सबै महिला सहकारीसँग जोडिएर आर्थिक उपार्जनमा लागिरहेका छन् । प्लान इन्टरनेशनल नेपालको सहयोगमा महिला दिदीबहिनीको सामूहिक छलफल र बचत कार्यक्रम गर्दै उनले सहकारी अभियान सुरुवात गरिएको थियो ।
२०१५ सालमा चुरियामाई–२ नयाँबस्तीमा जन्मिएकी उनी सहकारी क्षेत्र र समाजसेवामा क्रियाशील रहेर असल कर्मले समुदायमा र सिंगो मकवानपुरमा परिचित छिन् । थिङको सहकारी अभियानको एक नमूना संस्थाको रुपमा महिला जनचेतना बचत तथा ऋण सहकारी संस्थालाई जिल्लामा मात्र नभई नेपालभर चिनाउन सफल गरिएको थियो ।
सहकारीको स्थापनाकालदेखि नेतृत्वदायी भूमिकामा रही २०५७ सालमा संस्थाको उपाध्यक्ष र २०५८ देखि २०७४ सम्मलगातार १६ वर्ष अध्यक्ष भई संस्था हाँकेकी थिइन् । उनी महिला सशक्तिकरणका लागि आवाज उठाउँदै जातीय विभेद अन्त्यका लागिसमेत सक्रिय थिइन् ।
आफू आर्थिक विपन्नता र औपचारिक शिक्षाबाट बन्चित हुदाँहुँदै पनि दुःखसुख गरेर यति लामो समय सहकारी अभियानमा जुट्न सकेको थिङले सुनाइन् । उनी नेपाल बचत तथा ऋण केन्द्रीय सहकारी संघबाट महिलातर्फ उत्कृष्ट सहकारी अभियानकर्मीको रुपमा सम्मानित भइसकेकी छन् । महिला जनचेतना साकोसलाई जिल्लामा मात्र नभई देशभर चिनाउन थिङ सफल भएकी थिइन् ।
उनले यस सहकारी अवलोकन गर्न वार्षिक दर्जनौं सहकारी संस्थाहरु आउने गरेको बताइन् । सुरुवाती चरणमा दिदीबहिनी जम्मा गर्न, बचत कार्यक्रम गर्दा र सहकारीलाई दर्ता गर्ने समय सम्झदाँ कहालिलाग्दो इतिहास रहेको उनी बताउँछिन् । ‘लेखपढ थिएन्, हिसाब आउदैनथ्यो, बिनाभत्ता, आफ्नै सकेको पैसाले अभियान सुरु गरेका थियौं र अहिले सफल भएको हो,’ उनले सुनाइन् । पाँच–पाँच रुपैया महिनाको जम्मा गरेर सुरु गरिएको अभियानले हाल सहकारीले ३६ करोड भन्दा बढीको कारोबार गरेको छ । सहकारीमा ४ हजार बढी शेयर सदस्य तथा सहकारीमा २६ करोड २० लाख रुपैयाँ भन्दा बढी बचत रहेको उनले बताइन् ।







