८७ जना विद्यार्थीलाई छात्रवृति

साझाकुरा
२०८० बैशाख १५, शुक्रबार ०९:२०

हेटौंडा- मकवानपुरको सामाजिक क्षेत्रमा सक्रिय राउन्ड टेबल नेपालले ८७ विद्यार्थीलाई छात्रवृत्ति प्रदान गरेको छ । राउन्ड टेबलले मकवानपुर गढी–५, स्थित आधारभूत शिक्षा प्राथमिक विद्यालयमा ३ लाख १५ हजार ६ सय रुपैयाँको छात्रवृत्ति वितरण गरेको हो । राउन्ड टेबल नेपाल, हेटौंडा टेबल–३० का अध्यक्ष रवि अग्रवालको सभाध्यक्षतामा भएको छात्रवृत्ति वितरण कार्यक्रममा मकवानपुरगढी गाउँपालिका अध्यक्ष दोर्जे लामास्याङ्तानको प्रमुख आतिथ्यता रहेको थियो । उनीहरुले विद्यालयका प्रधानाध्यापक प्रल्हाद घिमिरेलाई छात्रवृत्ति बराबरको रकमको चेक हस्तान्तरण गरेका थिए ।

राउन्ड टेबल नेपाल, हेटौंडा टेबल–३० का सदस्य राहुल जालानका अनुसार संस्थाले विगत २ वर्षदेखि उक्त विद्यालयमा ५ हजार लिटरको पानी टंयाङ्की, विद्यालयको छनो फेरेर रंगरोगन तथा विद्यार्थीका लागि पोशाकदेखि स्टेशनरी सामग्री सहयोग गर्दै आइरहेको छ । नेपालभर १ हजार बढी विद्यार्थीलाई प्रदान गरिने योजना अन्तर्गत हेटौंडामा पनि राउन्ड टेबलले मकवानपुरगढीको आधारभूत शिक्षा प्राविसँगै हेटौंडा–११ को जेम्स इङलिस बोर्डिङ स्कूलको २ जना विद्यार्थीलाई १४ हजार र हेटौंडा–४ को आधुनिक राष्ट्रिय माध्यमिक विद्यालयका ३ जना विद्यार्थीलाई ८ हजार ४ सय बराबरको छात्रवृत्तिसमेत प्रदान गरेको जालानले जानकारी दिए ।

राउन्ड टेबल नेपाल १८ देखि ४० वर्ष उमेर समूहका गैर–राजनीतिक र गैर–साम्प्रदायिक युवाहरुको संगठन हो । संस्थाको उद्देश्य राष्ट्रिय र अन्तर्राष्ट्रिय मामिलामा सेवा, सद्भाव र सद्भावनालाई प्रवद्र्धन गर्ने कार्यहरु रहेको कार्यक्रम संयोजक दीपक अग्रवालले जानकारी दिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*