राक्सिराङका सामुदायिक वनलाई सक्रिय बनाइने
हेटौंडा-राक्सिराङ गाउँपालिका भित्र रहेका विभिन्न सामुदायिक वन उपभोक्ता समूहलाई सक्रिय र चलायमान बनाउनका लागि छलफल गरिएको छ । सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङ गाउँपालिकाको अगुवाईमा विभिन्न सामुदायिक वन उपभोक्ता समूहका पदाधिकारी, सब डिभिजन वन कार्यालय राक्सिराङ र डिभिजन वन कार्यालय राप्तीका कर्मचारीबीच छलफल गरिएको हो । छलफलमा विभिन्न सामुदायिक वनका पदाधिकारीले वनमा रहेका समस्या, चुनौती र असहजताका
बारेमा गुनासो राखेका थिए । सामुदायिक वनमा हुने डढेलो, वन क्षेत्रमा जथाभावी हुने सडक निर्माण तथा उपभोक्तामा जनचेतनाको कमीलगायत चुनौती रहेको उनीहरुको भनाई छ ।
राक्सिराङ सब डिभिजनका प्रमुख दिनेश सत्यालले निष्क्रिय रहेका र अव्यवस्थित समूहलाई सक्रिय बनाई वन संरक्षण र उपभोक्ताको हितमा काम गराउन पहल गरिएको बताए । राक्सिराङका ३५ वटा सामुदायिक वनमध्ये केही समूह मात्र क्रियाशील रहेको बताउँदै उनले उपभोक्ता समूह र वन क्षेत्रको समुदाय नै जागरुक हुनुपर्ने बताए । राप्ती डिभिजनका डिभिजनल वन अधिकृत बिष्णुप्रसाद आचार्यले राक्सिराङका वन क्षेत्र पर्यापर्यटन र जीविकोपार्जनका हिसाबले महत्वपूर्ण रहेको औल्याएका छन् । कार्यालयकातर्फबाट विभिन्न लक्षित कार्यक्रम लागु गरी वनको विकास र समुदायको जीवनस्तर सुधारमा काम भइरहेको उनको भनाई छ ।
सालक, चिउरी, छतिवन, दारजस्ता वनपैदावरको संरक्षण र प्रवद्र्धनमा विभिन्न कार्यक्रम गरिएको बताउँदै उनले वनको संरक्षण र विकासमा समुदायले अपनत्व लिनुपर्ने बताए । ठुला योजना सञ्चालनका लागि बजेट अभाव रहेकाले संघ, प्रदेश तथा स्थानीय सरकारसँग आवश्यक पहलसमेत भइरहेको उनले जनाएका छन् । सामुदायिक वन उपभोक्ता महासंघ राक्सिराङका अध्यक्ष सन्तोष थापा मगरले सामुदायिक वनलाई सक्रिय बनाउन महासंघले अगुवाई गर्ने बताए । राक्सिराङ गाउँपालिका, वन कार्यालय र उपभोक्ता समूहबीच अन्र्तक्रिया गरी आपसी सहकार्य र समन्वयको वातावरण बनाइने उनले बताए ।







