बागमतीको सरकार ३६ दिनदेखि अपूर्ण
हेटौंडा- सत्ता समीकरणमा फेरबदल आएसँगै बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले देस्रो पटक विश्वासको मत लिएको ३६ दिन कटेको छ ।निर्वाचनकै बेलाको गठबन्धन ब्युँतिएपछि १० चैतमा विश्वासको मत लिएर सरकारमै टिकिराखेका जम्कट्टेलले एक महिना बढी भइसक्दा पनि सरकारलाई पूर्णता दिन नसकेका हुन् । मन्त्रिपरिषद् अपूर्ण हुनुमा जम्कट्टेलको भन्दा पनि कांग्रेस मुख्य कारण बनेको छ । सरकारमा जाने मन्त्रीहरुको टुंगो कांग्रेसले लगाउन नसक्दा सरकारले पूर्णता पाउन नसकेको सरकारका प्रवक्तासमेत रहेका आन्तरिक मामिला तथा कानुनमन्त्री गंगानारायण श्रेष्ठले बताए । श्रेष्ठले कांग्रेसले मन्त्रीहरुको नाम दिएको एक घण्टामा मन्त्रिपरिषद् विस्तार गर्न तयार रहेको जानकारी दिए ।
‘सरकार विस्तार हामीबाट रोकिएकै होइन । तपाईंहरुले बुझिरहनु भएकै छ । कांग्रेसले मन्त्रीहरुको नाम पठाएको १ घण्टामा हामी मन्त्रिपरिषद्मा लैजान्छौं’, उनले भने । कांग्रेस बागमती प्रदेश संसदीय दलका नेतासमेत रहेका आर्थिक मामिला तथा योजनामन्त्री बहादुरसिंह लामा भने पत्रकारहरुसँग तर्किएर हिँडिरहेका छन् । प्रश्नको घेराबाट पन्छिँदै हिँडिरहेका लामाले फोन उठाएनन् । कांग्रेस बागमती प्रदेश संसदीय दलका उपनेता रामकृष्ण चित्रकारले सरकार विस्तारमा पार्टीको भूमिका बारे लामासँग कुरा गर्न आग्रह गरे । ‘मलाई केही थाहा छैन ।
पार्टीको कुरा लामा जीसँग सोध्नुहोला’, चित्रकारले भने ।कांग्रेसभित्र सरकारमा सहभागी हुने विषयलाई लिएर चर्को विवाद निम्तिएको छ । गठबन्धन दलबीच मन्त्रालय भागबण्डा लागेको भन्दा बढी कांग्रेसबाट मन्त्रीको आकांक्षी देखिएपछि लामाले विवाद समाधान गर्न नसकेको कांग्रेसका सांसद्हरुको आरोप छ । लामाले विवाद मिलाउन नसकेपछि सांसद् तीर्थ लामालाई लिएर सरकारमा सहभागी भएका थिए । हाल सरकारमा कांग्रेसबाट लामाद्वय मात्रै छन् । पार्टीभित्र आकांक्षीहरुको व्यवस्थापन गर्न नसकेपछि उनै लामा २६ चैतमा सरकारको अर्थमन्त्री बनिसके । उनले तीर्थ लामालाई पनि आफूसँगै खानेपानी, ऊर्जा र सिँचाइमन्त्री बनाएका हुन् ।
६ वटा मन्त्रालयमा गठबन्धनमा सहमति पनि हुन नसक्नु र पार्टीभित्रकै विवाद मिलाउन नसक्दा लामालाई चुनौती थपिएको छ । मुख्यमन्त्री जम्कट्टेल कांग्रेसलाई कुर्दै बसेका छन् । गठबन्धनको ठूलो दल कांग्रेसले ६ वटा मन्त्रालयमा अडान राख्दै आएको थियो । कांग्रेसको अडानमा मुख्यमन्त्री सकारात्मक नभएपछि भागबण्डा पनि टुंगिन सकेको छैन । भागबण्डा नटुगिँदा गठबन्धनकै नेकपा (एकीकृत समाजवादी) पनि सरकारमा गएको छैन । ११ सदस्यीय मन्त्रिपरिषद्मा ६ जना मात्रै मन्त्रीहरु छन् । जसमध्ये मुख्यमन्त्रीसहित चारवटा मन्त्रालय माओवादीका र दुईवटा मन्त्रालय नेपाली कांग्रेसले सम्हाल्दै आइरहेको छ । बाँकी पाँचवटा मन्त्रालयमा भागवण्डा नमिल्दा सरकार विस्तार अनिश्चित बन्दै गइरहेको हो ।
केन्द्रको राजनीतिक सत्ता गठबन्धनअनुसार बागमतीमा कांग्रेस, माओवादी र एकीकृत समाजवादी गरी तीन दलको नेतृत्वको सरकार छ । अघिल्लो गठबन्धनमा पनि राप्रपा, एमाले र माओवादी मिलेर सरकार बनाउँदा त्यति चुनौती खेप्न नपरेका मुख्यमन्त्रीलाई कांग्रेस नेतृत्वको गठबन्धनले भने सकसमा पारेको छ । गठबन्धन सरकारमा मन्त्रिपरिषद् विस्तार गर्न जोसुकै सरकार प्रमुखलाई पनि समस्या देखिने गर्छ । बागमतीका निवर्तमान मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेले गठबन्धनमा भागवण्डा मिलाउन आठवटा मन्त्रालयलाई १४ वटासम्म बनाएका थिए । तर, जम्कट्टेलले ११ वटा मन्त्रालय बनाए ।
बागमतीमा हाल स्वास्थ्य मन्त्रालय, कृषि तथा पशुपन्छी विकास मन्त्रालय, श्रम रोेजगार तथा यातायात मन्त्रालय, वन तथा वातावरण मन्त्रालय र संस्कृति पर्यटन तथा सहकारी मन्त्रालय रिक्त छ । जसमा कांग्रेस र एकीकृत समाजवादीबाट मन्त्री नियुक्त हुनेछन् । बागमती प्रदेशसभामा कुल सातवटा दलको प्रतिनिधित्व छ । प्रदेशसभामा नेपाली कांग्रेसको ३७, एमालेको २७, माओवादीको २१, राप्रपाको १३, एकीकृत समाजवादीको ७, नेमकिपाको ३ र हाम्रो नेपाली पार्टीको २ मत छ ।







