पञ्चवर्षीय विराट महायज्ञको तयारी तीव्र

साझाकुरा
२०८० बैशाख १७, आईतवार ०९:३७

हेटौंडा- हेटौंडामा पाँच वर्षपछि नयाँ वर्ष पञ्चवर्षीय विराट ज्ञान महायज्ञ–२०८० को तयारी तीव्र पारिएको छ ।प्रत्येक पाँच वर्षमा आयोजना हुँदै आएको महायज्ञ वैशाख २० गतेदेखि सुरु हुँदैछ । हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति प्रा·णमा शनिबार पत्रकार सम्मेलन गर्दै नयाँ वर्ष शुभकामना पञ्च वर्षीय विराट महायज्ञ अन्तर्गत् २०८० श्री गोरक्षेश्वर क्षेत्र विकास समितिका
संरक्षक अजेयराज सुमार्गीले महायज्ञको तयारी अन्तिम चरणमा पुगेको जानकारी दिए । २०६० देखि सुरु महायज्ञ २०६५, २०७०, २०७५ हुँदै पाँचौं संस्करण आयोजना हुन लागेको हो । यसअघि १ वैशाख २०८० बाट महायज्ञ गर्ने तयारी रहेकोमा बृहष्पति अस्थ भएका कारण मिति धकेलिएको सुमार्गीले जानकारी दिए ।

महायज्ञ अनन्तश्रीविभुषित स्वामी कमलनयनाचार्यको प्रमुख संरक्षकत्व र वैदिक दर्शनका व्याख्याता अग्निहोत्री डा. सीताराम खनालको अभिभावकत्वमा सञ्चालन हुनेछ । महायज्ञमा करपात्री स्वामी कृष्ण प्रपन्नाचार्यबाट भक्तिसंगीतमय श्रीमद्भागवत कथा प्रवचन हुने जनाएको छ । महायज्ञमा विभिन्न धर्म संस्कृतिका आचार्य गुरु, सामाजिक व्यक्तित्व, एनआरएनसँग सम्बन्धित राष्ट्रिय÷अन्तर्राष्ट्रिय व्यक्तित्व, समाजसेवी, बुद्धिजीवी, प्राध्यापक, शिक्षक, उद्योगपति, व्यवसायीलगायत नेपालका अन्य जिल्लाबाट समेत विशिष्ट व्यक्तिहरुको सामुहिक उपस्थिति रहने समितिका अध्यक्ष सुमार्गीले बताए । सुमार्गीले पछिल्लो चरणमा धर्म संस्कृति र परम्परा लोपोन्मुख भएको हुँदा त्यसलाई जोगाउन महायज्ञले महत्वपूर्ण भूमिका खेल्ने बताए ।

उनले यस महायज्ञमा लिने भन्दा पनि दिने महायज्ञ भएको हुँदा सबैले आ–आफूले खुला मनले महायज्ञमा सहभागी हुन आग्रह गरे । सुमार्गीले हाल देशको व्यावसायिक अवस्था र अर्थतन्त्रमा परेको प्रभावको तल्लो तहसम्म परेको प्रभावले महायज्ञ सफल बनाउन चुनौती पनि भएको भन्दै चुनौतीको सामना गर्न पनि आफू तयार भएको बताए । महायज्ञमा आउने सबै जनालाई दक्षिणासमेत दिने उनले बताएका छन् । सुमार्गीको अध्यक्षतामा पाँचसय ५१ सदस्यीय नयाँ वर्ष शुभकामना विराट ज्ञान महायज्ञ–२०८० मूल आयोजक समिति गठन गरेर काम भइरहेको हो ।

हेटौंडा–१० गोरक्षेश्वर क्षेत्र विकास समिति परिसरमा २६ वैशाखसम्म हुने महायज्ञअन्तर्गत् वैशाख २० गते बिहान ७ बजे शंख, घण्ट, खैजडी भजन, डाण्गिया नृत्य, झाँकीसहित अभूतपूर्व अलौकिक शान्तिशोभा कलशयात्रा, १० बजे समुद्घाटन, १२ बजे सामुहिक भोजन, १ बजेदेखि ४ बजेसम्म भक्ति संगीतमय भागवत कथा प्रवचन, ४ बजेदेखि ५ बजेसम्म वैदिक प्रवचन, महाआरती र भजन कीर्तन हुने आयोजकले जानकारी दिएको छ । महायज्ञको अन्तिम दिन २६ वैशाखमा बिहान ७ बजेबाट कथावाचन, ११ बजे तिलार्चना, पूर्णाहूति, समापन कार्यक्रम, पुरस्कार वितरण सामुहिक भोजनसहित विदाई कार्यक्रम हुने आयोजक समितिका महासचिव ह्यग्रीव आचार्यले जानकारी दिए । यसवर्ष २५ हजार नारीहरुलाई एकै प्रकारको साडी वितरण गरेर कलशयात्रा गरिने जनाइएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*