वडा अध्यक्षकै घरबाट गाँजा बरामद, एकाघरका तीन जना पक्राउ

साझाकुरा
२०८० बैशाख १९, मंगलवार १०:०५

हेटौंडा- विशेषतः मकवानपुरको राक्सिराङ र कैलाश गाउँपालिकामा व्यावसायिक रुपमै अवैध गाँजा तथा अफिम खेती हुने गरेको छ ।कानुनले बर्जित गरेको गाँजा खेती नियन्त्रणमा जनप्रतिनिधिदेखि सरोकारवालाले चासो नदिँदा राक्सिराङ र कैलाशका धेरै युवा तथा बृद्धहरु भीमफेदीलगायत कारागारमा कैद भुक्तान गरिरहेका छन् । तरकारी खेती गर्नुपर्ने बारीका पाटामा मकैभित्र लुकाएर लगाइने गाँजा खेतीले धेरैको परिवार नै उझाडिएको घटना जिल्लामा छन् ।अवैध गाँजा खेतीलाई निरुत्साहित गर्नुपर्नेमा मकवानपुरमा निर्वाचनका बखत गाँजा खेतीलाई कानुनी मान्यता दिलाउने आश्वासनले सोझासाझा नागरिकहरु जेलको हावा खान विवश छन् । तस्करी र माफियाहरुको बनावटी जालसाझीमा परी गाँजा खेती र ओसारपसारमा राक्सिराङ र कैलाशका धेरै सोझासाझा युवा तथा बृद्धहरु जेल जीवन
बताइरहेको घटना नयाँ भने हैन ।

तर, मकवानपुरमा जनतालाई गाँजा खेती र ओसारपसारमा नलाग्न सचेतना फैलाउनुपर्ने जिम्मेवार तहका वडा अध्यक्ष नै गाँजा कारोबारको आरोपमा पक्राउ परेका छन् । जिल्लाको उत्तरी क्षेत्रस्थित थाहा नगरपालिका–७ का वडा अध्यक्ष शिवराज थिङ सोमबार गाँजासहित घरबाटै पक्राउ परे । शिवराजसहित एकाघरका तीन जना पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय मकवानपुरले दिएको जानकारीअनुसार वडाध्यक्ष थिङसहित भीमलाल थिङ र इन्द्रबहादुर थिङ पक्राउ परेका छन् । तीनै जना एउटै परिवारको रहेको खुलेको छ । भीमलाल वडाध्यक्ष शिवराजको बाबु हुन् भने इन्द्रबहादुर नातामा काका पर्छन् । थाहा–७, आग्रा घर भएका वडाध्यक्ष शिवराम ३९ वर्षका हुन् भने उनका बाबु ७६ र काका इन्द्रबहादुर ६७ वर्षका भए ।

शिवराज गत ३० वैशाखमा भएको स्थानीय तह निर्वाचनमा नेपाली कांग्रेसबाट वडा अध्यक्षमा निर्वाचित भएका हुन् । उनले नेकपा माओवादी केन्द्रका बिनायक गोलेलाई झिनो मतान्तरले पराजित गरेका थिए । १२ मतान्तरले मात्रै वडाध्यक्ष बनेका उनले नौ सय १६ मत पाउँदा बिनायकले नौ सय ४ मत ल्याएका थिए । सोमबार बिहान ८ बजेको समयमा लागूऔषध नियन्त्रण ब्युरो कोटेश्वर काठमाडौंबाट खटिएको प्रहरी टोली र जिल्ला प्रहरी कार्यालयबाट प्रहरी नायव निरीक्षक उमेशप्रसाद कोइरीको कमान्डमा खटिएको संयुक्त टोलीले शिवराजको घरबाट र इन्द्रबहादुरको घरबाट
गरेर २ सय २ किलो लागूऔषध गाँजा र धुलो बरामद गरेको हो ।

जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले उनीहरुलाई पालुङ ईलाका प्रहरी कार्यालयमा ल्याएर राखिएको जानकारी दिए । घरमा लागूऔषध गाँजा बिक्री वितरण गर्ने उद्देश्यले लुकाएर राखेको अवस्थामा प्रहरी टोलीले बरामद गरेको डीएसपी कार्कीले जानकारी दिए । शिवराजको घरबाट ३० वटा पोकामा २७ किलोग्राम गाँजाको धुलो र ईन्द्रबहादुरको घरबाट १० वटा बोरामा एकसय ७५ किलो लागूऔषध गाँजा गरी कूल दुईसय २ किलो लागूऔषध गाँजा तथा धुलो फेला पारिएको कार्कीले बताए ।

कोरोना कहरको मौकामा मकवानपुरको दुर्गम बस्तीहरुमा गाँजा खेती बढ्दै गएको थियो । गाउँका व्यापारी एवम् तस्करहरुको उक्साहट र लगानीमा जिल्लाका पश्चिमी क्षेत्रमा पर्ने राक्सिराङ र कैलाश गाउँपालिकाका अधिकांश भागमा गाँजा रोप्ने क्रम कोरोना कहरमा बढेको हो । त्यसयता स्थानीयले गाँजा खेतीलाई नरोकेको जानकारी प्रहरी कार्यालयसँग छ । कोरोना कहरपछि मात्रै प्रहरीले पटक–पटक गाँजा तथा अफिम खेती फँडानी गर्दै आइरहेको डीएसपी कार्की बताउँछन् । उनले चालू आर्थिक वर्ष २०७९÷०८० को चैत मसान्तसम्म मात्रै लागूऔषध मुद्दामा पक्राउ परेकामध्ये ७० प्रतिशत राक्सिराङ, कैलाश र हेटौंडा उपमहानगरका हुने गरेको जानकारी दिए । प्रहरी हिरासतमा रहेका ५९ जनामध्ये ६० प्रतिशत लागूऔषध ओसारपसारका आरोपित छन् ।

२०७४ मा स्थानीय तह निर्वाचन भएपछि प्रहरी प्रशासन र स्थानीय जनप्रतिनिधिहरुको संयुक्त प्रयासमा मकवानपुरमा गाँजा खेतीलाई न्युनिकरण गर्दै लगिएको थियो । कैलाश र राक्सिराङका जनप्रतिनिधिहरुले पालिकालाई गाँजामुक्त क्षेत्र बनाउन विभिन्न किसिमका विकास निर्माणका काम र गाँजा खेती नगर्नका लागि दबाबमूलक अभियान पनि चलाएका थिए । स्थानीय प्रशासनले गाँजा र अफिमका बोटहरु फाँड्नका लागि पटक–पटक प्रहरी परिचालन पनि गरेको थियो । जसकारण विगत वर्षमा गाँजा र अफिम खेती गर्ने र गर्न लगाउनेहरु निरुत्साहित भएका थिए । तर, कोरोनाका कारणले सबै खाले मानिसहरु घर÷घरमा थन्किनुको साथै आर्यआर्जन अवरुद्ध भएकाले आम्दानीको निम्ति गाँजा खेती गर्न थालेको बताइन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*