अभिभावक शिक्षा कार्यक्रम
हेटौंडा- हेटौंडा उपमहानगरपालिका–६, स्थित चौघडा सामुदायिक सिकाई केन्द्रको आयोजनामा अभिभावक शिक्षा कार्यक्रम भएको छ । हेटौंडा उपमहानगरपालिका शिक्षा महाशाखाको सहयोगमा सोमबार अभिभावक शिक्षा कार्यक्रमको आयोजना भएको हो । कार्यक्रमका सहभागी अभिभावकहरुले विद्यालयमा सरसफाई, स्वास्थ्यको व्यवस्था राम्रो हुन नसकेको खानेपानी र खाजाको व्यवस्था सोचेअनुसार नभएको गुनासो गरे । कार्यक्रममा वंशगोपाल माध्यमिक विद्यालयका शिक्षक रविन्द्रकुमार गौतमले सहजीकरण गरेका थिए ।
घर विद्यार्थीको पहिलो पाठशाला भएकाले विद्यार्थीहरुले घरबाटै राम्रो संस्कार सिक्नुपर्ने, अभिभावकले आफ्ना छोराछोरीहरु विद्यालय गए÷नगएको निगरानी गर्नुपर्ने, शिक्षकसँग निरन्तर परामर्श गर्नुपर्ने, विद्यार्थीको रुची अनुसारको काममा सहयोग गर्नुपर्नेलगायत विषय उठेका छन् ।६ नम्बर वडाका वडा सदस्य लेखराज ढकालको प्रमुख आतिथ्यता तथा चौघडा सामुदायिक सिकाई केन्द्रका अध्यक्ष श्रीराम पुडासैनीको सभाध्यक्षतामा कार्यक्रम भएको हो ।
कार्यक्रममा वंशगोपाल माध्यमिक विद्यालयका प्राचार्य रमेश प्रसाद लामिछाने, नवजीवन ज्योति क्लबका अध्यक्ष राजकुमार बास्तोला, वंशगोपाल माध्यमिक विद्यालय व्यवस्थापन समिति सदस्य अमुना सापकोटा, सिकाई केन्द्रकी सहजकर्ता नानीमाया रुम्बा, अभिभावक लगायतको उपस्थिति थियो । सिकाई केन्द्रले २०७१ सालदेखि हेटौंडा उपमहानगरपालिकाको सहयोगमा अभिभावक शिक्षा कार्यक्रम गर्दै आएको छ ।







