हेटौंडामा बालश्रमिक ६३ जना, तथ्यांकमा छुट्यो की घट्यो ?

साझाकुरा
२०८० बैशाख २०, बुधबार १३:३०

हेटौंडा- जिल्लाका १० वटा स्थानीय तहमध्ये सबैभन्दा धेरै बालश्रमिक हेटौंडामा भेटिन्छन् । ठूलो सहरी क्षेत्र भएकाले पनि बालश्रम बढी हेटौंडामा हुने गरेको विगतकै अध्ययनले देखाउँछ ।बालश्रम व्याप्त रहेको हेटौंडा उपमहानगरपालिकाले आगामी मंसिरमा बालमैत्री स्थानीय शासन अबलम्बन गरेको स्थानीय तहको रुपमा घोषणा गर्ने तयारी गरेको छ । बालमैत्री उपमहानगरको सूचिमा पर्ने तयारी गरेको हेटौंडाले टोलटोलमा र विद्यालयसम्म बालमैत्री अभियान पु¥याउनेदेखि बजार क्षेत्रमा देखिएको बालश्रम समस्या समाधानमा जोडका साथ काम गरिरहेको छ । बालमैत्री घोषणा पूर्व काम गर्नुपर्ने ५१ वटा सूचकमध्ये बालश्रम तथा बालविवाह उपमहानगरलाई टाउको दुखाई बनिरहेको छ ।

बजारका होटल, रेष्टुरेन्ट, वर्कशपलगायतका व्यवसायिक क्षेत्रमा धेरै बालश्रमिक छन् । उपमहानगरपालिकाको महिला तथा बालबालिका विकास महाशाखाले बालमैत्री अभियानकै क्रममा नगर क्षेत्रभित्र ६३ जना बालबालिका श्रममा रहेको प्रारम्भिक तथ्यांक निकालेको छ । १९ वटै वडा कार्यालयको समन्वय लिइएको बालश्रमिकहरुको तथ्यांकप्रति भने कतिपयले आशंका व्यक्त गरेका छन् । बालबालिकाको क्षेत्रमा काम गर्दै आइरहेको सिविन बालहेल्पलाईन नेपाल मकवानपुरका संयोजक झविन्द्र ज्ञवालीले बालश्रमिक १ सयको हाराहारीमा हुनुपर्ने बताए । उपमहानगरले प्रारिम्भक तथ्यांकअनुसार ६३ जना मात्रै बालश्रमिक भेटिए पनि अध्ययन जारी राख्ने भएको छ ।

उपमहानगरपालिकाले सिविन नेपालसँगको समन्वयमा तथ्यांक संकलनदेखि बालश्रमिकको उद्दारको काम गरिरहेको छ । ज्ञवालीले हाल अध्ययन गर्दा ६३ जना मात्रै बालश्रमिक भेटिएको र १ सय जनाको हाराहारीमा हुनुपर्ने बताए । उनकाअनुसार विगतमा पनि हाल बालश्रम घटेको जानकारी दिए । ‘हेटौंडामा पहिला जस्तो बालश्रम धेरै छैन् । अहिले घटेको पाइन्छ । तर, बालश्रमिकको तथ्यांक १ सयको हाराहारीमा हुनुपर्छ । थप अध्ययन पनि हुँदैछ ।’, ज्ञवालीले भने । हेटौंडा उपमहानगरपालिकामा रहेका बालश्रमिकहरुको प्रारम्भिक तथ्यांक अनुसार ६३ जना बालबालिका श्रममा रहेको पाइएको हो ।

पहिलो चरण १९ वटै वडामा प्रारम्भिक तथ्यांक संकलन गर्दा ६३ जना बालबालिकामा श्रममा भेटिएको उपमहानगरपालिको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले जानकारी दिइन् । सबैभन्दा बढी बालश्रमिक वडा नम्बर ४ मा ९ जना रहेका छन् । ४ नम्बर वडाभित्र होटल तथा रेष्टुरेन्ट र वर्कशप पनि धेरै रहेका छन् । सरोकारवालाहरुको भनाईअनुसार ४ नम्बर वडामा ९ मात्र नभई धेरै बालश्रमिक हुनुपर्ने हो । उपमहानगरको प्रारम्भिक तथ्यांक अनुसार वडा नम्बर–६, १२ र १६ मा भने बालश्रमिक नभेटिएको प्रमुख लामिछानेले जानकारी दिइन् । बालश्रमिकहरुमा बालक ५५ जना र बालिका ८ जना रहेको उनको भनाई छ ।

कानुनतः १८ वर्षमूनिका बालबालिकालाई श्रममा लगाउन पाइँदैन् । तर, हेटौंडाका होटल तथा वर्कशपहरुले कानुनको धज्जी उडाउँदै बालश्रम प्रयोग गर्दै आइरहेका छन् । विगतमा उपमहानगरबाट बालश्रम नियन्त्रणका लागि धेरै पटक अनुगमन भएपनि प्रभावकारी कारबाही हुन नसक्दा बालश्रम हट्न सकेको थिएन् । बालश्रमिकलाई उद्दार गर्ने र बालबालिकलाई श्रममा लगाउनेलाई कडा कारबाही नहुँदा परिवारमा पुनःस्थापित भएका बालबालिकाहरु फेरि श्रम बजारमै पुग्ने गरेका थिए । विगतमा सरकारी निकायले बालश्रम नियन्त्रण अभियानलाई कर्मकाण्डी मात्रै बनाउँदा बालबालिकाहरु श्रममा आउने बाध्यता थियो ।

उपमहानगरको प्रारम्भिक तथ्यांकअनुसार ६३ जना बालश्रमिकमा १७ वर्षका १४ जना, १६ वर्षका १३ जना, १५ वर्षका १५ जना, १४ वर्षका १३ जना, १३ वर्षका ५ जना र १२ वर्षका ३ जना छन् । उनीहरुमध्ये मकवानपुरका ३३ जना, बाहिर जिल्ला २२ र छिमेकी राष्ट्र भारतका ७ जना र एक जनाका विवरण नखुलेको बालश्रमिकहरु भेटिएको महिला तथा बालबालिका विकास महाशाखा प्रमुख लामिछानेले जानकारी दिएकी छन् । तथ्यांकअनुसार मोटर ग्यारेज वर्कशपमा काम गर्ने बालश्रमिकहरु २२ जना, रेष्टुरेन्ट, होटल र ब्याङ्कटेस १२, यातायात क्षेत्रमा १२, निर्माण ढुवानीमा ७ जना, घरायसी काममा तीन जना, कवाडी र फ्याक्ट्रीमा २÷२ जना र अन्यमा ३ जना रहेको पाइएको छ ।

तथ्यांक संकलनको क्रममा बालश्रमिकहरुमध्ये ५२ जनाले हाल गरिरहेको कामलाई नै भविष्यको योजना बनाएका छन् भने ६ जनाले पढ्न चाहेको र ५ जनाले सीप सिक्न चाहेको बताएका थिए । उनीहरुमध्ये २८ जनाले कमाएको पैसा घरमा पठाउने गरेको, १६ जनाले पारिश्रमिक नपाउने र गरेको, ९ जनाले आफुलाई मात्र खर्च गर्ने गरेको, ९ जनाले कमाइएको प्रयोग नखुलाएको र एक जनाले धुम्रपान÷मद्यपानमा खर्चने गरेको जनाएको छ ।

तथ्यांकअनुसार बालश्रमिकहरुले काम वापत न्यूनतम खान बस्नदेखि अधिकतम मासिक १५ हजार पारिश्रमिक पाउने गरेको बालबालिका बताउँछन् ।हेटौंडा उपमहानगरले वडावडामा बालसहजकर्ता राखेर बालबालिका सम्बन्धी सुचकहरुमा तथ्यांकहरु संकलन गरिरहेको छ । महाशाखा प्रमुख लामिछानेले आज बुधवारदेखि श्रममा रहेका बालबालिकाहरुको उद्दार गरिने जानकारी दिइन् । महानगरले बालश्रमिकको उद्दार गर्ने र उनीहरुलाई श्रम बजारमा फेरि आउन नदिन उपमहानगरले प्रभावकारी कार्यक्रम ल्याउनुपर्ने देखिन्छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*