भीमफेदीमा मोटरसाइकल दुर्घटना हुँदा दुई जनाको मृत्यु

साझाकुरा
२०८० बैशाख २२, शुक्रबार १३:४८

हेटौंडा- भीमफेदी गाउँपालिका–६ नम्बरवडास्थित जुरिखेतमा मोटरसाइकल दुर्घटना हुँदा २ जनाको मृत्यु भएको छ ।मकवानपुर प्रहरीका अनुसार बुधबार साँझ काठमाडौंबाट हेटौंडातर्फ आउँदै गरेको बागमती प्रदेश ०२०२० प ४२३७ नम्बरको दुई यात्रु सवार रहेको मोटरसाइकल आफैं अनियन्त्रित भएर सडकबाट करिब दुई सय मिटर तल पाखामा खसेको थियो । मोटरसाइकल दुर्घटनामा परी बारा पर्सौनी नगरपालिका वडा ५ बस्ने २५ वर्षीय लालबाबु सहनी मलाहा र सोही स्थान बस्ने २० वर्षीय गोरख भन्ने रबिन्द्र मण्डलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक टेकबहादुर कार्कीले जानकारी दिए ।

दुर्घटनाको खबर प्राप्त भएपछि घटनास्थल पुगेको ईलाका प्रहरी कार्यालय भीमफेदीको टोलीले घाइते लालबाबु सहनीलाई उद्दार गरी बुधबार साँझ साढे ८ बजे नै हेटौंडा अस्पताल ल्याएकोमा उपचारको क्रममा मृत्यु भएको डिएसपी कार्कीले जानकारी दिए । अर्का घाइते रबिन्द्रको शव बिहीवार विहान सवा ७ बजे सडकबाट करिब दुई सय फिट तल मृत अवस्थामा फेला परेको प्रवक्ता कार्कीले जानकारी दिए । मृतक दुवै जनाको शव हेटौंडा अस्पतालमा राखिएको छ । प्रहरीले दुर्घटनाको अनुसन्धान गरेको छ ।

हेटौंडा–काठमाडौं जोड्ने छोटो मार्गअन्तर्गत् भीमफेदी–कुलेखानीको १६ किलोमिटर सडक खण्डमा धेरै दुर्घटना हुने गरेको छ । साँघुरो सडकमा मोडहरु धेरै भएकाले सानादेखि ठूला सवारीसाधन दुर्घटनामा पर्ने गरेका हुन् । हेटौंडा–काठमाडौं आवतजावत गर्न ठूलो संख्यामा टाटासुमो चल्ने भएकाले पनि मोटरसाइकललगायतका साना सवारीलाई छोटो मार्गको यात्रा जोखिम छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*