मकवानपुरमा मनाइयो २५६७ औं बुद्ध जयन्ती
हेटौंडा- मकवानपुरमा विभिन्न कार्यक्रम गरी २५६७ औं बुद्ध जयन्ती मनाइएको छ । शान्तिका अग्रदूतका रुपमा विश्वमा परिचित सिद्धार्थ गौतम (बुद्ध)को २५६७ औं जयन्ती शुक्रबार मनाइएको हो ।
प्रत्येक वर्ष वैशाख शुक्ल पूर्णिमाका दिन बुद्ध जयन्ती मनाइन्छ । सिद्धार्थ गौतमले विश्व शान्ति स्थापनाका लागि पु¥याएको योगदानको स्मरणस्वरुप यो पर्व मनाउने गरिएको हो । बुद्धको जन्म, ज्ञान प्राप्ति, महापरिनिर्वाण (मुत्यु) वैशाख शुक्ल पूर्णिमाकै तिथिमा परेकाले यस दिन नेपाललगायत विश्वका बौद्ध धर्मावलम्बीले बुद्धप्रति भावपूर्ण श्रद्धा र भक्तिले बुद्ध जयन्ती मनाउने गर्दछन् ।
‘अहिंसा नै शान्ति र मैत्रीको आधारशिला हो’, यस्ता अनेकौं कालजयी सन्देशका वाहक भगवान् गौतम बुद्धको २५६७ औँ जयन्ती शान्तिको कामना गर्दै आज देशभर मनाउन लागिएको हो । याङ्ला तामाङ समाज मकवानपुरले २५६७ औं बुद्ध जयन्तीको अवसरमा हेटौंडाको बुद्धचोकमा दीप प्रज्वलन गरेको छ । कार्यक्रममा विष्णुहरि वाइवा, कानुन व्यावसायी तथा समाजका अध्यक्ष आत्माराम मुक्तान, युवा अभियन्ता दिनेश लामा वाइबालगायतले शुभकामना व्यक्त गरेका थिए । जिल्लाका विभिन्न बौद्ध गुम्बाहरुमा विविध कार्यक्रम गरी मनाइएको छ ।







