हेटौंडा क्याम्पस ‘क्युएए’ मान्यता नजिक

साझाकुरा
२०८० बैशाख २४, आईतवार १५:४५

हेटौंडा- हेटौंडा क्याम्पस, हेटौंडामा विश्वविद्यालय अनुदान आयोगको समिक्षा टोलीले ५ दिने अभिमूखीकरण गरेको छ । टोली संयोजक प्रा.डा. सुनीति हाडा, विज्ञ प्रा.डा. विनोद लुइँटेल, विज्ञ (त्रिवि पत्रकारिता बिभाग प्रमुख) प्रा.डा. चिरञ्जीवी खनाल, विश्वविद्यालय अनुदान आयोगका सचिवालय सदस्य संविदा पाठकले मूल्यांकन एबम् अभिमुखीकरण गरेका हुन् ।क्याम्पस संचालक समिति अध्यक्ष आनन्दराम पराजुलीको सभाध्यक्षतामा शनिबार क्याम्पसमा भएको समापन कार्यक्रममा क्यूएए मान्यता नपाएका कलेजको उत्पादनले अन्तराष्ट्रिय जगतमा प्रतिष्पर्धा गर्न अयोग्य हुने बताइएको छ । अध्यक्ष पराजुलीले भने–अब हामी केही दिनमा ‘क्यूएए’ प्रमाणित क्याम्पसको रुपमा परिचित हुँदैछौँ ।

गुणस्तर सुनिश्चितता तथा प्रत्यायान (क्युएए) मान्यता पाएका कलेजबाट उत्पादित विद्यार्थीले जुनसुकै क्षेत्रमा प्रतिष्पर्धा गर्न सक्ने भएकाले पनि यो जरुरी रहेको अध्यक्ष पराजुलीले बताए । विश्वविद्यालय अनुदान आयोग (युजिसी) ले निर्धारण गरेको मापदण्ड पूरा गर्ने विषयमा क्याम्पस संचालक समिति प्रतिबद्ध रहेको पनि पराजुलीले बताए ।२०४७ सालमा शिक्षा संकायको अध्यापन गराउने गरी स्थापित हेटौंडा क्याम्पसमा क्युएए मान्यताका लागि कलेजका प्राध्यापकहरुले बिभिन्न समितिहरु निर्माण गरी मापदण्ड पूरा गर्ने अभियानमा लागेर आज यो स्थानमा आइपुग्न सफल भएको क्यापसप्रमुख देवचन्द्र मानन्धरले बताए ।

कलेजको संगठन, संगठनको नीति, पाठ्यक्रम, शिक्षण प्रक्रिया, शिक्षकहरुको अनुसन्धानसम्बन्धी क्रियाकपाल, पर्याप्त पूर्वाधार संरचना, कलेजले विद्यार्थीलाई गर्ने सहयोग, अभिभावक र सर्वसाधारणमा गरिने सूचना प्रवाहलगायतका आधारक्षेत्र पूरा गर्ने क्रममा हेटौंडा क्याम्पसले काम गरिरहेको प्रमुख मानन्धरले जानकारी दिएका छन् ।

बिज्ञटोलीका सदस्य त्रिवि पत्रकारिता बिभाग प्रमुख प्रा.डा. खनालले क्यूएए मान्यता प्राप्त गर्नु गन्तब्य नभइ यात्रा मात्र भएको बताए । ‘यो डेस्टिनेसन होइन, केवल जर्नी मात्र हो’ प्राडा खनालले भने । स्थानीय अभिभावक, विद्यार्थी, कलेजका प्राध्यापक, संचालक समितिका पदाधिकारी सहभागी कार्यक्रममा हालसम्मको उपलब्धी र आगामी दिनमा गर्नुपर्ने कार्यका बारेमा छलफल गरिएको थियो । कार्यक्रममा बिज्ञटोली सदस्य प्राडा लुईटेलले अबका दिनमा अवसर र चुनौती दुबै साथमा रहेको बताएका थिए ।

मकवानपुरको उच्च शिक्षा आर्जन गर्ने शैक्षिक संस्थामा क्यूएए पाउने पहिलो निजी शैक्षिक संस्था हेटौंडा स्कूल अफ म्यानेजमेन्ट हो । समग्रमा भने क्युएए मान्यता पाउने म्यानेजमेन्ट दोस्रो हो । यसअघि नै देशका ठूला सामुदायिक क्याम्पसमध्ये एक मकवानपुर बहुमुखी क्याम्पसलाई विश्वविद्यालय अनुदान आयोगले गुणस्तर सुनिश्चितता तथा प्रत्यायानको मान्यता दिएको थियो ।

यसमा तपाइको मत

Your email address will not be published.


*