पूर्वप्रम डा.बाबुरामले भने, ‘२५ मिटर सडक विस्तार अनिवार्य

साझाकुरा
२०८० बैशाख २५, सोमबार ११:४४

हेटौंडा- नेपाल समाजवादी पार्टीका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले हेटौंडाको मुख्य सडक दायाँबायाँ २५–२५ मिटर विस्तार अनिवार्य भएको बताएका छन् । आइतबार हेटौंडा आएका भट्टराईले पत्रकारहरुसँग कुरा गर्दै बागमती प्रदेशको राजधानी भएकाले बजारको मुख्य सडक साँघुरो भएको र मापदण्डअनुरुप विस्तार गर्नुपर्ने बताएका हुन् । भट्टराई प्रधानमन्त्री भएका बेला काठमाडौंमा सडक विस्तार गरेकाले उनको हाल पनि चर्चा भइरहन्छ । काठमाडौं जस्तो साँघुरो बस्तीमा सडक अतिक्रमण गरी बनाइएको घर तथा टहराका संरचना भत्काएर उनले सडक विस्तार गरेपछि कोटेश्वरदेखि ललितपुरको सातदोबाटो हुँदै कलंकीसम्म फराकिलो सडक बनेको छ । जनघनत्व निरन्तर वृद्धि भएसँगै सडक मापदण्ड अनुसार विस्तार हुनुपर्नेमा उनले
धारणा राख्दै आएका छन् ।

‘२५–२५ मिटर सडक विस्तार मापदण्ड अनुरुप नै हुनुपर्छ । बागमती प्रदेशको राजधानीसमेत रहेको हेटौंडामा सडक विस्तार अनिवार्य भएको छ,’ उनले भने । डा. भट्टराईले सडक विस्तारका लागि कसैले पनि कुनै बाधा अवरोध नगरी सरकारलाई सहयोग गर्नुपर्नेमा जोड दिए । हेटौंडामा विगत दुई दशकदेखि सडक विस्तारको चर्चा सुरु भएता पनि हालसम्म कार्यान्वयन हुन सकेको छैन । हाल हेटौंडा उपमहानगरकी मेयर मीनाकुमारी लामा सडक विस्तार कुनै हालतमा गर्नुपर्ने अडानका साथ लागिपरेकाले यस विषयले फेरि चर्चा पाएको छ । लामाले बजार क्षेत्रको मुख्य सडक दायाँबायाँ २५–२५ मिटर विस्तारका लागि हाल अतिक्रमित संरचना हटाउने र फुटपाथ व्यवस्थापन गर्ने कार्य भइरहेको बताएकी छन् ।

पूर्व प्रधानमन्त्री डा. भट्टराईले नेपालमा हाल सुरु भएको नक्कली भुटानी शरणार्थीका दोषीहरुलाई कानुनी कारबाही गर्नबाट रोक्न नहुने भन्दै उनले भ्रष्टाचारको सबालमा सरकार कमजोर बन्न नहुने धारणा व्यक्त गरेका छन् । उनले आफूमाथि लाग्ने गरेको ललिता निवास जग्गा प्रकरणको छानबीन आफैंबाट सुरु गर्न सरकारलाई अनुरोध गरे । भ्रष्टाचारको विषयमा आफू कठोर रहेको भन्दै आफूमाथि लाग्ने गरेको आरोप पुष्टि नहुने दाबी छ ।

नेपालमा निरन्तर भइरहेको सत्ता परिवर्तनको खेलको कारण जनातामा निराशा छाएको उनको भनाई छ । नेता भट्टराईले प्रत्यक्ष निर्वाचित प्रधानमन्त्रीसहितको व्यवस्था आवश्यक भएको उल्लेख गरे । अहिलेको शासकीय व्यवस्थाले कुनै दलको बहुमत नआउने हुँदा वर्तमान शासकीय व्यवस्थालाई परिवर्तन गरेर स्थायी सरकार निर्माण गरी देशलाई समृद्ध बनाउनुपर्ने समय आएको बताए ।
उनले केन्द्रमा सत्ता परिवर्तन हुँदा प्रदेश सरकार पनि परिवर्तन हुन नपर्ने भन्दै प्रदेशलाई स्वायत्त भएर काम गर्न दिए मात्र संघीयताको अनुभूति हुने बताए । नेपालको परिवर्तमा उल्लेख्य भूमिका खेलेका दलहरुले अब जनजीविकाको विषयमा काम गर्नुपर्ने भन्दै अहिले केही प्रतिगामी शक्तिहरुले परिवर्तनको विरोधमा भ्रम छर्न थालेको आरोप लगाएका छन् ।

‘सबैभन्दा बढी परनिर्भर अर्थतन्त्रमध्येमा हामी छौं । यो लामो समयदेखिको छ, यसको समाधान गर्नेगरी अब सामान्य टालटुले तरिका होइन केही संरचना सुधार र संस्थागत सुधारका काम गर्नुपर्छ’, उनले भने–‘हाम्रो अर्थतन्त्र जुन निरपेक्ष गरिबी छ हाम्रो आय विश्वको औसतभन्दा १० गुना कम छ । त्यसैले यसको समाधान हामीले आन्तरिक रुपमा पनि बाह्य सम्बन्धमा सुधार गरेर खोज्नुपर्छ भन्ने ढंगले मैले आफ्नो कुरा राखेको छु ।’, आगामी दिनमा देश एउटा डरलाग्दो अध्यारो सुरुङमा प्रवेश गर्ने खतरा हुने उनको भनाई छ ।

भट्टाराईले नेकपा माओवादी केन्द्रसँग पार्टी एकताको विषयमा छलफल भइरहेको बताउँदै हालसम्म टुंगोमा पुगि नसकेको सुनाएका छन् । उनले माओवादी केन्द्रसँग चुनावी तालमेल गरिएको र पार्टी एकता भने हुने–नहुने निक्र्यौल नभएको बताए । ‘हामी वैकल्पिक राजनीतिक शक्ति बन्ने प्रयासमा छौँ । पुराना दलहरु नयाँ एवम् समाजवादी ढंगले अघि बढ्न तयार भएको अवस्थामा पार्टी एकता हुनसक्छ । माओवादी केन्द्रसँग छलफल भइरहेको छ ।’, भट्टराईले भने ।

यसमा तपाइको मत

Your email address will not be published.


*