राष्ट्रपति उत्कृष्ट कृषकबाट ५ जना पुरस्कृत
हेटौंडा- हेटौंडामा आइतबार बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषकबाट ५ जना कृषकहरु पुरस्कृत भएका छन् । रत्ननगर नगरपालिका वडा नम्बर १२ चितवनका बिएण्डबी केरा फार्मका संचालक विष्णुहरि पन्त प्रथम भएका छन् । कृषि निर्देशनालयमा आइतबार भएको एक समारोहकाबीच पन्तलाई ७० हजार नगदसहित पुरस्कृत गरिएको छ । पन्तले २८ विघाहा जग्गामा केरा खेती गरेर वार्षिक पौने दुई करोडको कारोबार गर्दै आइरहेका छन् । प्रदेश सरकारले हरेक वर्ष प्रदेशभरका उत्कृष्ट कृषकहरु पुरस्कृत गर्दै आइरहेको आइरहेको छ । दोस्रो स्थान भने ललितपुरको बागमती गाउँपालिका वडा नम्बर १ मा रहेको जनजीविका कृषि तथा पशु फार्मका सञ्चालक गोविन्द गौतम द्वितीय भएका छन् । उनले नगद ६० हजार नगद सहित सम्मानपत्र प्राप्त गरेका छन् ।
कृषक गौतमले २५ विघाह जमिनमा किबी, जापनीज हलुवावेद र एभोकाडोसँगै विभिन्न जातका तरकारीको खेती गर्दै आएका छन् । चितवनको माडी नगरपालिका वडा नम्बर ६ चितवनमा रहेको
सरोज कृषि फार्मका सञ्चालक सरोज साह तेली तृतीय भएकी छन् । उनले नगद ५० हजारसहित सम्मानपत्र प्राप्त गरेका छन् । कृषक तेलीले १५ विघाह जमिनमा पोखरी बनाएर माछा पालनसँगै खसी बाख्रा पालन गरेर वार्षिक डेढ करोड कारोबार गर्ने गरेका छन् । पनौती नगरपालिका वडा नम्बर २ काभ्रेमा रहेको कुशादेवी कृषि फार्मका सञ्चालक रमेश आचार्य र भरतपुर महानगरपालिका वडा नम्बर १७ चितवनमा रहेको विष्णुदेवी एग्रिकल्चर फार्मका सञ्चालक विष्णुबहादुर विश्वकर्मा सान्त्वना भएका छन् ।
उनीहरुले जनही ४० हजार नगद सहित सम्मानपत्र प्राप्त गरेका छन् । पुरस्कृतहरुलाई सम्मान गर्दै कृषि तथा पशुपंछी मन्त्रालयका सचिव डा.शरणकुमार पाण्डेले कृषकहरुमा पर्ने समस्या समाधानमा सधैं तत्पर रहेको बताए । उनले कृषकहरुलाई प्रोत्साहनका लागि यस पुरस्कार प्रदान गरिएको बताए । बागमती प्रदेश सरकारको प्रादेशिक राष्ट्रपति उत्कृष्ट कृषक पुरस्कार प्राप्त कृषकहरुको छनोट जिल्लागत रुपमा उत्कृष्ट भएका ३६ जना कृषकमध्येबाट छनोट गरिएको मन्त्रालयका सचिव पाण्डेल बताए । पुरस्कृत कृषकले कृषि पेशालाई जोगाई राख्ने हो भने कृषि अनुदानमा वृद्धि गर्नुपर्ने, समयमै मलखादको व्यवस्था गर्नुपर्ने माग राखेका थिए ।







