गरिब परिचयपत्र वितरण गर्दै बागमती
हेटौंडा- जिल्लाको पूर्वी क्षेत्रस्थित बागमती गाउँपालिकाले गरिब परिचयपत्र वितरण गर्दैछ । जिल्लामै पहिलो पटक भूमिहीनलाई लालपूर्जा दिलाएको बागमतीले पहिलो पटक नै गरिब परिचयपत्र वितरण कार्य कार्यान्वयनमा ल्याउन लागेको हो ।संघीयता स्थापना भएसँगै २०७४ सालमा गठित स्थानीय सरकारहरुले सुरुवातदेखि नै भूमिहीनलाई लालपूर्जा प्रदान गर्ने योजना बनाएका थिए । तर, बागमती गाउँपालिकाले जिल्लाका १० स्थानीय तहमध्ये पहिलो पटक लालपूर्जा दिलाएको थियो । अब भने बागमती गाउँपालिकाले आज २५ वैशाखबाट गरिब परिचयपत्र वितरण गर्ने भएको छ । गाउँपालिकाले आइतबार सूचना जारी गर्दै ४ जेठसम्म १ हजार ७ सय ७५ घरपरिवारलाई गरिब परिचयपत्र वितरण गरिने जानकारी दिएको छ ।
गाउँपालिकाको प्रमुख प्रशासकीय अधिकृत झम्कनारायण घलानले भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयद्वारा सञ्चालित गरिब घरपरिवार पहिचान तथा परिचयपत्र वितरण कार्यक्रम–२०७५ अनुसार परिचयपत्र वितरण थालिएको बताए । उनले वास्तविक गरिव घरपरिवार पहिचान तथा प्रारम्भिक सूचि, गुनासो, दर्तालगायत प्रक्रियामार्फत अन्तिम गरिव घरपरिवारको सूचि प्राप्त भएकाहरुलाई मात्र परिचयपत्र वितरण गरिने जानकारी दिए । वडा नम्बर ८ बाट गरिब परिचयपत्र विरतण थालिने भएको छ ।
८ नम्बर वडामा १ सय ८७ परिवारलाई परिचयपत्र वितरण गरिँदैछ । ६ नम्बर वडाका १ सय ५६ परिवार, ७ नम्बर वडाका १ सय २० परिवार, ९ नम्बर वडाका १ सय ५६ परिवार, वडा नम्बर ५ मा २ सय २७ परिवार, ४ नम्बर वडामा २ सय ६ परिवार, १ नम्बर वडामा २ सय १७ परिवार, २ नम्बर वडामा २ सय ७० परिवार र ३ नम्बर वडामा २ सय ३६ परिवारलाई परिचयपत्र वितरण गरिने प्रमुख प्रशासकीय अधिकृत घलानले जानकारी दिएका छन् । गाउँपालिकाले परिचयपत्र लिन गरिब घरपरिवारमा सूचिकृत परिवारको मूलिको सक्कल नागरिकता र २ प्रति फोटो लिएर आफ्नो वडा कार्यालयमा उपस्थित हुन भनिएको छ ।
पालिकाले २०७५ माघ ५ गतेदेखि करिब ६ महिना गरिब घरपरिवार पहिचानका लागि अध्ययन अनुगमन गरेको थियो । परिचयपत्रको आधारमा गरिवले राज्यले प्रदान गर्ने सेवा, सुविधा लिन सक्छन् ।
परिचयपत्रको आधारमा स्वास्थ्य बीमा, छात्रवृत्ति, सीपमूलक, तालिम, खाद्य सुरक्षा, सहकारीमार्फत ऋणको कार्यक्रम प्रस्तावलगायत सुविधा रहनेछ । बागमतीमा विपन्न तथा गरिबका लागि कार्यक्रम सञ्चालन गरे पनि वर्गीकरण नहुँदा ती समुदायका लागि सञ्चालित कार्यक्रम दुरुपयोग र दोहोरोपन आएको थियो ।
परिचयपत्र पाउने गरिबलाई आयमूलक कामको लागि सीप सिकाउनुपर्ने, शिक्षा र स्वास्थ्यको ग्यारेन्टी गर्नुपर्ने, खाद्य सुरक्षा सुनिश्चित गर्नुपर्ने दायित्व छ । १८ वटा सूचकको आधारमा गरिब पहिचान गरिएको हो । गरिबी अन्त्य गर्न सरकारले २०५९ सालमा गरिब घरपरिवार पहिचान र परिचयपत्र वितरण समन्वय बोर्ड गठन गरेर गरिबको पहिचान सुरु गरेको थियो ।







