‘देशलाई समस्या पैसाले हैन, कमजोर व्यवस्थापनले बनायो’
हेटौंडा- नेपाली कांग्रेस केन्द्रीय सदस्य तथा प्रतिनिधिसभा सदस्य डा. आरजु राणा देउवाले देशलाई कमजोर पैसाले नभई कमजोर व्यवस्थापनले बनाएको दाबी गरेकी छन् ।मुलुक निर्माणमा आर्थिक अवस्था कमजोर नरहेको टिप्पणी गर्दै नेतृ राणाले कमजोर व्यवस्थापनलाई दोष देखेकी हुन् । देश आर्थिक संकटतर्फ गइरहेको विश्लेषण भइरहेको अवस्थामा राणाले देशमा पैसाको कमी नभएको तर त्यसलाई म्यानेजमेन्ट (व्यवस्थापन) गर्न नसकिएको उल्लेख गरेकी हुन् ।
हेटौंडामा बिहीवार प्रदेश नीति तथा योजना आयोगको आयोजनामा भएको महिला सशक्तिकरणका लागि प्रदेश सरकारको भूमिका विषयक अन्तक्र्रियालाई सम्बोधन गर्दै प्रभावशाली नेतृ राणाले व्यवस्थापकीय पाटोलाई बलियो र व्यवस्थित बनाउन सके मुलुकले चाँडै फड्को मार्ने दाबी गरेकी हुन् । ‘मलाई लाग्दैन कि हाम्रो देशमा पैसाको कमी छ । हाम्रो देशमा म्यानेजमेन्टकै कमी हो । हरेक साल बजेटहरु खर्चै हुँदैन । खर्च नभइ जान्छ’ राणाले भनिन् ।
उनले देशमा आर्थिक पक्षले कुनैपनि समस्या नभएको जिकिर गरिन् । ‘नेपालमा जतिपनि समस्या उत्पन्न हुन्छ सबै व्यवस्थापनका कारण हुने गरेको छ ।’ राणाको दाबी छ । कांग्रेस सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा पत्नी राणाले महिला सशक्तिकरणमा धेरै उपलब्धि हासिल भएता पनि पूर्णता भने नपाएको बताइन् । नीति नियमहरु कार्यान्वयन नहुँदा महिलाहरु पछि परेको उनको भनाइ थियो ।
एकल महिलासहितको महिलाका सुरक्षा, स्वास्थ्य, शिक्षा र रोजगारका विषयमा संघर्ष गर्दै यहाँसम्म आइपुग्दा केही उपलब्धि हासिलमा सफलता मिलेको उनले बताइन् । सुदूरपश्चिम प्रदेशको महाकाली किनारमा होम ग्रोन परियोजनाअन्र्तगत् समूह–समूहमा ऐन कानुन, नीति, योजनालगायतका विभिन्न जानकारी दिँदै महिला सशक्तिकरणमा फड्को मारेको उदाहरण प्रस्तुत गर्दै नेतृ राणाले बागमती प्रदेशमा पनि उक्त परियोजना कार्यान्वयन गर्न सरकारलाई सुझाव दिएकी छन् ।
उनले महिला सशक्तिकरण अब आर्थिक हैसियत उकासेरमात्रै सम्भव हुनेमा जोड दिएकी छन् । ‘महिलाहरु अघि बढ्न आर्थिक हैसियत माथि उठ्नुपर्छ । महिलाहरुलाई आयआर्जनमा जोडेर आर्थिकरुपमा सबल बनाउन सक्नुपर्छ’, राणाले भनिन् । नेपाल कृषि प्रधान देश भएकाले सीप र उत्पादनसँग जोडिएर महिलालाई अघि बढाउनुपर्नेमा जोड दिएकी छन् ।
प्रदेश सरकारले अब युवा लक्षित कार्यक्रमअन्र्तगत् बालिका, किशोरी र महिलालक्षित कार्यक्रम बनाउनुपर्ने बताइन् । सरकारले बनाएका योजनालाई चरणबद्धरुपमा कार्यान्वयन गर्न सकेमा सफलता पाइने बताएकी छन् । राणाले सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाएर व्यवस्थितरुपमा सञ्चालन गर्न सबै पक्षलाई आग्रह गरिन् ।
नेतृ राणाले नेपालमा महिलामैत्री वातावरण पनि नभएको गुनासो गरिन् । ‘महिलामैत्री वातावरण कतै छैन । चाहे त्यो राजनीतिमा होस्, चाहे त्यो सामाजिक क्षेत्रमा होस् जहाँ पनि । यो भन्दैमा महिलाहरु डराएर आफूलाई लुकाएर राख्ने होइन’, उनले भनेकी छन् । नेपाली कांग्रेस केन्द्रीय सहमहामन्त्री तथा पूर्व जलश्रोत, उर्जा राज्यमन्त्री महालक्ष्मी उपाध्याय डीनाले महिला सशक्तिकरणका लागि तीनै तहका सरकार एकजुट हुनुपर्ने बताइन् ।
महिलाहरुको संस्थागत विकासमा प्रगति हुन नसकेको बताउँदै डीनाले बजेट तर्जुमा गर्दा महिलाहरुको सबाललाई प्राथमिकता दिनुपर्ने बताएकी हुन् । महिलासँग सम्बन्धित कानुन बनेपनि कानुन घरसम्म पुग्न नसकेको उनको टिप्पणी थियो । उनले पछाडि परेका महिलाहरुको सहभागितामा जोड दिनुपर्ने बताइन् ।
अन्तक्रिया कार्यक्रममा सरोकारवालाहरुले महिला सशक्तिकरणको विषय उठाएका थिए । सरोकारवालाहरुले प्रदेश सरकारलाई महिला सशक्तिकारणका लागि आगामी आर्थिक वर्ष २०८०÷८० मा बजेट निर्माण गर्दा प्राथमिकता दिनुपर्ने बताएका छन् । कार्यक्रममा सहभागीहरुले प्रदेशमा अझै पनि बालविवाह, बालश्रमसँगै महिला हिंसाकासमस्याहरुको रहेको भन्दै प्रदेश र सम्बन्धित निकायको ध्यानाकषर्ण गराएका थिए । प्रदेश सांसद् मधुकुमार श्रेष्ठले महिलाहरुलाई घरमै राख्ने काम भइरहेको भन्दै घरबाट सामाजिक क्षेत्रमा सक्रिय बनाउनुपर्ने बताए । उनले महिलालाई अबसर दिनुपर्ने बताए ।
अर्का सांसद् प्रभात तामाङले २०७४ सालदेखि प्रदेशले महिला सशक्तिकरणको नाममा छुट्याएको बजेटले प्रतिफल दिन नसकेको आरोप लगाए । उनले महिलालाई नेतृत्वमा आउन निर्णायक भूमिकामा अवसर नदिइएको बताए ।हेटौंडा उपमहानगरका महिला तथा बालबालिका विकास महाशाखा प्रमुख विष्णुकुमारी लामिछानेले छोरीहरुको सुरक्षा अपरिहार्य देखिएको भन्दै शिक्षामा जोड दिन आग्रह गरिन् ।
छोरीहरु परिवारमै असुरक्षित रहेको लामिछानेले बताइन् । महिला अधिकारकर्मी कुमारी वाइवाले महिलाको सवाललाई महत्वका साथ सरकारले नलिएको उल्लेख गरिन् । महिलालाई पूर्णरुपमा आयआर्जनसँग नजोडे सशक्तिकरणले पूणर्ता नपाउने वाइबाले बताइन् । बागमती प्रदेश सरकार प्रमुख सचिव मुकुन्दप्रसाद निरौलाले प्रदेश सरकारले महिला सशक्तिरणको क्षेत्रमा बिनियोजित बजेट, कार्यान्वयनको अवस्था र प्रगतिको बारेमा जानकारी गराएका थिए ।







