पत्रकार विडारीलाई राष्ट्रिय सम्मान
हेटौंडा- मकवानपुरे सञ्चारकर्मी सुवास विडारीले राष्ट्रिय खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान–२०७९ प्राप्त गर्ने भएका छन् ।युवा तथा खेलकुद मन्त्रालयले शुक्रबार खेलकुद पत्रकारिता पुरस्कार तथा सम्मान कार्यविधि २०७६ अनुसार देशभरका दशजना सञ्चारकर्मीलाई नगदसहित सम्मान गर्ने जनाएको छ । १४ वर्षदेखि खेलकुदलाई मुख्य विधा बनाएर कलम चलाइरहेका विडारीले खेलकुद पत्रकारिता पुरस्कारअन्तर्गत् वाग्मती प्रदेशतर्फ २५ हजार रुपैयाँसहित सम्मान प्राप्त गर्ने भएका हुन् ।
कान्तिपुर दैनिकका मकवानपुर संवाददाता विडारी खेलकुद पत्रकार मञ्च मकवानपुर उपाध्यक्ष हुन् । हेटौंडाबाट प्रकाशित साझाकुरा राष्ट्रिय दैनिकका पूर्वसम्पादक उनी हाल हेटौंडालाई कार्यक्षेत्र बनाएर सञ्चालन भइरहेको हेडम्बा न्यूजका सम्पादक छन् ।







