राक्सिराङमा अंग्रेजी माध्यमबाट पढाई सुरु

साझाकुरा
२०८० बैशाख ३०, शनिबार ११:४५

हेटौंडा-जिल्लाको विकट राक्सिराङ गाउँपालिका–३ स्थित सरिखेतपलासेमा रहेको सामुदायिक विद्यालयमा अंग्रेजी माध्यमबाट पढाई सुरु गरिएको छ ।पलासेमा रहेको सूर्योदय माध्यमिक विद्यालयमा कक्षा नर्सरीदेखि कक्षा ३ सम्म अंग्रेजी माध्यमबाट पढाई सुरु भएको हो । शुक्रबार एक कार्यक्रमकाबीच बागमती प्रदेशसभा सदस्य ईन्द्रबहादुर बानियाँको उपस्थितिमा अंग्रेजी माध्यमको पढाई सुरुवात गरिएको गाउँपालिका अध्यक्ष राजकुमार मल्ले जानकारी दिए ।

अंग्रेजी माध्यमबाट पढाईको उद्घाटन गर्दै बानियाँले गणतन्त्र, समावेशिता र संघीयताले शिक्षाको विकासमा ठूलो योगदान पुगेको बताए । शिक्षाले गाउँगाउँमा धेरै फड्को मारिरहेको भन्दै उनले अवस्था र व्यवस्था चुस्तदुरुस्त बनाउन तथा विकासनिर्माणमा फड्को मार्न समेत शिक्षा अपरिहार्य रहेको बताए ।शिक्षामा सुधार तथा विद्यालयको भवन निर्माण तथा शैक्षिक सामग्रीका लागि प्रदेश सरकारबाट सहयोग गर्ने प्रतिवद्धतासमेत जनाए ।

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष ओमराज घलानको सभाध्यक्षतामा भएको कार्यक्रममा गाउँपालिका अध्यक्ष राजकुमार मल्ल, नेपाली कांग्रेस मकवानपुरका सभापति बुद्ध लामा, ३ नम्बर वडाध्यक्ष उत्तम वाईबा, जनप्रिय प्राविका प्रअ बलराम शाह ठकुरी, विद्यालयका प्रधानाध्यापक सीताराम सुवेदीलगायतले मन्तव्य व्यक्त गरेका थिए । ६ सय जना विद्यार्थी रहेको सूर्योदय माविमा ९ र १० कक्षामा बालीविज्ञान अध्ययन हुने गर्दछ । हाल ८० जनाले बाली विज्ञान अध्ययन गरिरहेको विद्यालयले जनाएको छ ।

यसमा तपाइको मत

Your email address will not be published.


*