हेटौंडा जेसीजको सप्ताहव्यापी कार्यक्रम सार्वजनिक
हेटौंडा- सामाजिक परोपकारको क्षेत्रमा क्रियाशील हेटौंडा जेसीजले जेसीज सप्ताह–२०२३ का कार्यक्रमहरु सार्वजनिक गरेको छ ।कार्यक्रम शनिबारबाट सुरु हुने पत्रकार सम्मेलन गर्दै जानकारी दिइएको छ । जेसीज सप्ताह २०२३ को लागि मूल कार्यक्रम संयोजक जेसीजका कार्यकारिणी उपाध्यक्ष अमृत बर्तौलाले जेसीज सप्ताहमा हुने विभिन्न कार्यक्रमबारे जानकारी गराएका छन् ।
हेटौंडा जेसीजका वर्ष २०२३ का अध्यक्ष श्रावणकुमार बर्तौलाको सभाध्यक्षतामा भएको कार्यक्रममा कार्यकारिणी उपाध्यक्ष बर्तौलाले आज शनिवार पिप्लेदेखि मनकामना मन्दिरसम्म मनकामना अपहिल साइक्लिङ प्रतियोगिता हुने जानकारी दिए । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १५ हजार, १० हजार र ५ हजार नगदसहित पुरस्कार पाउने छन् ।
दोस्रो दिन हुप्रचौरमा बृहत रक्तदान कार्यक्रम गरिने र तेस्रो दिन जेसीज सचिवालयमा अन्तर जेसीज वक्तृत्वकला प्रतियोगिता गरिने बर्तौलाले बताए । जेसीज सप्ताहअन्तर्गत चौथो दिन मकवानपुर बहुमुखी क्याम्पसमा अम्बिकादेवी कार्की स्मृति हाजिरीजवाफ प्रतियोगिता हुने भएको छ ।प्लस टु र स्नातक अध्ययनरत विद्यार्थीको सहभागितामा हुने प्रतियोगिताको प्रथम द्वितीय र तृतीयले क्रमशः ९ हजार, ६ हजार र ३ हजार प्राप्त गर्ने जनाइएको छ ।
पाचौं दिन बिहान मेनरोडमा स्लो मोटरबाइक प्रतियोगिता गरिने र छैटौं दिन हेटौंडा–१५, चिप्लेटीमा शैक्षिक सामग्री वितरण कार्यक्रम रहेको बर्तौलाले बताए । ५ जेठमा जेसीज सप्ताह समापन तथा पुरस्कार वितरण कार्यक्रम रहने बर्तौलाले जनाए ।







