आजदेखि वृत्त मार्गनिर्देशन तथा रोजगार मेला
हेटौंडा- हेटौंडामा पहिलो पटक वृत्त मार्गनिर्देशन (क्यारियर काउन्सिलिङ) र रोजगार मेला आयोजना हुँदैछ ।रोजगारीको अबसरको खोजीमा रहेका र आफ्नो वृत्त विकासको मार्ग पहिचान गर्न चाहने युवायुवतीको लागि आज आइतबारबाट मेला सुरू हुन लागेको हेटौंडा उपमहानगरपालिकाले जानकारी दिएको छ । बागमती प्रदेश सरकारको सामाजिक विकास मन्त्रालय र हेटौंडा उपमहा नगरपालिकाको संयुक्त आयोजनामा हुने मेलालाई हेल्भेटास नेपालले प्राविधिक सहयोग गरेको छ ।
रोजगारीका लागि आवश्यक दक्षता भएका र हाल बेरोजगार रहेका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै जागिर दिइने, नेपालमा उपलब्ध हुनसक्ने विभिन्न रोजगारीका अबसर बारे जानकारी दिइने, विद्यार्थी तथा बेरोजगार युवालाई वृत्ति परामर्श सेवा प्रदान गरिने र प्राविधिक शिक्षा तथा सीपमुलक तालिम र अबसरको जानकारी दिइने बताइएको छ । मेलाबाट करिब २ हजार जना युवाले वृति परामर्श सेवा लिने अपेक्षा गरिएको छ । ५० देखि १०० जनाले रोजगारी प्राप्त गर्ने जनाइएको छ । सीपमुलक तालिम र अबसर बारे जानकारी लिने मुख्य स्थल मेला रहने जनाईएको छ ।
मेलाको संयोजन उपमहा– नगरपालिकाको शिक्षा विकास महाशाखाले समन्वय गरिरहेको छ । मेलालाई मकवानपुरमा क्रियाशील विभिन्न गैरसरकारी निकायहरूको सहकार्य रहेको छ । मेलाले रोजगार खोज्ने र रोजगार दिनेहरूको बीचमा एकैस्थानमा ल्याई उनीहरूबीच पुलको काम गर्ने विश्वास लिएको उपमहानगरका प्रवक्ता तथा १ नम्बर वडा अध्यक्ष सविन न्यौपानेले जानकारी दिए । मेलामा विद्यार्थी, युवाहरूले आ–आफ्नो रुचि र खुबी अनुसारको वृति विकास प्रयोजनार्थ सीप सिक्न, जागिर खोज्न र रोज्न सहयोग पु¥याउने न्यौपानले बताए ।
वैदेशिक रोजगारीमा जान विद्यार्थीहरूको लर्काे लागेपछि स्वदेशमै रोजगारीको अबसर बारे जानकारी दिन मेला आयोजना गर्न लागिएको उपमहानगरपालिकाको शिक्षा विकास महाशाखाले जानकारी दिएको छ । मेला ३१ वैशाखदेखि १ जेठसम्म हेटौंडास्थित रोयल पार्टी प्यालेसमा सञ्चालन हुने उपमहानगरका प्रवक्ता न्यौपानले जानकारी दिए । मेलामा उद्योग, कलकारखाना, व्यावसायिक स्टलहरू २७ वटा, उपमहागरपालिकाको ४ वटा, मन्त्रालयको ३ वटा र प्राविधिक विद्यालयबाट ९ वटा स्टल रहनेछन् ।
मेलामा वृत्त मार्गनिर्देशन र रोजगार सम्बन्धी दुई वटा सेसन रहने शिक्षा विकास महाशाखाकी अधिकृत सुनिता महर्जनले बताइन् । वृत्त मार्गनिर्देशनमा विद्यार्थी र रोजगारतर्फ युवाहरूलाई सहभागी गराइने महर्जनले बताइन् ।







