हेटौंडामा रोजगार मेला सुरु
हेटौंडा- हेटौंडामा आइतबारबाट ‘वृत्ति मार्ग–निर्देशन तथा रोजगार मेला २०८०’ सुरु भएको छ । वैदेशिक रोजगारीमा नेपाली युवाहरुको बढ्दो आक्रर्षणलाई घटाउने र स्वदेशमै रोजगारीका प्रयाप्त आधारहरु रहेको तथ्य देखाउन मेला गरिएको जनाइएको छ ।समाजिक विकास मन्त्रालय र हेटौंडा उपमहानगरपालिकाको सहकार्यमा भएको मेलाकोे उद्घाटन गर्दै बागमती प्रदेशका सामाजिक विकासमन्त्री कुमारी मोक्तानले स्वदेशमै रोजगारीका प्रयाप्त अवसरहरु रहेको बताइन् । उनले सम्भावनाको पहिचान गर्न नसक्दा र साथीभाइको लहलहैमा वैदेशिक रोजगारीका लागि बाह्य मुलुकतर्फ युवाहरुको ध्यान गएको प्रति चिन्ता व्यक्त गरिन् ।
‘यहाँ प्रयाप्त अवसर छन्, हामीले पहिचान गर्न सकेका छैनौं, त्यसलाई पहिचान गर्न सके नेपालमै जीविकोपार्जनका लागि समस्या छैन,’ उनले भनिन् । नेपालमै केही गरौं भन्ने युवाहरुका लागि सरकारले रोजगारमुलक कार्यक्रमहरु ल्याएको मेक्तानले बताइन् ।अहिले बागमती सरकारले युवालक्षित कार्यक्रमलाई प्राथमिकताका साथ कार्यान्वयनमा ल्याएको उनले बताइन् ।
मन्त्री मोक्तानले अवसरको पहिचान गरौं सरकार लगानी गर्न तयार रहेको बताइन् । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका नगरप्रमुख मीनाकुमारी लामाले रोजगारीको अवसर श्रृजनाका लागि उत्पादनको क्षेत्रमा लाग्न आवश्यक रहेका बताइन् । उनले नेपालमा सम्भाना नभएको भनेर बाह्य मुलुक मात्र विकल्प खोज्ने भन्दा पनि स्वदेशमै सम्भावनाको खोजी गर्न जरुरी रहेको बताइन् ।
उनले उपमहानगरपालिका युवा तथा महिलासँग जोडिएर रोजगारीको अवसर श्रृजना गर्ने तयारीमा रहेको जानकारी दिइन् ।कार्यक्रममा मन्त्रालयका सचिव रामकृष्ण पुडासैनीले रोजगारीको सम्भावना नेपाली बजारमै रहेको भन्ने जानकारी युवाहरुमा दिनका लागि मेलाको आयोजना गरिएको बताए । उनले देश र बजारका लागि आवश्यक जनशक्तिको पहिचानका लागि यस्तो कार्यक्रम फलदायी रहने बताए ।
उपमहानगरका नगरप्रमुख लामाको अध्यक्षतामा भएको कार्यक्रममा प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाई, उद्योग वाणिज्य संघ मकवानपुरका उपाध्यक्ष उज्जवल चौंलागाई, उद्योग संघ मकवानपुरका अध्यक्ष स्वागतराज प्याकुरेलले मेलाको औचित्य र अहिलेको श्रम बजारका बारेमा मन्तव्य व्यक्त गरेका थिए ।जेठ १ गतेसम्म संचालन हुने बिहान ९ बजेदेखि अपरान्ह ५ बजेसम्म हेटौंडाको रोयल पाटी प्यालेसमा हुनेछ ।
स्थानीय जनशक्तिलाई सोही स्थानमा रोजगारी उपलब्ध गराउने उद्देश्यले सञ्चालन भएको मेलामा विभिन्न उद्योग व्यवसायबाट २७, उपमहानगरपालिकाबाट ४, मन्त्रालयबाट ३, प्राविधिक शिक्षालयहरुबाट ९ वटा गरी जम्मा ४३ वटा स्टल रहेका छन् । मेलाबाट रोजगारीका लागि आवश्यक दक्षता भएका र हाल बेरोजगार रहेका व्यक्तिलाई रोजगारदाताबाट मेलामा नै जागिर दिइने, नेपालमा उपलब्ध हुनसक्ने विभिन्न रोजगारीका अबसरबारे जानकारी दिइने, विद्यार्थी तथा बेरोजगार युवालाई वृत्ति परामर्श सेवा प्रदान गरिने र प्राविधिक शिक्षा तथा सीपमुलक तालिम र अबसरको जानकारी दिइने बताइएको छ । मेलाबाट करिब २ हजार जना युवाले वृति परामर्श सेवा लिने र ५० देखि १०० जनाले रोजगारी प्राप्त गर्ने जनाइएको छ ।







