वतृत्वकलामा न्यौपाने उत्कृष्ट

साझाकुरा
२०८० जेष्ठ २, मंगलवार १०:२१

हेटौंडा-अन्तरजेसीज वतृत्वकला प्रतियोगितामा विवेकआनन्द न्यौपाने उत्कृष्ट ठहरिँदै प्रथम स्थान हासिल गरेका छन् । हेटौंडा जेसीजको आयोजनामा भएको सप्ताहव्यापी कार्यक्रमअन्तर्गत सोमबार अन्तरजेसीज वतृत्वकला प्रतियोगिता गरिएको थियो । प्रतियोगितामा सुदिन पौडेल द्वितीय र छोइसाङ् लामा तृतीय भएका छन् । प्रतियोगितामा प्रथम, द्वितीय र तृतीय हुनेले क्रमशः १ हजार ५ सय, १ हजार र ५ सय रुपैयाँसहित प्रमाणपत्र र मेडल जितेको जेसीज वर्ष २०२३ का अध्यक्ष श्रवणकुमार बर्तौलाले जानकारी दिए ।

प्रथम हुनेलाई जेसीज नवीकरण शुल्क ३ हजार रुपैयाँसमेत छुट हुने वतृत्वकला प्रतियोगितामा संयोजक सञ्जयकुमार न्यौपानेले बताए । प्रतियोगितामा सहभागी १० जनाले सकारात्मक दृष्टिकोणको लागि युवा नेतृत्व भन्ने विषयमा आ–आफ्नो धारणा राखेका थिए ।

सप्ताहव्यापी कार्यक्रमअन्तर्गत वतृत्वकला प्रतियोगिता आयोजना गरिएकोमा यसखाले कार्यक्रमले युवाहरुको नेतृत्व र व्यक्तित्व विकासमा टेवा पुग्ने जेसीज अध्यक्ष बर्तौलाले बताए । जेसीज वर्ष २००१ का अध्यक्ष धर्मकृष्ण श्रेष्ठको प्रमुख आतिथ्यता भएको कार्यक्रममा जेसीजका पूर्वअध्यक्ष कविन सांगामी, अञ्जनीकुमार पराजुली र कुशकुमार रिजालले निर्णायकको भूमिका निर्वाह गरेका थिए । सप्ताहव्यापी कार्यक्रमअन्तर्गत् जेठ २ गते मकवानपुर बहुमुखी क्याम्पसमा सामान्यज्ञान प्रतियोगिता, जेठ ३ गते मुख्य बजार क्षेत्रमा ‘स्लो बाइक’ प्रतियोगिता हुने जेसीजले जनाएको छ ।

जेठ ४ गते हेटौंडा– १५ चिप्लेटीस्थित सामुदायिक विद्यालयमा शैक्षिक सामग्री हस्तान्तरण गर्ने कार्यक्रम रहेको छ । जेठ ५ गते समापन समारोह आयोजना गरी विभिन्न प्रतियोगितामा विजयी भएकालाई पुरस्कृत गर्ने कार्यक्रम रहेको जेसीजले जनाएको छ । आइतवार रक्तदान कार्यक्रमको आयोजना गरिएको थियो । हुप्रचौरमा भएको रक्तदान कार्यक्रममा २९ जनाले रगत दान गरेका थिए ।

यसमा तपाइको मत

Your email address will not be published.


*