टिपर आतड्ढ कायमै, नियमनकारी निकाय मुकदर्शक

साझाकुरा
२०८० जेष्ठ ४, बिहीबार १०:३०

हेटौंडा- मकवानपुर जिल्लामा खानी क्षेत्रमा सञ्चालन हुने टिपरको तीव्रगति र ओभरलोडले आमजनतामा आतड्ढ नै फैलिएको भन्दै राजनीतिक दलका भातृ संगठनदेखि नागरिक समाज सडकमा उत्रने तयारी गरेका छन् ।जिल्लास्थित सिमेन्ट उद्योगमा चुनढुंगा उत्खनन् क्षेत्र (खानी) बाट आवतजावत गर्ने टिपरले गाउँदेखि नगर क्षेत्र नै आतड्ढित बनाएको भन्दै पटक–पटक आवाज उठ्ने गरेको छ । तर, ‘हात्तीका अगाडि भुसुना’ भन्ने नेपाली उखान झैं शक्तिको आडमा व्यवसायीले ट्राफिक नियम उल्लंघन गरिरहँदा आतड्ढ हट्नुको साटो झन् बढेको छ ।

टिपरले ढालाभन्दा एक हातमाथि ढुंगा बोकेर तीव्रगतिमा कुदिरहेका छन् । जसको कारण ढुंगा खसेर लाग्ने डरले विशेष गरी हेटौंडा बजारको मुख्य सडक क्षेत्र नै आतड्ढित बनेको हो । तर, ओभरलोड बोकेर सडकभरि खानीजन्य ढुंगा, गिट्टी र बालुवा छरेर टिपर कुदिरहँदा पनि ट्राफिक प्रहरी रमिते बनिरहेका छन् ।जिल्लाको शान्ति सुरक्षाको जिम्मा लिएका प्रमुख जिल्ला अधिकारीको आदेशसमेत प्रहरीले कार्यान्वयन नगरेको गुनासो सरकारी अधिकारी नै गरिरहेका छन् । टिपरले ओभरलोड चुनढुंगा बोकेर हिँडेको गुनासो धेरै आएपछि केही महिनाअघि जिल्ला प्रशासन कार्यालय मकवानपुरले जिल्ला प्रहरी कार्यालयलाई पत्राचार गरेको थियो । हेटौंडा १ नम्बर वडा कार्यालयले पनि सो सम्बन्धमा ध्यानाकर्षण बुझाएको थियो । तर, उक्त पत्राचारप्रति नियमन गर्नेतर्फ प्रहरी गम्भीर नभएको हाल भइरहेको टिपरका आतड्ढले पुष्टि गर्दछ ।

‘नेपालको कानून दैवले जानून्’ भन्ने उखान यही प्रस·मा पुनः मिल्न गएको छ । कानुन कार्यान्वयनमा समय सीमा निर्धारण हुँदैन । तर, मकवानपुरमा भने आवाज उठेपछि कानुन कार्यान्वयन भएको जस्तो देखिने र आवाज मत्थर हुन थालेपछि कानुनले कामै गर्न छोड्ने समस्या रहेको हेटौंडा–१ चौकीटोलका डिल्लीबहादुर थापा बताउँछन् ।हेटौंडाको मुख्य सडकमा मंगलबार एउटा ६ चक्के टिपरको तीव्रगति देखेर स्थानीयबासी नै द· परे ।

टिपरको तीव्रगतिका कारण दायाँबायाँ गुड्ने साना सवारीहरु नै साइड लागेर भागेको देख्दा स्थानीयले जिब्रो नै टोकेर भयभित भएका थिए । सर्वसाधारणमात्र नभई बुधबार मकवानपुरका सहायक प्रमुख जिल्ला अधिकारी नेत्रप्रसाद शर्माले शिवम् सिमेन्टको बुढीचौर खानीबाट चुनढुंगा बोकेर आउँदै गरेको टिपर देखेर आफ्नो सात्तो गएको घटना सुनाए । बकैयास्थित निर्माणाधीन सुरुङमार्गको अनुगमनमा जाने क्रममा तीव्रगतिमा आएको उक्त टिपरले झण्डै आफ्नो गाडीलाई ठक्कर दिएको सुनाए । साझाकुरा दैनिकले टिपर आतड्ढ नियन्त्रण हुन नसकेको विषयमा जवाफ माग्न कुरा गर्ने क्रममा नियमनकारी निकायका प्रमुख नै टिपर देखेर आत्तिनुपर्ने दिन आएपछि सर्वसाधारणले हात जोडेर बस्नुको विकल्प नभएको अनुभूति हुन्छ ।

‘म बकैया जाँदै थिएँ । मकवानपुरगढीमा ओभरलोड ढुंगा बोकेको टिपर देखेको थिएँ । त्यो ढुंगा झरेको अवस्थामा जुनसुकै घटना हुनसक्ने देखिन्थ्यो । मेरो पनि सात्तो गयो’, शर्माले टेलिफोनमा भने । सहायक सीडीओ शर्माले प्रहरीलाई नियमन गर्न पत्राचार गरेको जानकारी दिए । तर, टिपर आतड्ढ केही समयअघि नियन्त्रणमा आएको र पुनः समस्या देखिएकोले कानुनी कारबाही गरिने बताए । जिल्ला प्रशासन कार्यालयले नै टिपर आतड्ढ नियन्त्रण गर्न नसकेपछि कुन अदृश्य शक्तिले आतड्ढ रोक्न नखोजेको भन्दै दलका भातृ संगठनहरु सडकमै उत्रिन थालेका छन् । नेकपा माओवादी केन्द्र मकवानपुरको युवा संगठन योङ कम्युनिष्ट लिग (वाईसीएल)ले बुधबार सडकमै बसेर टिपर नियन्त्रणमा लिएको वाईसीएल जिल्ला अध्यक्ष लवराज ठकुरीले जानकारी दिए । ओभरलोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएर प्रहरीलाई बुझाइएको ठकुरी बताउँछन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरका प्रमुख प्रहरी निरीक्षक वसन्त आचार्यले ओभरलोड बोक्ने टिपरलाई नियन्त्रणमा लिएर कारबाही भइरहेको बताए । उनले प्रहरीको आँखा छलेर हिँड्ने टिपर नियन्त्रणमा पनि चासो दिइरहेको बताए । पछिल्लो समय ओभरलोड बोकेको टिपरले आतड्ढ मच्चाएको भन्दै हेटौंडा उपमहानगरपालिकाको १ नम्बर वडा कार्यालयले प्रहरी प्रशासनसमक्ष पत्राचार पनि गरेको तर, प्रहरीले टिपर नियन्त्रण गर्न छोडेर मुकदर्शक मात्रै बनेको वडाअध्यक्ष सविन न्यौपानेले जानकारी दिए । अध्यक्ष न्यौपानेले सवारीको क्षमता अनुसारको लोड बोकेर बाटोको अवस्था हेरेर ठीक गतिमा नहिँडी यस्तै अटेर गरिरहे अब जनताको जीउज्यानको सुरक्षाको लागि सडकमा हेभी टिपर गुडाउन रोक्ने चेतावनी दिए ।

हेटौंडा नगरक्षेत्रका तीनवटा सिमेन्ट उद्योगका कच्चापदार्थ आपूर्ति गर्ने क्रममा टिपरले क्षमता भन्दा बढी लोड बोकेर नगरको मुख्य सडक र यात्रुलाई जोखिममा पारिरहेका छन् । तीव्र गतिका टिपर आउने बित्तिकै मोटरसाइकल, साइकल, अटो, मयुरी जस्ता साना सवारीसाधन कालोपत्रे सडक छोडेर भाग्नुपर्ने अवस्था छ ।टिपरले ढालाभन्दा माथि चुली लगाएर चुनढुंगा ल्याएपछि सडक सुरक्षामै खतरा निम्तिएको हो । नेपालको सडकहरु १० मेट्रिक टन भारवहन गर्ने सवारीका लागि निर्माण गरिएको भएपनि ५० टनभन्दा बढी चुनढुंगा बोक्ने टिपरहरु निर्बाध चलिरहेका छन् । तर, प्रहरी प्रशासनको यसतर्फ कुनै ध्यान गएको छैन ।

नयाँ किन्दाको अवस्थाको टिपरको ढाला बराबरमात्रै चुनढुंगा बोक्न पाउने मापदण्ड भएपनि हाल ढाला थपेर त्यसमाथि पनि चुली लगाएर ढुंगा ओसारपसार गरिरहेका छन् । शक्तिको आढमा विभिन्न निर्माण कम्पनीले प्रहरीलाई समेत प्रलोभनमा पारेर चुनढुंगा ढुवानी गरिरहेको नागरिक समाजको आरोप छ ।टिपरहरुको अटेरीपनाका कारण ट्राफिक प्रहरी नै हैरान छन् । हेटौंडास्थित ऋद्धिसिद्धि सिमेन्ट उद्योगले राक्सिराङ गाउँपालिका र शिवम् सिमेन्टले मकवानपुरगढी गाउँपालिकाको ७ र ८ नम्बर वडामा रहेका खानीबाट चुनढुंगा उत्खनन् गरिरहेका छन् । उत्खनन् गरिएका चुनढुंगा टिपरले ढालाभन्दा माथि चुली बनाएर कानुनविपरित ओसारपसार गरिरहेका हुन् ।

दुबै सिमेन्ट उद्योगका लागि चुनढुंगा उत्खनन् र ढुवानीको जिम्मा लिएका मोडर्न इन्फ्रास्ट्रक्चर प्रालि, मोतिदान कन्स्ट्रक्सन प्रालि, बानियाँ निर्माण सेवा प्रालि र बागमती विन्द्यबासिनी कन्स्ट्रक्सन प्रालिले मकवानपुरका प्रमुख जिल्ला अधिकारी राजेन्द्रदेव पाण्डेलाई केही समयअघि शान्ति सुरक्षा र व्यवसाय गर्ने वातावरण बनाइदिन निवेदनसमेत दिएका थिए । प्रजिअ पाण्डेलाई बुझाएको पत्रमा कम्पनीहरुले ओभरलोड बोक्ने टिपरलाई कारबाही गर्न आवाज उठाउनेलाई स्वार्थ समूहको आरोप लगाउँदै शान्ति सुरक्षासहित व्यवसाय गरी खान पाउनुपर्ने माग गरेका छन् ।

यसमा तपाइको मत

Your email address will not be published.


*