मनहरी–१ को वडा कार्यालय पक्की भवनमा
हेटौडा-जिल्लाको पश्चिमी क्षेत्रस्थित मनहरी गाउँपालिका–१ नम्बर वडा कार्यालयले पक्की भवनबाट सेवा दिन सुरु गरेको छ । कार्यालयको व्यवस्थित भवन नहुँदा सेवा प्रवाहमा समस्या झेलिरहेको वडा कार्यालयको आफ्नै ९ कोठे भवन तयार भएपछि सेवा प्रवाहमा सहजता हुने विश्वास लिएको छ । पर्ता मकरीमा ठेक्कामार्फत ९१ लाख १७ हजार रुपैयाँमा निर्माण भएको पक्की भवनको बागमती प्रदेशसभा सदस्य एवम् नेपाली कांग्रेसका प्रदेश सभापति इन्द्रबहादुर बानियाँले बुधवार एक कार्यक्रमका बीच उद्घाटन गरेका हुन् ।
वडा कार्यालयको आफ्नै प्रशासनिक भवन निर्माण हुँदा वडाका काम कारबाही सम्पादन गर्न सहज एवम् व्यवस्थित हुनेमा बानियाँले विश्वास व्यक्त गरे । भवनको पूर्ण सदुपयोग गर्दै सेवाग्राहीलाई सहज सेवा दिन उनले वडा कार्यालयलाई आग्रह गरे ।बानियाँले मनहरीको पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य, खानेपानी, सिचाईं, कृषि तथा पशुपालनलगायत क्षेत्रको विकासका लागि प्रदेश सरकारबाट विगतमा पनि प्राथमिकताका साथ बजेट बिनियोजन भएको बताउँदै आगामी आर्थिक वर्षमा पनि प्राथमिकता दिइने बताए । कार्यक्रममा मनहरी गाउँपालिकाका अध्यक्ष रन्जन कालाखेतीले गाउँपालिकाबाट भएका कामहरुकोबारे जानकारी राखेका थिए । सांसद बानियाँले मनहरी क्षेत्रको विकासमा पु¥याएको योगदानबारे पनि उनले खुलेर प्रसंशा गरे । वडाध्यक्ष शिव खनालको अध्यक्षतामा कार्यक्रम भएको हो ।







