बृहत उद्यमशिलता प्रदर्शनी
हेटौंडा-हेटौंडामा बृहत उद्यमशीलता प्रदर्शनी तथा अन्तर वडास्तरयी नृत्य प्रतियोगिता सम्पन्न भएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्बर–४ को आयोजना तथा टोल विकास संस्था नगर समन्वय समितिको समन्वय तथा व्यवस्थापनमा बृहत उद्यमशीलता प्रदर्शनी तथा अन्तर वडास्तरीय नृत्य प्रतियोगिता भएको हो । हेटौंडाको रोयल पार्टी प्यालेसमा भएको कार्यक्रममा उद्यमशीलता प्रदर्शनीमा हेटौंडाका महिलाले उत्पादन गरेका १९ वटा स्टलमा सामग्री राखिएको थियो । हेटौंडाका १७ वडाको सहभागिता
रहेको नृत्य प्रतियोगितामा स्थानीय कला र संस्कृतिको सम्बद्र्धन गर्ने गरी अत्यन्तै रमाइलो ढंगले प्रतिभा प्रस्तुत गरेका थिए ।
टोल विकास संस्था नगर समन्वय समितिका अध्यक्ष ध्रुबप्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा नृत्य प्रतियोगिता कार्यक्रमको उद्घाटन बागमती प्रदेशका प्रथम मुख्यमन्त्री डोरमणि पौडेलले गरेका थिए । उद्यमशीलता प्रदर्शनीको बागमती प्रदेशसभाका सदस्य तथा पूर्वश्रम, रोजगार तथा यातायात मन्त्री एकालाल श्रेष्ठले
गरे । कार्यक्रमको समापन तथा पुरस्कार वितरण हेटौंडा उपमहानगरप्रमुख मीनाकुमारी लामाले गरेकी थिइन् ।
कार्यक्रममा प्रथम मुख्यमन्त्री पौडेलले स्थानीय सरकारले सडक निर्माण मात्रै विकास हो भन्ने कुरालाई छोडेर सबै क्षेत्रको काममा जोड दिन आग्रह गरे । विकासका हरेक कामसँगै अतिरिक्त क्षेत्रमा पनि जोड दिन आग्रह गर्दै उद्यमशीलता प्रबद्र्धन कार्यक्रमले स्थानीय उत्पादनको बजारीकरणलाई सहजता हुने बताए ।कार्यक्रममा बागमती प्रदेशसभाका सदस्य श्रेष्ठले उद्यमशीलतासँगै उद्योगी व्यवसायीको प्रबद्र्धनका लागि लाग्नुपर्ने र यस्ता कार्यक्रमले अरुलाई पनि प्रेरणा मिल्ने बताए । हेटौंडा उपमहानगरपालिका नगरप्रमुख लामाले स्थानीयरुपमा उत्पादित वस्तुको प्रबद्र्धनमा यस्ता कार्यक्रमले महत्वपूर्ण भूमिका निर्वाह गर्ने र आगामी दिनमा उपमहानगरपालिकाले उत्पादित वस्तुको बिक्री र बजारीकरण गर्ने सन्दर्भमा थप कार्यक्रम बजेटमा समावेश गरी अगाडि बढ्ने जानकारी दिइन् ।
कार्यक्रममा हेटौंडा–४ का वडाअध्यक्ष नवीन सिग्देलले आफ्नो वडामा विकास निर्माणका कामसँगै यस्ता महत्वपूर्ण काम गरेर हरेक क्षेत्रको विकासमा जोड दिने बताए । कार्यक्रममा हेटौंडा उपमहानगरपालिकाका उपमेयर राजेश बानियाँ, प्रमुख प्रशासकीय अधिकृत शिबराज चौलागाईं, वडाअध्यक्षहरु, कार्यपालिका सदस्यहरु लगायत मकवानपुर जिल्लामा रहेका विभिन्न संघ संस्थाका प्रमुख एवम प्रतिनिधि उपस्थित थिए ।
उद्यमशीलतातर्फ हेटौंडा–५ प्रथम, हेटौंडा–४ द्वितीय, हेटौंडा–६ तृतीय, हेटौंडा–२ र १९ सान्त्वना भएका थिए । पुरस्कृत वडालाई क्रमशः २५ हजार, १५ हजार, १० हजार र ५÷५ हजार नगद पुरस्कार र प्रमाणपत्र प्रदान गरिएको थियो । नृत्यतर्फ वडा नम्बर १८ प्रथम, वडा नम्बर १० द्वितीय, वडा नम्बर २ तृतीय, वडा नम्बर ११ र ५ क्रमशः सान्वना भएका थिए । पुरस्कृत हुने वडाका टिमलाई क्रमशः नगद पुरस्कार ५० हजार, ३५ हजार, २० हजार र १०÷१० हजार रुपैयाँ प्रदान गरिएको थियो ।
कार्यक्रममा गीतसंगीतको माध्यमबाट सामाजिक रुपान्तरणमा महत्वपूर्ण योगदान गर्ने गायक एवम् संगीतकार आशाकाजी श्रेष्ठलाई नगद २५ हजार र सम्मानपत्र सहित श्रस्टा सम्मान गरीएको थियो । कार्यक्रममा लोक गायक बद्री पंगेनी र नायिका तथा मोडल ऋचा थापालगायत कलाकारको विशेष प्रस्तुती रहेको थियो । कार्यक्रम नगरका विभिन्न टोल विकास संस्था, विभिन्न संघसंस्थाका गरी ५ हजार भन्दा वढीले अवलोकन गरेका थिए ।







